धनचन्द्र राई | साहित्य | बैशाख ०६, २०७७
जीवन एउटा किताब हो
पन्नाहरू खाली भए पनि
कथाहरू अपुरो भए पनि
अध्याय–अध्याय जोडेर पूर्णाङ्क बाँच्नु ।
म असामयिक मृत्युसँग लुकेर
मेरो जस्केलीको बाटो हुँदै
तिम्रो करेसाबारी सम्म आएर
गमलामा एउटा सूचना टाँसेको छु
तिमीले तिम्रो भुईँ झ्याल खोलेर हेर्नु
चम्किरहेको मर्निङ ग्लोरी फुलको मुन्तिर
कालो अक्षरमा एउटा सूचना लेखेको छ
'हिमाल पारीबाट भयङ्कर हुण्डरी आउँदैछ
घरभित्र बस्नु, बाहिर नजानु
छाडा नडुल्नु' ।
समुन्द्रमुनि घाम लुकाएर
कालो बादलबाट चट्याङ खसाल्दै
मडार्दै फूलका बगैचाहरु
निभाउँदै जीवनको दीपहरू
भुमरी खेल्दैछ
जुनकिरीको बस्तीहरूमा ।
छेक्न सक्दैन कुनै पहाडले
रोक्न सक्दैन कुनै विज्ञानले
पहाड झुकेको दिन
विज्ञान हारेको दिन
दुनियाँ दुस्मन हुँदो रहेछ
निश्चल खोलाहरू मलाई नछुनु भन्छ
सेता हिमालहरू मलाई नहेर्नु भन्छ
चिसो बतासहरू झ्यालबाट नपस्नु भन्छ
यति बेला हावा दुस्मन
पानी दुस्मन
चौतारी दुस्मन
सारा दुनियाँ दुस्मन
या यसो भनौँ
तिम्रो लागी म,
मेरो लागी तिमी दुस्मन छौ ।
सेतो बर्दी ओढेर
विश्वयुद्धमा निस्केका छन् भगवानहरु
हामी पूजा कोठामा बसेर
विजयको कामना गरौँ
केहिदिन चिसियोस् चोकको सडकहरू
केहिदिन खाली रहोस् रेस्टुरेन्टका एष्ट्रेहरू
केहिदिन नबजोस् मन्दिरका घण्टीहरू
जब कालो रात छिचोलेर
आकाशमा घाम उदाउँछ
तब टुसाउनेछन् चमेलीका दलहरू
हावामा रमाउनेछन् परेवाका हुलहरू
म अर्को सूचना टाँसौँला
र, तिमी एक हुल लिएर
झ्याम्टा बजाउँदै आऊ
म एक हुल लिएर
ढोल बजाउँदै आउँछु
भानुचौकमा घुमीघुमी
साकेला नाचौँला
साँझ परेपछि
तिम्रो बारदालिमा बसेर
कोदोको रक्सीले मुख जुठो गर्दै
लैला र जम्नुको फिलिम हेरौँला
रोमियो र जुलियटको कथा सुनौँला
अहिले तिमी
घरभित्र बस्नु, बाहिर नजानु
छाडा नडुल्नु
हिमालपारिबाट भयङ्कर हुँण्डरी आउँदै छ ।।
चैत्र २६, २०७६ धरान