जानु काम्बाङ लिम्बू | साहित्य | बैशाख ०६, २०७७
उहिले उहिले
माङले थेगु उभ्याएपछि
उभिएको हो रे हाम्रो पनि मनमा
आस्था र विश्वासको हिमाल !
मलाई मेरो देशको सगरमाथा
र, बाको शिरको टोपी उस्तै लाग्थ्यो
हो, त्यो सगरमाथा टोपी
उभिरहन्थ्यो हमेसा
बाको स्वाभिमानी शिरमा !
सायद
बाको शान थियो टोपी
बाको न्यानो थियो टोपी
बाको स्वाभिमान
र, गर्विलो पहिचान थियो टोपी !
हाम्रा बा र बाको टोपी
हाम्रा निम्ति हिमाल थिए
तर बा ढलेपछि
ढल्यो हाम्रो आस्थाको हिमाल !
बासँगै बाको ढाकाटोपीमा
पोका परेर गए
आमाका अधुरा सपनाहरू पनि
चिरनिद्रामा रहेका बाले ओढेको श्वेत वस्त्रमाथि
छरिए हाम्रा सारा हिम्मत, साहस र आदर्श पनि !
टोपीको चोलुङ्गसँगै
ढल्यो हाम्रो मूल खम्बाको चोलुङ्ग
बाको शिर उठाउने मुन्धुम र चोलुङ्ग
उठाउने मुन्धुमसँगै
पोको पारियो सी (मुन्धुम)
छुट्याइयो बा र हाम्रो हँसको अंशबन्डा
याबोंगहरू (भुटेका धान) छरेर
कहिल्यै नफर्किने बाटो लगाइयो बालाई
चिरेर घुुुङ्ग्रिङ छुुट्याइयो बा र हामीलाई
ठोकेर सिलाम साक्माले छेकियो
बाको बाटो
ताकि उनको आत्मा कहिल्यै फर्कीी नआओस् !
हो, त्यसै दिनदेखि बा फर्की आएनन्
बिलायो मुन्धुमसँगै बाको छाया
तप्किए अनगिन्ती आँसुका थोपा
आमाको आँखाबाट
र, बिलायो बाको न्यानो स्नेह
खोज्दै उनी भित्रभित्रै ...ु !
जल्यो बासँगै बाको टोपी
उड्यो धुँवासँगै माथिमाथि
अस्तायो जिन्दगीको आधा जून र घाम
टुटेर झरे हजारौँ रङ्गीन ताराहरू
आमाको आँगनमा !
धुँवा भएर उडे बा
खरानी बन्योे बाको टोपी
सम्झनामा झुन्डियो बाको पुरानो तस्बीर
लेखियो चौतारो किताब-ढुङ्गामा बाको नाम
नामः स्व...................................
जन्मः ......................................
स्वर्गारोहणः ...........................
आज त्यही चौतारोमा भरिया दाइले
बिसाएर दुःखको भारी
पुछ्दै होलान् पसिनाको नदी
हाम्रा बाले जस्तै मैलो टोपीले ...!