रूपक अलङ्कार | साहित्य | बैशाख ०६, २०७७
समय यो नवदानवझैँ भयो
तन मिलेर निलेर कहाँ गयो
फुल समान प्रफुल्ल थिएँ सधैँ
शिशिरको म शिरीष भएँ कठै !
चरण जीवनको रणमा टुटे
कति लडेर बडेर त्यहीँ उठे
हृदय आँट विराट छ झन् अझै
शिशिरको म शिरीष भएँ कठै ।
जब थियो मधुमास थिएँ मधु
प्रकृतिको कृतिझैँ म नयाँ वधू
अब त्यो रसरङ्ग उमङ्ग खै
शिशिरको म शिरीष भएँ कठै !
वय थियो वयसी म थिएँ अरे
तर उमेर घुमेर सबै झरे
सुमनले मन रंगिन भो सबै
शिशिरको म शिरीष भएँ कठै !
मन उमङ्ग मनाउन खोज्दछ
तन चिहान चिहाउन खोज्दछ
किन असार भयो नि असारझैँ
शिशिरको म शिरीष भएँ कठै !
पवनले वन यो लहराउँथ्यो
अनि बतास सुवास चलाउँथ्यो
अब त लाग्दछ ह्वास्स छ सास नै
शिशिरको म शिरीष भएँ कठै !
अघि विहङ्ग विहार उडे गरी
अब किरा, धमिरा गर मनपरी
समयमा जब तन्मय भो सबै
शिशिरको म शिरीष भएँ कठै !