राजकुमार दिक्पाल | दृष्टिकोण | बैशाख ०७, २०७७
मानविकीतर्फ स्नातक तहको तेस्रो वर्षका विद्यार्थीहरूलाई पढाउँदै थिएँ । विषय थियो– कार्यमूलक नेपाली पत्रकारिता । त्यो बेलाको कक्षा भारअनुसार ५० प्रतिशत सैद्धान्तिक पाठ पढाउनुपर्थ्यो ।
आठ वर्ष कलेज पढाउँदा मैले प्राध्यापनलाई कहिल्यै जागिरको रूपमा लिइनँ । प्राध्यापनमा सेवा, सर्त र सुविधाको सवाल त हुन्छ नै । तर मेरो लागि यी सवाल गौण रहे । म चाहिँ आफूमा अन्तर्निहित ज्ञान विद्यार्थीमा सार्ने र विद्यार्थीबाट पनि आफूमा ज्ञानको सञ्चार गराउने खालको परेँ । त्यसैले तोकिएको पाठबाट कहिलेकाहीँ बाहिर निस्केर विद्यार्थीहरूसँग विभिन्न ज्ञान र अनुभवको आदान–प्रदान गर्ने गर्दथेँ ।
कक्षामा मैले पढाउनुपर्ने त्यस दिनको पाठ सकिइसकेपछि विद्यार्थीहरूसँग केही अनौपचारिक कुराहरू गर्न थालेँ । म भन्दै थिएँ– ‘तिमीहरू भूँईकै एउटा कागज टिपेर हेर त्यहाँ कुनै नराम्रो कुरा लेखिएको हुँदैन । त्यहाँ पनि ज्ञानकै कुरा हुन्छ, जो हाम्रो जीवनमा उपयोगी हुनसक्छ ।’
मैले त्यति बेला सगौरव आफ्नो घरमा सात पुस्ता यतादेखिका कागजपत्र फेला परेको बताएँ । मैले उनीहरूसँग भनेँ–'अब म यी पुराना कागजपत्रको अध्ययन गरेर राम्रा राम्रा लेखहरू लेख्नेछु ।'
मैले यसो भनिरहेको बेला एक जना छात्रा गम्भीर बनिरहेकी थिइन् । उनले मेरो कुरा सकिएपछि उत्साहित हुँदै भनिन्– ‘सर ! हाम्रो घरमा पनि एउटा पुरानो ताम्रपत्र भेटिएको छ । १७११ सालको !’
म पुलकित भएँ । उनले मोबाइलबाट ताम्रपत्रको फोटो देखाइन् । मैले फ्याट्टै भनिदिएँ–‘यो ताम्रपत्र नर भूपाल शाहको समयको हो । यसमा १७११ होइन, वि.सं.१७९२ लेखिएको छ ।’
उनले त्यो ताम्रपत्र सौहार्दता रूपमा मेरो मोबाइलमा सारिदिएर भनिन् –‘सर ! म बाबालाई भन्छु, उहाँले हुन्छ भन्नुभयो भने मात्र पत्रिकामा छापिदिनुस् है ।’
गोरखा मान्वुकी मेरा अनुशासित विद्यार्थीमध्ये एक उनले आफ्ना बुवाले छाप्नका लागि अनुमति दिएको सुनाएपछि मैले त्यो ताम्रपत्रलाई आधार बनाएर एउटा लेख छापेँ । यो ताम्रपत्र सिर्जनाका पुर्खा रामु घलेको नाममा जारी भएको रहेछ ।
सुरुमा त ताम्रपत्रको अक्षर छिचोल्नै बडो मुस्किल पर्यो । फेरि त्यो बेलाको भाका र भाषाको अर्थ लगाउन नसकेर हैरान ! त्यसपछि मैले इतिहासकार दिनेशराज पन्तसँग सहयोग मागेँ ।
उहाँले सुझाउनुभएअनुसार यसको समाधानका लागि मैले उहाँले लेख्नुभएको ‘गोरखाको इतिहास’ तेस्रो भाग अध्ययन गर्नुपर्ने भयो । ‘गोरखाको इतिहास’ तेस्रो भाग (२०४५:७९५) अनुसार धादिङको मालपोत कार्यालयबाट पन्तले नरभूपाल शाहकालीन सोही ताम्रपत्रको नक्कलबाट सारेर आफ्नो पुस्तकमा छपाउनुभएको रहेछ । मान्वुनिवासी नारायण घलेले उक्त नक्कल वि.सं. १९९६ साउन २२ गते मालपोत कार्यालयमा बुझाएका रहेछन् । हाल गोरखामा रहेको मान्वु त्यतिखेर धादिङ जिल्लामा पर्दो रहेछ ।
त्यो बेला म आफू कार्यरत ‘अन्नपूर्ण पोस्ट’ दैनिकमा मैले त्यो ताम्रपत्र छपाएँ–‘दुई सय ७५ वर्षअघिको ताम्रपत्र’ शीर्षकमा १० वर्षअघि । तर त्यो मेरो सानो लेखलाई सोही पृष्ठमा छापिएको एक जना ठूलाबडा इतिहासकारको बडेमाको लेखले झन्डै किचेर मारेको थियो । उनी तत्कालीन सम्पादकद्वारा आमन्त्रित नियमित लेखक थिए । अखबारमा सम्पादक फेरिएपछि तिनले पनि लेख्न छाडे ।
जे होस, सानै स्थान पाएर पनि एउटा महत्त्वपूर्ण ताम्रपत्र प्रकाशमा ल्याउने अवसर भने मैले प्राप्त गरेको थिएँ ।
गल्लीको कसिङ्गरमा भेटियो इतिहास
इतिहाससम्बन्धी परामर्शका लागि एक दिन धुम्वाराहीस्थित इतिहासकार प्रा. दिनेशराज पन्तको घरमा पुगेको थिएँ । इतिहासको स्रोतसम्बन्धी कुरा गर्दै उहाँले भन्नुभयो–‘हाम्रा बुवाले एक दिन फोहर फ्याँक्ने ठाउँमा केही कागजहरू फ्याँकिएको देख्नुभएछ । फोहर भएकोले सिन्काले कागजहरू यसो पल्टाउनु भएछ । त्यहाँ त ! महत्त्वपूर्ण हस्तलिखित पुस्तकहरू रहेछन् । ती कागजलाई घरमा ल्याई सफा गरी पढ्दा महत्त्वपूर्ण ऐतिहासिक तथ्यहरू फेला परे ।’
यसबारेमा नयराज पन्तले ‘गल्लीमा फ्याँकिएको कसिङ्गर’ शीर्षकमा ‘पूर्णिमा’को पूर्णाङ्क १४ (२०२४ साउन–असोज १७०)मा उल्लेख गरेअनुसार उनले वि.सं. २००९ मा उनको कोठा अगाडिको गल्लीमा केही पुस्तकहरू पाउनुभएको थियो । त्यहाँ फालिएका पुस्तकको सूची तथा फालिएका नेपाली पुस्तकलाई ‘गल्लीमा फ्याँकिएको कसिङ्गर’को नामले भोलानाथ पौडेल र धनवज्र बज्राचार्यले सम्पादन गरी जगदम्बा प्रकाशनबाट २०१८ सालमा प्रकाशित समेत गराउनुभएको थियो ।
२०२१ साल असोज ४ गते पं पूर्णनाथ पन्तले ‘भास्करीय बीज गणित’का जम्मा ११८ पत्रमध्ये १० पत्र नयराज पन्तलाई दिनुभएको थियो । सोही वर्ष ऋषि पञ्चमीमा विष्णुमतीमा बग्दै आएका पुस्तकहरू उहाँले बटुल्नु भएको रहेछ ।
गल्लीमा फ्याँकिएका कसिङ्गरहरूलाई बटुलबाटुल गरे यो छापिदा महत्त्वपूर्ण ऐतिहासिक तथ्यहरू प्राप्त भए । ‘मुद्रा राक्षस’ तथा ‘पञ्चतन्त्र’ जस्ता संस्कृत भाषाका लोककथाहरू नेपालीमा अनुवाद भएका हस्तलिखित पुस्तक पनि यसमा थिए ‘पञ्चतन्त्र’ संस्कृतबाट हिन्दीमा सबैभन्दा पहिले अनुवाद भएको भनी दाबी गरिएको रहेछ । तर यो त हिन्दीमाभन्दा एक सय वर्षअघि नै नेपाली भाषामा अनुवाद भएको ऐतिहासिक तथ्य पनि यसैबाट पत्ता लागेको थियो ।
मैले एक दिन आफ्ना पिता पुर्खाले सङ्ग्रह गरी सुरक्षित राखेको पुराना कागजपत्रबारे आफ्नो धारणा राखिरहेको बेला मेरा विद्यार्थीमध्ये एक सिर्जना घलेले उनको पिता पुर्खाले सुरक्षित राखेको ताम्रपत्रबारे जानकारी मात्र होइन, त्यसको छायाँप्रति नै मलाई दिइन् । यो ताम्रपत्रको सक्कल छाप्ने श्रेय यो लेखकलाई सगौरव मिल्यो ।
यी कागजपत्रहरू नयराज पन्तले प्यूखाटोलमा प्राप्त गर्नु भएको थियो ।
मेरो किताब ‘आदिवासी विद्रोहको इतिहास’बारे केही बोलिदिन म समाज शास्त्री डा. कृष्ण भट्टचनको घर सानेपामा उहाँलाई पुस्तक समर्पण गर्न पुगेको थिएँ । मसँग मेरा मित्र राम मादेन पनि हुनुहुन्थ्यो । इतिहाससम्बन्धी कुराकानीका क्रममा उहाँले आई प्याड निकालेर इतिहासकार प्रा.डा.जगदीशचन्द्र रेग्मीको अन्तरवार्ता हामीलाई देखाउँदै पढ्दै सुनाउँदै गर्नुभयो । एक अनलाइनमा राखिएको रहेछ, मैले अनलाइनको नाम बिर्सेँ ।
नेपालमा वि.सं. १९६८ बाट राष्ट्रिय जनगणना सुरु गरिएको इतिहास पाइन्छ । तर रेग्मीले यस्तो कागज फेला पारेछन्, जुन कागजपत्रबाट जङ्गबहादुर राणाकै पालामा काठमाडौँ उपत्यकाको जनगणना गरिएको पत्ता लागेछ । यसमा घर मुलीको नाम पनि उल्लेख गर्ने महल पनि रहेछ । यो कागजका आधारमा तयार पारिएको पुस्तक छाप्न रेग्मीले सम्बन्धित सरकारी अड्डाका ढोका ढकढक्याउँदा कसैको कानमा बतास परेनछ ।
यी ऐतिहासिक स्रोतका सम्बन्धमा रेग्मीले उल्लेख गरेअनुसार एक जना भोटे कागजको पोको बोकेर उनलाई बेच्न आउँदा रहेछन् । एक दिन यस्तै पोको बोकेर आउँदा रेग्मीको जिज्ञासामा ती भोटेले भनेछन्–एक जना मान्छेले काम नलाग्ने भनेर कागजहरू फ्याँकिरहन्छन्, जति बेला फ्याँक्छन्, म चाहिँ उठाएर हजुरकोमा ल्याइदिइहाल्छु ।’
धन्न महत्त्व बुझ्नेको हातमा परेछन्, ती महङ्खवपूर्ण निधिहरू । कठै, कति कागजपत्रहरू सडेर माटोमा मिले होलान् ?
पुरानो कागज किन्ने बानी
मलाई एउटा लेख लेख्नुपर्ने भयो । कुरा पर्यो, २०७२ असोज/ कात्तिकतिरको । विषय थियो– ‘पारिजातको प्रेम र यौन सम्बन्ध’ । यसबारेमा पारिजातले नै आफ्ना निजी प्रसङ्ग सार्वजनिक गरेको चिठी पत्र छापिएको एक पत्रिकाको खोजीमा थिएँ । सर्वत्र खोज्दा पनि पत्रिका भेटिएन । ६ महिनाअघि मात्र गएको भूँइचालोले मदन पुरस्कार पुस्तकालय भवन पनि समस्यामा परे थियो । मैले यो पत्रिका कीर्तिपुरमा २०५३ सालतिर पढेको थिएँ ।
साहित्यिक अन्वेषक शिव रेग्मी (वि.सं.१९९८–२०७५)लाई भर्खरै जगदम्बा श्री पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो । उहाँको सङ्ग्रहमा पक्कै पनि यो पत्रिका हुनुपर्छ भन्ने लाग्यो । उहाँलाई फोन गर्दा त्यो पत्रिका आफूसँग भएको बताउनुभयो । उहाँको अन्तरवार्ता पनि लिने हिसाबले उहाँको निवास पुरानो बानेश्वर पुगेँ । उहाँको अन्तरवार्ता लिएँ, पुरस्कार प्राप्तिको सेरोफेरोमा । र, मैले खोजेको ‘वेदना’को पूर्णाङ्क ५४ पनि हात पारेँ । यहाँ २०३९/४० सालमा पारिजातले डा.महेश मास्केलाई लेखेको पत्रहरू छन् । जहाँ पारिजातले आफ्नो निजी मामिलाका प्रेम र यौनसम्बन्धीका बारेमा खुलस्त पार्नुभएको छ ।
मैले रेग्मीलाई आफूले चाहेको पृष्ठहरूको फोटोकपी गरेर लैजाने कुरा गर्दा किन हो उहाँले पत्रिका नै लगेर पछि फर्काए हुने बताउनुभएको थियो । तर म प्रवासतर्फ हिँडिहालेँ, मैले त्यो पत्रिका उहाँलाई फर्काउन सकिनँ । उहाँ बिती पनि सक्नुभयो । अफसोस छ ! मलाई ।
उहाँसँगको अनौपचारिक कुराकानीमा मैले सोधेँ, यतिका पत्रिकाहरू कसरी सङ्कलन सम्भव भयो ?
लामो समय निजामती सेवामा बिताउनुभएका रेग्मीले आफ्नो सम्पूर्ण जीवन साहित्यिक अन्वेषणमा बिताउनुभयो । त्यसमा पनि साहित्यिक पत्रपत्रिकाको क्षेत्रमा । कसैले आफूसँग भएको कसिङ्गर फ्याँक्न लागेको सुन्नासाथ उहाँको कान चनाखो हुँदो रहेछ । भन्नुहुँदो रहेछ ‘यदि तपाईँले पत्रपत्रिका फ्याँक्न लाग्नुभएको रहेछ भने सकेसम्म सित्तैमा नभए मूल्य लिएर भए पनि मलाई दिनुहोस् ।’
एक दिन उहाँको सहकर्मीले फ्याँक्न लागेको कागजपत्रहरू उहाँले किन्नुभएछ । त्यहाँ कैयौँ महङ्खवपूर्ण सामाग्रीहरू रहेछन् । त्यसमा पनि एक अत्यन्तै महत्वपूर्ण सामाग्री उहाँले मलाई देखाउनुभएको थियो । त्यो थियो– ‘मोतीराम भट्टले तयार पारेको हस्तलिखित पुस्तक’ । मोतीरामको अक्षर असाध्यै सुन्दर रहेछन् । उर्दू र अङ्ग्रेजी अक्षर पनि सुन्दर । पुस्तकभित्र राम्रा राम्रा चित्र पनि रहेछन् । यसरी सडकमा सड्न लागेको मोतीराम भट्टको हस्तलिखित ग्रन्थ र कैयौँ महत्त्वपूर्ण सामाग्री अन्वेषक रेग्मीको सङ्ग्रहमा सुरक्षित हुन सम्भव भएको रहेछ ।
झन्डै माटोमा मिल्यो विद्रोहको इतिहास
वि.सं. १९३३ मा गोरखामा शुकदेव गुरुङले ठुलो विद्रोह गरे । उहाँले आफूलाई बौद्ध बादशाह घोषणा गरेर कैयौँ अनुयायीहरू बटुले । यो ठुलो गुरुङ विद्रोह थियो । तर उहाँलाई राणा शासकले गिरफ्तार गर्यो । उहँलाई अदालत लगियो र दोषी करार गरियो । उहाँको जेलमै ज्वरो आई बित्नु भयाे । उहाँपछि सुपति गुरुङले नेतृत्व सम्हाली आफूलाई बौद्ध बादशाह घोषणा गरी विद्रोहलाई निरन्तरता दिनु भएको थियाे ।
यस विषयको सन्दर्भ सामाग्री बटुल्न गल्कोपाखास्थित प्रा.डा. त्रिरत्न मानन्धरको निवासमा पुगेँ । उहाँले आफ्नो पुस्तक ‘नेपालको इतिहासमा जङ्गबहादुर’ (२०४८:१४५–१४६)मा यो प्रसङ्ग समेट्नुभएको छ ।
शुकदेव गुरुङको ज्वरोले मृत्यु भएको १९३३ चैत वदी ५ रोज १ को ऐतिहासिक कागज फेला परेको रोचक वृत्तान्त मानन्धरज्यूले सुनाउनुभयो ।
कुरा के परेछ भने इतिहासकार धनबज्र बज्राचार्य आफ्नो निवास महाबौद्धबाट प्रभातकालीन भ्रमणमा निस्कँदा उहाँ हनुमान ढोका पुग्नुभएछ । त्यहाँ धमाधम फ्याँक्नका लागि पुराना कागजहरू ट्रकमा लोड गरिँदै रहेछ । नजिक पुगेर हेर्दा कसो कसो उहाँको आँखा एउटा कागजमा परेछ । उहाँले प्रहरीलाई अनुरोध गरेर एक दिनको लागि भए पनि ती कागजहरू नफ्याँक्न भन्नु भएछ । बडो मुस्किलले प्रहरीलाई मनाउनु भएछ ।त्यो बेला धनबज्र एसिया तथा नेपाल अनुसन्धान केन्द्र (सिनास)मा रहेर अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो । उहाँले कार्यालय पुगी यताउताबाट कुरा मिलाएर केही कागजपत्र सिनासमा लगेर सुरक्षित गर्नुभएछ । तिनै कागजमध्ये शुकदेव गुरुङ पक्राउ परी उहाँको कारावासमै मृत्यु भएको ऐतिहासिक तथ्य सुरक्षित रहन सम्भव भयो । फलतः शुकदेवको नेतृत्वमा गोरखामा गुरुङ विद्रोह भएको प्रमाण पुष्ट इतिहास प्रकाशमा ल्याउन सकिएको छ ।
आफ्नै सेरोफेरो
विभिन्न प्राज्ञ मनिसहरुसँगको बातचित र भेटघाटको प्रभावले मैले पनि मेरो बुवाको पुरानो पल्टनिया बाकस खोलेर त्यहाँको कागजपत्रहरू खोतलखातल गरेँ । त्यहाँ मभन्दा अघिका सात पुस्ता यतादेखिका पुर्खाहरूले सँगालेर राखेको महत्त्वपूर्ण कागजपत्रहरू छन् । वि.सं. १८८४ यतादेखिका कागजहरू पाइए । तीमध्ये मैले यक्सो वंशावली (वि.सं. १९०९), बराजुको विवाह (वि.सं.१९३२), बराजुको छोराको बर्खान्त(वि.सं. १९४२) लेखका रूपमा प्रकाशमा ल्याइसकेको छु । अरू विषयमा पनि अध्ययन गर्न बाँकी नै छ ।
यी कागजपत्रको प्राप्तिले आफूमा एउटा महङ्खवपूर्ण पैतृक सम्पत्ति प्राप्त भएको अनुभूति गरिरहेको छु।
धन्य हुन्, मेरा पितापुर्खा जसले धुम्रपान गर्नका लागि चकमकको झिल्कासँगै यी कागजहरूलाई झुल बनाएर सिध्याएनन् । धन्य हुन्, मेरा पितापुर्खा, जसले यी सम्पत्तिलाई कसिङ्गर ठानेर माटोमा मिलाउने नकाम गरेनन् ।
मैले एक दिन आफ्ना पिता पुर्खाले सङ्ग्रह गरी सुरक्षित राखेको पुराना कागजपत्रबारे आफ्नो धारणा राखिरहेको बेला मेरा विद्यार्थीमध्ये एक सिर्जना घलेले उनको पिता पुर्खाले सुरक्षित राखेको ताम्रपत्रबारे जानकारी मात्र होइन, त्यसको छायाँप्रति नै मलाई दिइन् । यो ताम्रपत्रको सक्कल छाप्ने श्रेय यो लेखकलाई सगौरव मिल्यो । परिणामतः थप अध्ययन र अनुसन्धानका लागि उत्साहले पाइला चल्न घचघच्याइ रहेको छ ।