जया बुढाथोकी | साहित्य | बैशाख ०८, २०७७
जो अन्याय गरी रहन्छ, छ उही यो देशको मालिक
कस्ता दृष्टिविहीन शासकहरू छन् देश सञ्चालक !
देख्दैनौ किन छन् तिरस्कृत सधैँ ठेला उठेकाहरू
अट्दैनन् किन साम्यवाद घरमै खुट्टा फुटेकाहरू !
तिम्रै शासनभित्र अट्न नसकी, ती सर्वहाराहरू
खाली पेट हिँडे, हिँडे, हिँडिरहे भोका र नाङ्गाहरू
बोल्छौ भाषणमा मिठा प्रिय कुरा तिनकै चढी काँधमा
सुन्दैनौ तिनका व्यथा, सडकमा सुनसान यी रातमा ?
बन्दी जीवन बाँच्नु, बस्नु घरमै तिम्रो छ निर्देशन
खाने गाँस र बास छैन कसरी बाँधेर राख्छौ भन ?
भोका मानिस छन् खुवाउन भनी जोहो गर्यौ के कति ?
के राम्रो उपचार हुन्छ, पहिल्यै सस्तो किन्यौ ओखती ।
जल्ले पाउनुपर्छ राहत यहाँ मिल्दैन पार्टी भन्यौ
झल्को मेट्न चुनावको रहरले, आफ्ना र अर्का गन्यौ
सिङ्गो देश छ, एउटै छ जनता बोलेर बाचा गर
साझा भैकन बाँच्नुपर्दछ तिमी नेपाल सिङ्गो घर ।
कोरोना अति सूक्ष्म भाइरसले सन्त्रासमा देश छ
यसको शासन चल्न रोक्नु छ भने लुक्नै यहाँ बेस छ
जित्ने उत्कट चाहना र दृढता बोकेर छातीभरी
हामी बाँच्नु छ भोलि यो जगतमा सारा उज्यालो छरी ।