कोरोना-कहर

कोरोना-कहर

नारायण गौतम  |  साहित्य  |  बैशाख ०८, २०७७

के आयो के आयो यस्तो नासिन्छ कि चराचर 
को होला नासने यस्तो मानवीय धरोहर ?
किन यो कसरी यस्तो ? बन्दै छ विश्व थरथर
फैलियो जगतै जम्मै बनायो सब धरमर ।

युगले पल्टा खेल्छ कि कसरी टर्ला संकट 
कोरोना त्रासमा हाम्रो जिन्दगी पर्‍यो छ्ट्पट 
उठौँ जागौँ सबै हामी विपदमा सब एक हौँ
विश्वमा जति छौँ मानव नेपाली सब साथ छौँ ।

युद्ध हो कि महायुद्ध लोकमा जे त देखियो  
विश्वमा सहजै छिर्‍यो सीमाले न त रोकियो 
कहाँ गए महाज्ञानी, कहाँ छन् धर्म रक्षक ?
यही भो सबको शत्रु कोरोना बनी भक्षक ! 

आफ्नै हातदेखि टाढा बस्नुपर्ने भएपछि
आफू आफैँदेखि टाढा सर्नुपर्ने भएपछि 
को यो रचने यस्तो सृष्टिलीला विनासको ?
म देख्छु विश्वमा आज थुप्रै थुप्रो छ लासको ।

फैलँदा यो महामारी हाहाकार सबैतिर 
ज्ञान-विज्ञानको क्षेत्र, पङ्गु भो यस खातिर 
प्रकृति पर्लय हो वा सृष्टि भङ्ग हुँदै छ कि !
देखिन्न जगमा रूप लुट्दै छ कि लुकीलुकी !