उषा आचार्य (ढकाल) | साहित्य | बैशाख ०८, २०७७
छन्दैमा रचियो मिठो सरसको साहित्य वेदान्तको
छन्दैमा सजिए सुधा सगरका जीवन्त साम्राज्य भो
उस्तै सागर देख्छु छन्द जसरी बग्दैछ एकान्तमा
नाच्दै चल्छ घरी वसन्त वनको वर्षन्छ वर्षा यहाँ ।१।
पाखा पर्वत गाउँछन् मिलनको भाका यही छन्दमा
मौरी छन्द पिई रमी मधु बगैँचा बस्छ आनन्दमा
गर्छे चिर्बिर गौँथली पनि उसैको मोहनी छन्द छ
यै छन्द अब ता पुगेर वयमा लौ कामिनी बन्दछ ।२।
यस्तै वृत्ति छ चल्छ यो सकल मान्छे पो कता के भए
भुल्दामा सबलोक रागबिचमा यो छन्द नै बिर्सिए
ब्रह्माण्डै वस छन्दको भइसक्यो लौ छन्द मान्छे बन
छन्दै छन्द जताततै भुवनमा बेछन्द भो जीवन ।३।