विनोद पोख्रेल | दृष्टिकोण | बैशाख १०, २०७७
अहिले सामाजिक सञ्जालको युग छ देश विदेशका घटनाहरू घरपरिवार आफन्तहरूका सन्चो बिसन्चोका समाचारहरू हामी सामाजिक सञ्जालबाटै थाह पाउँछौँ। चाडपर्व, जात्रा मेला र हाम्रा परम्परागत चलनहरू यही सामाजिक सञ्जालबाटै थाह हुने माध्यम बनेको छ ।
यहाँ सम्मकी विवाह व्रतबन्ध भोज भतेर पार्टीका निमन्त्रणा तथा जन्म मृत्युका सूचनाहरूको लागि समेत सामाजिक सञ्जालकै उपयोग गर्छौ। आफैले बिर्सिएको जन्मदिन विवाह भएको दिन साथीभाइ इष्टमित्र तथा आफन्तले सो दिन भन्दा अगाडि नै सञ्जाल भित्रकै सुन्दर तस्बिरसहित शुभकामना दिन्छन्। केक नकाटेर आधा उमेर बितिसक्यो अहिले सामाजिक सञ्जालमै राख्नको लागि केक काट्ने गर्छौ।
विवाहका लगन हुने महिना नआउँदै कपि र पेस्ट गर्नको लागि शुभकामनाका सन्देश तयार गरेर राख्छौँ। मृत्युका समवेदनाहरू सबैभन्दा पहिले सञ्जालमा कसले हाल्ने त छाड मछाडमा गर्दै सात पुस्ता नाता नपर्ने र जिन्दगीमा कहिल्यै कहीँ नदेखेका नभेटेका मानिसका तस्बिरलाई मृत्यु हुनुभन्दा अगाडि नै सञ्जालमै झुन्ड्याई दिन्छौ। यस्तो घटना भर्खरै न्यूयोर्कमा घटेको थियो। शुभकामना तथा समवेदनाका सन्देशहरूमा आफ्नो मौलिक भावना तथा गहिरो मर्मस्पर्शी शब्दहरू कहाँ पाउनु कसैले बनाएको कपि पेस्ट गरेर भएभरका सञ्जालका साथीहरूलाई मात्र होइन साथीका साथीहरूलाई पनि पठाई दिन्छौँ र अहिले त कपि पेस्ट गर्न पनि नभ्याउने भैसक्यौं।
सामाजिक सञ्जालका 'फलोअर'हरू आफ्नो बिचारलाई उपयुक्त हुने तथा विरोधीलाई आक्षेप लगाएका घोचपेच गरिएका अफवाह फैलाइएका समाचार पढ्ने र सत्य के रहेछ बुझ्ने होइन शीर्षक हेरेर नै सञ्जालमै भाइरल बनाइन्छ । एउटा कुनै सामान्य घटेको घटनाको तस्बिर जुन तुरुन्तै समाधान भई पीडितको जीवनयापन सामान्य भैसकेको हुन्छ महिनौँसम्म त्यही तस्बिर राखेर सञ्जाल रङ्गाउनमै व्यस्त हुन्छन्। देशबिदेसमा खिचेका कुनै पीडाका वा जनतालाई दुःख भएका तस्बिरहरू आफ्नै देशको भन्दै सञ्जालमा राखी सत्ताधारीको सत्तो सराप गर्छन्।
'रेडिमेड' बनाइएका स्टिकरहरू तथा 'ग्राफिक्स इन्टरचेन्ज फर्म्याट' जसलाई छोटोमा GIF भनिन्छ, जता कतै टाँसिदिन्छौ। अझै भनौ भने यस्ता 'रेडिमेड' शुभकामना सन्देशहरू जसलाई मैले शुभकामना आतङ्कहरू नै भन्ने गर्छु, एक पटक होइन बारबार थरिथरिका शब्दहरू, तस्बिरहरू तथा सङ्गीतहरू मैले माथि भनेझैँ सात पुस्ते नाता र जिन्दगीमा कहिल्यै नदेखेका नभेटेकालाई पठाईदिन्छौं।
अहिले यो सञ्जालले मान्छेलाई कति सामाजिक, निकट तथा मायालु बनाई दिएको छ कि हरेक बिहानै आफ्नै घरका आमाबुवा श्रीमानश्रीमती छोराछोरीको अनुहारमा एउटा मिठो मुस्कान नदेख्दै रङ्गिन कलेवरका तस्बिर सहित 'गुड मोर्निङ्ग हैभ अ वन्डरफुल डे' जस्ता सन्देशहरू भएभरका सञ्जालका साथीहरूलाई पठाउने गर्छौ र आफ्नै घरमा राती नै नभइरहेको अवस्थामा पनि 'गुडनाईट हैभ अ स्विट ड्रिम' भन्दै लामो समय भेटघाट सम्पर्क नभएका आफन्त तथा फेसबुके मित्रहरूलाई पनि एक क्लिकमै पठाइदिन्छौ।
हाम्रा सांस्कृतिक परम्पराहरू लोप उन्मुख हुँदै गैरह्का थिए, अहिले हामी देखाउनकै लागि वा सामाजिक सञ्जालमै राख्नको लागि भए पनि मूल घर पुर्ख्यौली थलो बाहेक अस्थायी रूपमा अपार्टमेन्ट कोठामै बस्दा पनि मन्दिर, भगवानका मूर्तिहरू, पूजाका सामाग्रीहरू, कलात्मक तस्बिरहरू सजाएर राख्छौँ। चाडपर्वहरू, पार्टी तथा भेटघाटहरूमा आफ्ना परम्परागत पहिरनमा सजिदैं पर्व भेटघाट होइन, तस्बिर र सेल्फी खिच्नै व्यस्त हुन्छौ।
मन परे पनि नपरे पनि कतिपय परम्परागत खानेकुराहरू तथा अन्य मिठा मिठा परिकारहरू बनाउने गर्छौ र ती खाएर स्वाद लिनु भन्दा र त्यसका तस्बिरहरू सञ्जालमा 'स्टाटस'मा राखेर 'भ्यू' गन्दै बस्छौँ। आमा बुवालाई कहिल्यै नभेट्ने, माया ममता नगर्ने, मनपरी कुरा काट्दै हिँड्ने, सुख होइन सधैँ दुख् दिने, बृद्धाश्रममा राख्ने तर मुख हेर्ने दिन जस्ता परम्परागत पर्वहरूमा तस्बिर राखेर स्तुति गान गर्न यस्ता सामाजिक सञ्जालहरूले बाध्यता पनि पारि दिएका छन् भने मान्छेलाई यथार्थवादी होइन एउटा नाटक गर्न सक्ने क्षमताको पनि विकास गरिदिएको छ।
प्रिन्ट पेपर त अहिले बिक्नै छोडी सक्यो। विश्वकै समाचार डिजिटल भइसक्यो। औँला औँलामा विश्वका सहरहरू देखिन सक्ने भइसके। विश्वमै कुनै घटना घटेको मिनेट भरमै सञ्जालमा रंगिसकेका हुन्छन्। अनलाइन मिडिया, युट्युब च्यानलहरूको त खेती नै भइरहेको छ। सबै त होइन धेरै मिडियाहरु सत्य र तथ्य भन्दा नियोजित रूपमै परिचालित भएको देखिन्छ।
समाजलाई सुसूचित गर्ने भन्दा भ्रामक समाचार राखेर भाइरल बनाउने होडमै देखिन्छन्। सामाजिक सञ्जालका 'फलोअर'हरू आफ्नो बिचारलाई उपयुक्त हुने तथा विरोधीलाई आक्षेप लगाएका घोचपेच गरिएका अफवाह फैलाइएका समाचार पढ्ने र सत्य के रहेछ बुझ्ने होइन शीर्षक हेरेर नै सञ्जालमै भाइरल बनाइन्छ । एउटा कुनै सामान्य घटेको घटनाको तस्बिर जुन तुरुन्तै समाधान भई पीडितको जीवनयापन सामान्य भैसकेको हुन्छ महिनौँसम्म त्यही तस्बिर राखेर सञ्जाल रङ्गाउनमै व्यस्त हुन्छन्। देशबिदेसमा खिचेका कुनै पीडाका वा जनतालाई दुःख भएका तस्बिरहरू आफ्नै देशको भन्दै सञ्जालमा राखी सत्ताधारीको सत्तो सराप गर्छन्।
गाउँघरमा भएका सामान्य विवाद र द्वन्द्व प्रहरी प्रशासनसँग समन्वय गरी मिलापत्र गराउने, मिलाउने तर्फ होइन पक्षबिपक्ष हेरी, बिचार नगरी आगोको झिल्को सरह ठुला ठुला हेडलाइन बनाउँदै सञ्जालमा फैलाउँदै अपराधी करार गर्न उत्प्रेरित गर्छौ। कार्टुनको कलाकारितालाई बलात् गर्दै फोटोसपबाट अनेक तस्बिर बनाई कसैको चरित्र हत्या त गर्छौ। अझै यस्ता अक्षम्य अपराधको पटक पटक सञ्जालमा सेयर गर्दै प्रवर्द्धन पनि गर्छौ। पुराना समय, विषय र फरक प्रसङ्गमा गरिएका कुराहरू भनाइहरू बङ्ग्याई अप्रसांगिक रूपमा सञ्जालमा राख्दै आफ्नो नियत त देखाउँछौ नै तर आफ्नो साख गुमेको पत्तै पाउँदैनौ।
यसरी सामाजिक सञ्जाल अहिले हाम्रो जीवन पद्धति भैसकेको छ यसको सकारात्मक प्रयोग मानव जीवनकै लागि अमूल्य छ अन्यथा हरेक परिवार, समाज, राष्ट्र र विश्वकै लागि चुनौतीपूर्ण मात्र होइन ज्ञानको घडाभित्र विषको सर्बत हुनेछ।