आशीर्वाद, शुभकामना र बधाईः अप्ठ्यारा बाटादेखि सफल जीवनको लागि सकारात्मक ऊर्जा

आशीर्वाद, शुभकामना र बधाईः अप्ठ्यारा बाटादेखि  सफल  जीवनको लागि  सकारात्मक ऊर्जा

पर्वत भट्टराई  |  दृष्टिकोण  |  बैशाख ११, २०७७

मानिसको जीवन अनेक आयामहरूले भरिएको हुन्छ । व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा हामी सबैले कुनै न कुनै आशीर्वाद, शुभकामना र बधाईहरू पाई रहेका हुन्छाैँ । अपवाद स्वरूप सत्तो सराप गर्नेहरूको पनि समाज कुनै कमी भने हुँदैन । 

तर मूल रूपमा हामी शुभ चिन्तकहरूको माया–ममताका अतिरिक्त यस्ता कामनाहरूको माला लगाएर हिँडिरहेका हुन्छौँ । ती मालाहरूमा जीवनका रङ्गिन क्षणहरू समेटिएका हुन्छन् ।  जन्मदिन, ब्रतबन्ध, विवाह, सन्तान लाभ, परीक्षा र ब्यवसायमा सफलताको लागि र अनेक चाडपर्वहरूमा जीवनभर कुनै दुःख कष्ट नहोस् भन्ने कामना सहित आशीर्वाद, शुभकामना र बधाईको ओइरो नै लाग्ने गर्छ ।  सफलता र असफलताहरू परिस्थितिजन्य कुरा हुन् तर यस्ता कामनाहरू जीवनको अभिन्न अङ्ग भने बनी रहेका हुन्छन् ।  

सडकमा गुड्ने अधिकांश गाडीहरूमा देख्न पाइन्छ –‘आमा बुवाको आर्शिवाद !‘ ‘ईश्वरले रक्षा गरून् ।’ ‘पशुपतिनाथको कृपा रहोस्’ आदि इत्यादि । अझ कतिपयमा त ‘पर्खी बस्, फर्की आउने छु’ भनेर आफ्नी प्रेमिकालाई आश्वस्त समेत पारिरहेको पाइन्छ । 

पढ्दा वा सुन्दा सामान्य लागे पनि यी सबै मनिसका लागि धेरै महत्त्वपूर्ण विषय बस्तु हुन् । यस्ता कामनाहरूले नै मनिसलाई जीवनका अप्ठ्यारा बाटाहरूमा हिँड्न हौसला प्रदान गरिरहेको हुन्छ । यस आधुनिक युगमा मात्र नभई प्राचीन वैदिक युगदेखि नै आशीर्वाद र शुभकामना दिने प्रचलन रही आएको पाइन्छ । हरेक नयाँ दिन र नयाँ कामहरूको थालनीमा आमा, बाबु स्वजन र मित्रहरूबाट यस्ता कामनाहरू एकले अर्कोलाई दिने गरिएको पाइन्छ । 

मनमा जस्तो सुकै रिस र द्वैसको भावना भए पनि यस्ता कामनाहरू दिने प्रचलन थियो र आजसम्म पनि कायम छ । शुभ प्रभात, शुभ दिन, शुभ सन्ध्या र शुभ रात्रि भनेर मानिसको दिनचर्या सुरु हुन्छ । सम्पूर्ण जीवनलाई सफल भएको देख्न र हेर्न चाहनेहरूको कामनाले मानिसलाई पल पल बाँच्न र अगाडि बढ्न हौसला दिई रहेको हुन्छ । 

हाम्रो देशका आधा करोडभन्दा बढी मानिस विदेशमा छन् भने स्वदेशमै रहेका तर आफ्नो घर बाहिर हुनेको सङ्ख्या त्यो भन्दा कम छैन होला । यी सबै मानिसहरू आफ्ना आमा, बुवा, पति, पत्नी, छोराछोरी, स्वजन र मित्रहरूका आशीर्वाद र शुभकामनाले ओतप्रोत भई जस्तो सुकै दुःख कष्ट सहेर पनि आफूलाई सम्हालेर बाँची रहेका पाउँछौ । 

 यहाँ मानिसले मानिसको मात्र नभई प्रकृतिका सबै कुराको शोषण र दोहन गरिरहेको छ । मानिस प्रकृति, मूल्य, मान्यता, धर्म, संस्कृति, विचार, आदर्श, भावना र आत्माको शोषण गर्न सिपालु प्राणी हो । सकेसम्म सबैले शोषण नै गर्छन्, नसक्नेले अरूको आत्म सम्मानमा ठोस पुर्‍याउँछन् ।  त्यो पनि नसक्नेले अर्कै उपद्रो मच्चाउँछन् ।  मानिसको सम्पूर्ण जीवन एउटा अवाञ्छित होडबाजी र बाध्यताहरूमा बित्दछ । यो होडबाजी पनि विश्व सामाजिक संरचना कै उपज हो ।

जब कोरोना भाइरस नागरिकता, पासपोर्ट र भिसा बिना सन्सार घुम्दै हाम्रो देशसम्म आई पुग्यो तब यी सबै मानिसहरू साँझमा आफ्नो गुँड फर्किन लागेको चरा जस्तै स्वदेश विदेश जहाँ भए पनि धमाधम घर फर्की सकेका छन् र  फर्किने क्रममा छन् । सुख, सयल, रोजगारी र अनेक अवसरहरू छाडेर मानिसहरू सात समुद्र पारिदेखि आकास मार्गबाट तथा दसौँ दिनको पैदल मार्ग छिचोल्दै पैतालामा ठेला  उठाएर आफ्नो जन्म भूमितर्फ आई रहेका छन् । 

 यी सबैलाई आफ्नो गाउँघर फर्किन प्रेरित गर्ने कुरा यस्तै आशीर्वाद र शुभकामनाहरू नै हुन्, । जसले  परिवार, समाज र देश पनि हो, जो आफैमा एउटा प्रकृति प्रदत्त आशीर्वाद हो । यो बेला धन सम्पत्ति, पैसा, प्रतिष्ठा, नोकरी र शिक्षा केही काम लाग्ने रहेनछ ।  अन्तिममा काम लाग्ने त केवल आफ्नो देश, समाज, परिवार र स्वजनहरू नै रहेछन् ।  जहाँ जितिबेर पनि आशीर्वाद, शुभकामना र बधाईहरूले भरिएको ‘अर्ग्यानिक’ माया निःशुल्क पाइन्छ । यो सबै मानिसको लागि एउटा अमूल्य उपहार हो ।

 तर मानिसलाई यती दिएर पनि पुगेको छैन । मानिस आफ्नो देश, समाज, परिवार,साथी र सरकारलाई गाली गरी रहन्छौ । असन्तोषको भुङ्ग्रोमा आफूलाई पोल्दा पोल्दा सन्तोषलाई खरानी बनाई सकेपछि के बाँकी रहन्छ ।  त्यसैले त मानव जीवन बारम्बार सङ्कटमा परी रहन्छ । तपाई हामी पनि त्यस्ता  सङ्कटमा फसिरहेका हुन्छौ । पहिले यस्ता कामनाहरूलाई सम्हाल्न कोसिस गरिरहेका हुँदैनौ । अनि आफ्नो कर्तव्य र पहलकदमी पनि पूरा गर्न कोसिस गरेर हेरौँ तब परिदृश्य फेरिन पनि सक्छ । मानिसलाई रिस उठ्नासाथ अरूलाई भनी दिन्छौँ ।  कहिल्यै पनि आफूले आफ्नो अनुहार ऐनामा हेर्दैनौ । 

यस प्रसङ्गमा म यहाँ प्रसिद्ध सायरी मिर्जा गालिबको एउटा सायरीको भाव मात्र सम्झना गराउन चाहन्छु । ‘जिन्दगी भर गालिब ऐना पुछ्दै रह्यो, धुलो गएन, वास्तवमा धुलो ऐनामा होइन, उनकै अनुहारमा थियो ।’ तसर्थ मानिसले अरूलाई ऐना हेर्न सल्लाह दिनुभन्दा पहिले आफ्नै अनुहारको धुलो पुछ र हेर, ऐना पनि सफा देखिन्छ, तिम्रो अनुहार पनि सुन्दर देखिन्छ र उसलाई पनि अरू मानिसले राम्रो देख्न सक्दछौँ । 

उहिलेको वैदिक–पौराणिक कालदेखि अहिलेको सामाजिक सञ्जालको युगसम्म पनि यस्तो परम्परा कायम छ ।  शास्त्रहरूमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्॥’ अर्थात् ‘सबै सुखी हुन्, सबै निरोगी हुन्, सबैको शुभ होस् र कसैलाई दुःख नहोस् भनिएको छ । 

हिन्दुहरूको महान् चाड दसैँमा आफ्ना अग्रजहरूले हामीलाई ‘द्रोण पुत्र अस्वस्थमाको जस्तो आयु, दशरथको जस्तो कृति, रामको जस्तो शत्रु क्षय गर्ने क्षमता, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, सूर्य पुत्रजस्तै दानी, भीष्मको जस्तो पराक्रम, बलदेवको जस्तो बल, युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति होस् ।’ भनेर आशीर्वाद दिने प्रचलन रही आएको छ ।

 आजकाल सामाजिक सञ्जालका भित्ताहरूमा राजनीतिक कुरा छाडेर हेर्ने हो भने सबैभन्दा बढी यस्तै कामनाहरूको ओइरो लागेको हेर्न र पढ्न पाइन्छ । कसले लाइक र कमेन्ट गर्‍यो वा गरेन भनेर हाम्रो आँखा त्यसैमा परिरहन्छन् ।  सबै मानव सभ्यता, धर्म, परम्परा र संस्कारहरूमा आशीर्वाद र शुभकामनाका यस्ता अनेक उदाहरणहरू पाइन्छन् ।
अध्यात्मवादले ईश्वरको लीला र भौतिकवादले विकासवादको लीला भनेर सबै प्राणीहरू यहाँसम्म आई पुगेको ठोकुवा गरेका छन् । तर प्राणीहरूको सृष्टि पछिका हरेक क्षण क्षणको जिम्मा पनि ईश्वरले लिएका हुन्छन् भनेर कसरी भन्न सकिन्छ ।  जन्मेको तीन वर्ष नपुग्दै मन्टेश्वरीको प्ले ग्रुपदेखि तिस पैँतिस वर्षको उमेरमा विश्वविद्यालय तहको शिक्षा पूरा गरी सक्नु पर्ने बाध्यता हामी सबैलाई छँदैछ । 

यसैबिचमा आएर रोजगारीको जोहो गरी सक्नु पर्ने अर्को कठिन काम पनि हामीले गर्नै पर्दछ । यति नगरे समाजले ‘कस्तो लन्ठु रहेछ, केही गर्न सकेको होइन’ भनेर भनिदिने चलन रहेको छ ।  अहिलेको उपभोक्तावादी, पुँजीवादी, अवसरवादी र खोक्रो आदर्शवादी विश्व समाजले हामीलाई घरको न घाटको बनाई रहेको  छ । 

 यहाँ मानिसले मानिसको मात्र नभई प्रकृतिका सबै कुराको शोषण र दोहन गरिरहेको छ । मानिस प्रकृति, मूल्य, मान्यता, धर्म, संस्कृति, विचार, आदर्श, भावना र आत्माको शोषण गर्न सिपालु प्राणी हो । सकेसम्म सबैले शोषण नै गर्छन्, नसक्नेले अरूको आत्म सम्मानमा ठोस पुर्‍याउँछन् ।  त्यो पनि नसक्नेले अर्कै उपद्रो मच्चाउँछन् ।  मानिसको सम्पूर्ण जीवन एउटा अवाञ्छित होडबाजी र बाध्यताहरूमा बित्दछ । यो होडबाजी पनि विश्व सामाजिक संरचना कै उपज हो । यसबाट उम्किएर भाग्ने यो दुनियाँमा कुनै स्थान मानिसलाई उपलब्ध छैन । यो सबै मानिसलाई दिएको असल कामनाहरूको खिल्ली उडाएकै कारणले भएको हो । 

सानो छँदा कर्तव्यपालन, वयस्क भए पछि जिम्मेवारी र वृद्ध भएपछि सफलता असफलता तथा राम्रा नराम्रा अनुभवहरूले मानिसलाई थकित पारी सकेको हुन्छ ।  जीवनका अनेक घुम्ती र मोडहरूमा ठक्कर खाँदै अगाडि बढ्ने क्रममा मानिसले स्वजनहरूको आशीर्वाद र शुभकामनाबाट सकारात्मक ऊर्जा पाई रहेका हुन्छौ । एक्लै उभिन र अगाडि बढ्न नसकिने त होइन तर असल कामनाहरूको साथले अझ धेरै अगाडि बढ्न हौसला र हिम्मत भने दिइरहेको हुन्छ । 

जतिसुकै शक्तिशाली भए पनि राम्रो चिताउनेहरूको कमी छ भने ठुलो समस्यामा परेको खण्डमा मानिसलाई त्यस्ता कामनाहरूले मात्र बचाउन मद्दत गर्दछन् । त्यसैले त  तारादेवीले गाएको गीत भनिएको छ – ‘शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूँ म, शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकूँ म ।’ आफ्नो प्रेमी, शुभेच्छुक वा कसैलाई पनि यसै गरी शुभकामना दिएमा उसलाई अवश्य नै शक्ति मिल्दछ । 

वर्तमानमा दुःख र चोटहरू सहेर रमाउन नसक्नेहरू भोलि त रमाउन सकिन्छ कि भन्ने एक अर्काका असल कामनाले नै  ‘सुन साईली.... साईली .... चालिस कटे सी रमाउला....’ भनेर गीत गाइरहेको पनि  सुन्न पाइन्छ ।  यस्ता गीतभित्र अन्तर्निहित असल कामनाहरू आज करोडौँ अरबौँ मानिसहरूको जीवन दर्शन बनेका छन् ।  तसर्थ मानिसलाई दिएको कसैको पनि आशीर्वाद, शुभकामना र बधाईका अतिरिक्त प्रशंसाको रङ्गिन माला सम्हालेर राख्न सक्नु पर्दछ ।  त्यो तिम्रो जीवनमा अहिले मात्र होइन पछिसम्म पनि काम लाग्न सक्दछ । 

Parbat.bhatta@gmali.com