शशी लुमुम्बू | साहित्य | बैशाख १३, २०७७
बिहानैदेखि मेरो मन खोइ किन–किन एकतमासको अर्कै–अर्कै भइरहेको थियो । अन्य दिनभन्दा भिन्नै लागिरहेको थियो मौसम । आकाश पनि निन्याउरो र उदास थियो । शनिवार, १२ वैशाख, २०७२ । म ओछ्यानबाट करिब साढे ७ बजेतिर मात्रै उठेँ । निद्राले त पाँच बजेतिरै छोडिसकेको थियो तर त्यत्तिकै अल्छी मान्दै सुतेको थिएँ । बद्रीजी चाहिँ ७ बजे नै उठिसकेका थिए ।
राति कार्यालयमै बास बसेका थियौँ हामी । बेलायतबाट प्रकाशित हुने द्वैमासिक म्यागेजिन ‘ग्रीनविच टाइम्स’ अङ्क–१२ को अन्तिम सेटिङ कार्यका लागि हामी कार्यालयमै बास बसेको यो दोस्रो पटक थियो । केही दिनअघि पनि बासै बसेर थालिएको थियो सेटिङको काम । र, यस पटक चाहिँ करिब–करिब अन्तिम रूप दिने गरी काम गरिरहेका थियौँ । राति एक बजेसम्म काम गरेर सुत्यौँ । तर, रातभरिजसो बाहिर परेवाहरूको चहलपहल भइरह्यो । जस कारण राम्ररी निद्रा पर्न सकेन । उज्यालो हुने बेला भने बल्ल निदाएछौँ । फेरि चाँडै नै निद्राले छोडिगयो । बिहान सबेरै उठेर पुनः पत्रिकाको काम गर्ने र त्यसपछि मात्रै कवि तथा प्राज्ञ अमर गिरीको कविता कृति ‘शब्दहरूको बिचमा’माथि हुने विमर्श कार्यक्रममा सहभागी हुन होटेल हार्दिकमा जाने कार्यक्रम थियो हाम्रो ।
कार्यक्रमको सञ्चालक मलाई नै बनाइएका कारण समयमै पुग्नु पर्ने भए पनि म ९ बजेतिर मात्रै होटेलमा पुगेँ । अमर दाइले अघि नै फोन गरिसक्नुभएको हो तर पनि म केही ढिला पुगेँ । कार्यक्रम स्थलमा वक्ता अतिथिहरू प्रायः सबै जना आइसकेका थिए । ९ बजेदेखि नै कार्यक्रम सुरु गर्ने सल्लाह भए पनि करिब दश बजेतिर मात्रै सुरु भयो ।
कार्यक्रममा पनि खोइ किन हो त्यति उत्साह छाएको थिएन । मेरा आँखा पोलिरहेका थिए अनिदोले । मौसम उस्तै थियो । अझ चिसोपन बढ्दै थियो । करिब ११ बजेतिर कार्यक्रम सकियो । खानाको व्यवस्था होटेलमै भएका कारण खाना खाइसक्दा र पाहुनाहरूलाई बिदा गरिसक्दा बाह्र बज्न लागेको थियो । म कार्यक्रम सकिन् साथ त्यहाँबाट उम्किनँ चाहन्थेँ तर कार्यक्रमको व्यवस्थापनमा आफ्नो पनि सानोतिनो भूमिका र दायित्व भएका कारण सबैलाई बिदा नगरी उम्किन पाइने अवस्था थिएन । सबै जना आआफ्ना गन्तव्यतिर लागिसकेपछि मात्रै हामी (अमर गिरी, कुयाङ लामा, श्रवण मुकारुङ र म) काउन्टरमा हिसाब बुझाउन लागेका थियौँ ।
ओहो ! कतै हेरिसक्नु छैन । जताततै विनाश लीला मात्रै । उद्धार टोलीले घरका भग्नावशेष खोतलिरहेका । जताततै रुवाबासी मच्चिइरहेको । कारुणिक र बीभत्स दृश्यहरू देख्दा आफ्नै गला अवरुद्ध भएर आइरहेको थियो । आँखा रसाउन खोजिरहेका थिए । दुनियाँ नै शून्य–शून्य लागिरहेको थियो । हरे ! नेपालले यो कस्तो विपद्को सामना गर्नुर्यो ? प्रकृति पनि किन यति सारो क्रूर र निर्दयी भएको होला ? अनन्त पीडा र वेदनाले मन एकाएक भारी भएर आयो । फेरि गला अवरुद्ध हुन पुग्यो...।
त्यति बेला मध्यान्हको १२ बज्न केही मिनेट बाँकी थियो । अमर दाइले पैसा बुझाउनै के लाग्नुभएको थियो एकाएक धरती पाक्न थाल्यो । काउन्टरका साथी शिशिर ‘भुईँचालो आयो’ भन्दै बेतोडले दौडिए । म पनि आत्तिएर बाहिर सडकतिर निस्कन खोजेँ । अमर गिरी र श्रवण मुकारुङ पनि मलाई समातेर मसँगै लाग्नुभयो । तर हामी सडकमा पुग्न सकेनौँ । म पार्किङ गरिएका मोटरसाइकलमा अल्झिएँ । घरहरू एक आपसमा जोडिँदै–छुटिँदै गर्न थाले । गुडुडु र लचक–लचक गर्दै कस्तो–कस्तो अनौठो आवाज आइरहेको थियो । कतै ड्याम्म–ड्याम्म गरेको आवाज पनि आइरहेको थियो । के गरौँ कसो गरौँको स्थितिबिच म सडकतिर नगएर होटेलपट्टि नै फर्किएँ । एकाएक हाहाकार र भाग दौड मच्चियो । म सडकतिर निस्केको मान्छे त्यतै अलमलिएँ । बल्ल सडकमा जानु असुरक्षालाई निम्ता दिनु हो भन्ने दिमागमा आयो । अनि बल्ल होटेलको मूल ढोकामा चौकोस समातेर उभिएँ । झोलुङ्गे पुलमा मच्चिएजस्तो भइरहेको थियो । सारा धरती नै बेजोडले हल्लिरहेको थियो ।
त्यति बेला टाउको पनि फनफनी घुमिरहेको थियो मेरो । अब यत्तिकै रहेछ यो जुनी । हेर्दाहेर्दै घरहरू ढल्ने छन् र मरिने भइयो भन्ने लागिरह्यो । अरू त केही पनि सम्झन सकिएन । धूमधामले आफ्नै ज्यानको माया लागेर आयो । अब बाँचिन्न भन्ने नै भयो । हात गोडा नै लल्याकलुलुक भएर आए । साथीहरू पनि यता र उता लरबराइरहेका थिए । के गर्ने र कसो गर्ने केही भेउ पाउन सकिएको थिएन । कोही रुवाबासी गर्न थाले । निकैपछि पो उता खाली ठाउँ छ, त्यहाँ जानुपर्छ भन्ने कुरा अचानक क्लिक भयो दिमागमा । मदिराले मातेर लोत भएको मानिस जसरी हल्लिँदै हामी होटेलको खाली ठाउँमा पुग्यौँ । सबै जना त्यहीँ जम्मा भइसकेका रहेछन् । जमिन उत्पात हल्लिरहेको थियो । वरिपरिका घरहरू पनि बेतोडले लम्किरहेका थिए । अब यी घरहरू गर्ल्यामगुर्लम ढल्नेछन् र हामी बसेको ठाउँसम्म आइपुग्छन् भन्ने त्रास लागिरह्यो । होटेलमा बास बसेका पाहुना र अर्को ठुलो हलमा कार्यक्रमका लागि भेला भएका सबै जना झुरुप्प भेला भए, त्यहीँ खाली स्थानमा ।
एकै छिनमा मोबाइल नेटवर्क व्यस्त भयो । कहीँ कतै पनि फोन सम्पर्क हुन सकेन । धरती निरन्तर हल्लिरहेकै थियो । भयावह स्थितिमा हामीले धरतीकै सबैभन्दा निरीह प्राणी भएर भूकम्पको सामना गरिरह्यौँ । लाग्थ्यो, भूकम्पको केन्द्र नै हामी बसेको ठाउँ हुनुपर्छ । किनभने धरती फाट्ला जसरी नै हल्लिरहेको थियो हामी बसेको ठाउँ ।
होटेलको खुल्ला स्थानमा त्राहि–त्राहि भएर बसिरहेका थियौँ हामी । त्यत्तिकैमा इलामबाट कविताजीको फोन आयो, ‘काठमाडौँमा त भुईँचालोले धरहरा नै ढाल्यो रे ! काठमाडौँ तहसनहस भयो रे । तपाईँ कहाँ हुनुहुन्छ शशीजी ?’ सहरमा एक छिनमा एम्बुलेन्सहरू कराएको सुनिन थाल्यो । मान्छेहरू साराका सारा होटेलमा खुल्ला ठाउँ खोज्दै ओइरिन थाले । छिन छिनमा भूकम्पको कम्पन आइरहेकै थियो । लाग्यो, प्रलय नै पो आयो कि कसो ? कोही रोइरहेका थिए, कोही भगवान् पुकारी रहेका थिए । हामी सबै मनमनै भगवान् जप्दै बसिरह्यौँ । आपत् विपद् परेको बेला जस्तोसुकै नास्तिकले पनि भगवान् सम्झँदो रहेछ । मैले त्यस बेला यही देखेँ ।
एकै छिनमा धरहरा फेदैदेखि ढलेको, हजारौँ मानिस हताहत भएको, अस्पतालहरू घाइतेहरूले भरिन थालेको, सडक नै फाटेको जस्ता दुखद समाचारहरू सामाजिक सञ्जालहरूमा आउन थाले । सुरुमा कोही मान्छे लमजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको सुनाउँदै थिए भने पछि मात्रै गोरखाको बार पाकलाई केन्द्रबिन्दु बनाएर ७.९ रेक्टर स्केलको भुईँचालो गएको समाचार आयो । विनाशकारी भूकम्पले क्षणभरमै ठुलो जनधनको नोक्सानी गर्यो । सुन्दर संरचनाहरू ध्वस्त पार्नुका साथै हजारौँको ज्यान लियो । लाखौँलाई घरबारविहीन बनायो । हेर्दाहेर्दै क्षणभरमै सुन्दर संसार ध्वस्त भयो ।
त्रसित र भयभीत वातावरणबिच तीन चार घण्टा होटेलमै बसेपछि अमर दाइ र म रत्नपार्क हुँदै हिँडेर कोटेश्वरतर्फ लाग्यौँ । यातायातका साधनहरू एकाएक बन्द भइसकेका थिए । छिटपुट मोटरसाइकल, निजी कार र ट्याक्सीबाहेकका अन्य साधन हराइसकेका थिए । हामीले रत्नपार्कबाट हेर्यौँ धरहरालाई । धरहराको कुनै नामनिसान थिएन । रत्नपार्कको खुल्ला मञ्च र सैनिक टुँडिखेलमा हजारौँको संंख्यामा मानिसहरू भेला भएका थिए । सबैका अनुहारमा असीमित भय र त्रास व्याप्त थियो ।
हामी अगाडि बढ्दै गयौँ । भद्रकालीस्थित नेपाली सेनाको जंगीअड्डाका पर्खाल र पुराना संरचनाहरू ध्वस्त थिए । सडक पनि धाँजा फाटेको थियो । घरहरू चर्केका थिए । सडकभरि भयभीत मानिसको भीड जम्मा भएको थियो । भक्तपुरको लोकन्थली र कौशलटारबीचको सडक खण्ड त पुरै चिरिएर भासिएछ । आसपासका घर पनि भासिएछन् ।
ओहो ! भक्तपुरको च्याम्हसिंहको गेट नै भत्किएछ । गेटले लागेर ५ जना ठहरै भएछन् । बाटोमा ५ जनाको पार्थिव शरीर लडाइराखिएको थियो । ती मृत शरीर कसका हुन् ? कुनै पत्तो थिएन । त्यहाँबाट भक्तपुर दरबार स्क्वायरतिर जाने बाटोका दुवैतर्फका घरहरू पुरै माटो भएका थिए । भयावह दृश्यले थप मर्माहत त बनायो । सपना हो कि बिपना हो भन्ने लागिरह्यो । दृश्यहरू हेरी नसक्नु थिए । हेर्न नसकेपछि म अगाडि बढेँ ।
हतार–हतार कमलविनायकस्थित डेरा पुगेँ । छोरी र छोरीकी आमा त्रसित भएर मेरो बाटो कुरिरहेका रहेछन् । धन्न हामी बसेको घरलाई केही भएन छ । तर, पुरानो घरमा गएका बेला घरबेटी दिदी र सानी छोरी भने बालवालले बचेछन् । घर भत्केर पुरिइसकेका उनीहरू अलिकतिले मात्रै बच्न सफल भएछन् । बिचरा ! सानी बच्ची घरीघरी तर्सिरहेकी थिइन् । भुईँचालो आयो भन्ना साथ उनको सातो जान्थ्यो । उनी लल्याकललुक हुन्थिन् । हाम्रो घर धागो जस्तो सामान्य रूपमा चर्केछ मात्रै । त्यो पनि हाम्रो कोठामा । र, अर्को घरसँग टाँसिएको घर अलिकति छुट्टिएछ । कोठाको बुकर्याक गर्ल्याम्म ढलेर झर्यामझुरुम सिसा फुटेछ । कुर्सी भाँचिएछ । तर, मानवीय क्षति हुन पाएन । यो नै सन्तोषको कुरा थियो । घरबेटीका दाजुभाइका परिवार पनि त्यहीँ शरणमा आए । त्यस रात पर्तिर खेतको खाली स्थानमा रात कटाइयो, खुल्ला आकाशमुनि । रातभरि कम्पन आइरह्यो । त्रसित बनाइरह्यो । आँखा झिमिक्कै नगरी बिहान भयो ।
बिहानीपख पनि धक्का आइनै रहेको थियो । बिहानको खाना पनि सामूहिक रूपमा खेतमै खाइयो । आज भने काम चलाऊ पालको व्यवस्था गरेका थिए घरबेटी दाइहरूले । १२ बजेर ५६ मिनेट जानुसाथ फेरि ठुलो धक्का आयो । अघिल्लो दिनभन्दा एक रेक्टर स्केल मात्रै सानो । यसले थप क्षति गर्यो । त्रास त्रासमा त्यो पनि दिन बित्यो । कहीँ कतै सम्पर्क हुन सकिरहेको थिएन । साथीभाइ र आफन्तजनको खबर पनि पाउन सकिएन । धन्न भोलिपल्टदेखि भने केही सुचारु भयो सञ्चार पनि । केही साथीभाइ र आफन्तजनसँग सम्पर्क भयो, सबैतिर कुनै क्षति नभएको जानकारी पाए पनि मन भने मर्माहत भइरह्यो । सारा देशलाई नै विपत्ति आइपरेको बेला आफू बाँचेको कुरा पनि फिक्का हुने रहेछ ।
पर्सिपल्ट आँट गरेर भक्तपुर बजारको अवलोकन गर्न निस्कियौँ । ओहो ! कतै हेरिसक्नु छैन । जताततै विनाश लीला मात्रै । उद्धार टोलीले घरका भग्नावशेष खोतलिरहेका । जताततै रुवाबासी मच्चिइरहेको । कारुणिक र बीभत्स दृश्यहरू देख्दा आफ्नै गला अवरुद्ध भएर आइरहेको थियो । आँखा रसाउन खोजिरहेका थिए । दुनियाँ नै शून्य–शून्य लागिरहेको थियो । हरे ! नेपालले यो कस्तो विपद्को सामना गर्नुर्यो ? प्रकृति पनि किन यति सारो क्रूर र निर्दयी भएको होला ? अनन्त पीडा र वेदनाले मन एकाएक भारी भएर आयो । फेरि गला अवरुद्ध हुन पुग्यो...।