राजकुमार महर्जन | दृष्टिकोण | बैशाख १५, २०७७
बन्दाबन्दी अर्थात् लकडाउन जति लम्बिँदै छ, जनजीवन उति नै सङ्कटपूर्ण बन्दैछ । अमेरिका, ब्राजिल लगायतका देशहरूमा लकडाउनको विरुद्धमा र्यालि निक्लन थालेका छन् । हाम्रो देशमा पनि असन्तुष्टिका आवाज बिस्तारै सुनिन थालेका छन् । हाम्रो देशको सरकारलाई कोरोना महामारीलाई व्यवस्थापन गर्ने खर्च भन्दा लकडाउन निकै सस्तो पर्छ । जनताको पक्षबाट हेर्दा पनि कोरोना सङ्क्रमणले महामारी रूप लियो भने अरू नै रोग लाग्दा प्राथमिक उपचार समेत नपाएर ज्यान गुमाउनु भन्दा केही महिना आधा पेट खाएर बाँच्नु बुद्धिमानी ठहरिन्छ ।
लकडाउन अवधिमा जनजीवन जति कठिन भइरहेको छ, त्यो खुलापछिका दिनहरू अझै कठिन हुने कुरा निश्चित छ । कम्तीमा एक वर्षका लागि लागि देशमा जताततै अस्तव्यस्त हुनेछ । विश्व आर्थिक मन्दीको प्रत्यक्ष नकारात्मक प्रभाव नेपालमा पनि पर्नेछ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र विश्व बैङ्कले छुट्टाछुट्टै प्रकाशन गरेको प्रतिवेदन अनुसार पनि विश्वका १ अरब १५ करोड भन्दा बढिले रोजगारी गुमाउने र नेपालको आर्थिक वृद्धि दर १.८ देखि २.८ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिसकेको छ । त्यसको अलावा वैदेशिक रोजगारमा रहेका पचासौँ लाख नेपालीहरूको रोजगारी धरापमा पर्ने स्थिति छ ।
कोरोना भाइरसले मार्न नसकेकालाई हामीलाई आर्थिक सङ्कटको भाइरसले भने नराम्ररी लडाउने देखिएको छ । सबै तिर नकारात्मक मात्रै छैन, लकडाउनका कारण पेट्रोलियम पदार्थको आयातमा ठुलो गिरावट आएको छ । अति विलासी बस्तुहरूको आयात कम भएको छ । मानिसहरूमा सामानहरू अनावश्यक रूपमा खपत गर्ने बानी कम भएको छ । बाध्यताले सही, झार जङ्गलले छोपिसकेको पाखो बारी खोतल्ने मनस्थितिमा हामी नेपाली पुगेका छौँ । तर अर्थ शास्त्रको सिद्धान्तले मानिसको क्रय क्षमतामा ह्रास आउनुलाई राम्रो मानिँदैन । पुँजी भनेको त जति धेरै चलायमान हुन्छ, त्यति नै देशको अर्थतन्त्रलाई सबल बनाउँछ ।
चुनौती ढोकैमा आइसक्यो । अब त्यसबाट भग्ने ठाउँ छैन । बरु त्यसको सामना कसरी गर्ने हो ? यसबारे हरेकले गहन बिचार गरौँ । हुन त सङ्कटकै बेला देशको राजनीतिमा अर्कै तरङ्ग पैदा भएको छ । बेमौसमी वर्षाको भेलले क–कसलाई बगाउँला ?, कसको टाउको माथि पहिरो लड्ला ? त्यो त समयले बताउला तर मलाई भने केटाकेटी हुँदा पढेको एउटा कथाको सम्झना आइरहेको छ ।
कोभिड–१९ ले ल्याउने प्रमुख परिवर्तन भनेको हरेक क्रियाकलापमा मानिसको भौतिक संलग्नता कम हुँदै जानेछ । अबको पुस्ता लगभग भर्चुअल दुनियाँमा प्रवेश गरिसकेका छन् । झन् कोरोना भाइरसको आतङ्कले यसको महत्वलाई बढाइदिएको छ । तसर्थ अबको दिनमा हरेक नागरिकले यस सम्बन्धी ज्ञान लिएर त्यसबाट फाइदा उठाऔँ ।
बिरालो र बाँदर
असाध्यै मिल्ने दुईवटा ढाडे बिरालाहरूको बिचमा एक दिन ठुलो मतभेद उत्पन्न भएछ । दुवै मिलेर पकाएको रोटी कसले बढी खाने भन्ने विषयमा विवाद परेछ । ती दुई बिच धेरै बेर घुराघुर भयो तर कसैको पनि हार जित भएन । त्यही बेला बिचमा एउटा ढेडु बाँदर आई तिनको विवाद मिलाइदिने कुरा गरेछ । दुवैको सहमति अनुसार बाँदरले एउटा तराजुमा रोटीको आधा आधा भाग राखी जोख्न थाल्यो । जोख्दा एकातिर अलि बढी हुन्थ्यो । बढी भएको रोटी बाँदरले आफै खान्थ्यो । फेरि जोख्दा अर्को तिर भारी हुन्थ्यो र त्यता तिरको रोटी पनि बाँदरले चुँडेर खान्थ्यो । एवम् रीतले बाँदरले सबै रोटी खाइदियो । झगड्याहा बिरालाहरू जिल्लै ।
सत्ताको भोकले नेपाली–नेपाली लड्ने अनि विदेशीले नेपालै खाइदिने अवस्था नआओस् । देश रहे जहिले लडे पनि हुन्छ । त्यसैले पहिले देशलाई जोगाऊँ । भुईँको टिप्न खोज्दा बगलीको खस्ला भन्ने कुरामा होस् पुर्याउनु जाति ।
देशमा सङ्कट छ, मुलीहरू बाझाबाझ गर्दै छन् । हामी प्यूसोहरुको कुरा कसले पो सुन्ला ? तर आउनुहोस्, एक पटक हामी सबै मिलेर यी सबैलाई च्यालेन्ज गरौँ । भगवान् बुद्ध भन्नुहुन्छ, ‘मूर्खको सङ्गत गर्नुभन्दा एक्लै बस्नु बेस ।’ असल कामको सुरुवात अरू कसैले गर्लान् भनेर पर्खनु हुन्न । आफूले जति सकिन्छ, त्यो गरिहाल्नुपर्छ । यदि हामी आफूलाई सचेत नागरिक सम्झन्छौँ भने यी ढाडे बिरालाहरूलाई तह लगाउन स्व–अनुशासित भएर लकडाउन पछि आइपर्ने चुनौतीहरूलाई सामना गर्न केही उपायहरू प्रस्ताव गर्न चाहन्छु । तयार हुने जतिले हात उठाउनुस् है ?
१. लकडाउन खुल्नुको अर्थ कोरनेना मुक्त हुनु होइन । त्यसपछिका दिनमा कोरोनाको सङ्क्रमण हुने सम्भावना अझ बढी हुन्छ । सम्भावित सङ्क्रमणबाट बच्ने सम्पूर्ण उपायहरू अवलम्बन गरिरहौँ । अनुशासित रहौँ । स्व–अनुशासनको नियमलाई कडाइका साथ पालना गरौँ ।
२. हामीहरूमा सजिलो बाटोबाट अर्थोपार्जन गर्ने नराम्रो रोग लागेको छ । उत्पादनमूलक काममा भन्दा कमिसन तन्त्रमा रमाउने बानीले उत्पादन क्षेत्र पछि पर्दै गएको कुरा साँचो हो । बिचौलिया प्रवृत्ति त्यागौँ । अब हामीले आत्मनिर्भर बनाउन उत्पादन क्षेत्रमा हात हाल्नुपर्छ । उत्पादन क्षेत्र भन्नाले कृषि, उद्योग, कल–कारखाना, सेवामूलक व्यवसायहरू नै हुन् ।
३. नेपाली सीपयुक्त युवाहरू विदेश पलायन हुनु भन्दा पनि आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने हिम्मतका साथ लाग्नुपर्छ । नेपालमा एउटै कुलमानले कस्तो तहल्का मच्चाए, एउटै सन्दुक रुइतले विश्व हल्लाए । एउटै महवीर पुनले कति धेरै आविष्कारहरू दिए । सिलिकन भ्यालीमा स्टार्टअप गरेकाहरू अरबपति बनेका उदाहरण धेरै छ । नेपालमा पनि आइडिया स्टुडियो आदिको सुरुवात भएको छ । मानव जातिलाई हित गर्ने कुनै पनि नयाँ सूत्र आइडिया छ भने महावीर पुनको आविष्कार केन्द्रले पनि सबै लगानी गरिदिन्छ ।
४. इतिहासलाई कोट्याउने हो भने पनि विसं १८८१ मा तुलसीमेहर श्रेष्ठले नेपालमा रोजगारी सृजना गर्ने र कपडामा आत्मनिर्भर बन्नका लागि चर्खा अभियान चलाएका थिए । त्यति बेलाका राणा प्रधानमन्त्री चन्द्र शमशेर समेतको साथ पाएको यो अभियानले धेरैलाई रोजगारी दिएको थियो । कपडामा आत्मनिर्भर बन्न यो अभियानले ठुलो भूमिका खेल्यो । चन्द्र शमशेर पछिको राणा प्रधानमन्त्री भीम शमशेरले उनको यो अभियानलाई प्रतिबन्धित गरी उनलाई काराबसको सजाएँ तोके । शासकहरूको यस्तै मूर्खतापूर्ण निर्णयको सजाएँ आज पर्यन्त हामीले भोगिरहेका छौँ । इतिहासबाट सिकेर रोजगारीका लागि भौँतारिने भन्दा पनि रोजगारी सिर्जना गर्ने तर्फ दिमाग चलाउनु पर्यो हामी सबैले ।
५. लकडाउन पछि पनि स्वास्थ्य र सुरक्षाको मामलामा चुनौतीहरू यथावतै रहने छन् । ज्यानको प्रवाह नगरीकन कोभिड–१९ बाट सङ्क्रमित व्यक्तिहरूको उपचारमा खटिएका स्वस्थ्यकर्मीहरुको र सेवात्मक भावनाले लागिरहेका सुरक्षाकर्मी तथा समाजसेवीहरूको मनोबल बढाउन हामी सर्वसाधारणले पनि सहयोग गरौँ । सकारात्मक कुरा गर्न सकिन्न भने गाली नगरौँ ।
६. कोरोना प्रकोपबाट मुक्त भइसकेपछि उत्पन्न हुने सम्भावित आर्थिक विपत्तिको सामना गर्नुपर्ने ग्यारेन्टी छ, त्यसैले आजैबाट फजुल खर्च बन्द गरौँ । पाए सम्म स्वदेशी उत्पादन मात्रै प्रयोग गरौँ । 'मेड इन नेपाल' अभियानलाई व्यापकताका साथ लागू गरौँ । कम्तीमा एक वर्षसम्म तडकभडक, पार्टी, भोज भतेर, विलासी जीवन, विलासिताको बस्तुमा बिल्कुलै खर्च नगरौँ ।
७. नेपालीहरूले फजुल खर्च गर्ने अर्को ठाउँ भनेको दसैँ, तिहार, तीज आदि जस्ता चाडबाडहरू हुन् । त्यस्ता चाडबाडहरूमा अनावश्यक खर्च नगरौँ ।
८. शिक्षाको नाममा बर्सेनि अरबौँ रुपैयाँ विदेश गइरहेको छ । स्वदेशमै एक से एक उत्कृष्ट शिक्षण संस्थाहरू छन् भन्ने कुरा पनि सबैलाई थाहा छ । स्वदेशमै अध्ययन गर्ने वातावरण बनाऔँ ।
९. कार्लमार्क्सको अर्थशास्त्र सम्बन्धी सिद्धान्तमा भनिए जस्तै लकडाउन पछि पनि रोजगारीको क्षेत्र खुम्चिने र बेरोजगारको सङ्ख्या बढ्ने छ । त्यस्तो बेला श्रमिकहरू बिचमा ज्यालामा प्रतिस्पर्धा हुन्छ नै । काम पाउनेले पनि उचित पारिश्रमिक पाउने अवस्था बन्दैन । अर्कोतर्फ कृषि उत्पादनमा समेत ह्रास आउनेछ । आयातमा निर्भर हाम्रो देशमा खाद्यान्न सङ्कट आउन सक्छ । बेलैमा सचेत हुँदा सम्भावित समस्याबाट मुक्ति पाउन सकिन्छ । त्यसैले बर्षौंदेखि बाँझो खेतमा आफ्नै हातले सुन फलाउने सङ्कल्प सहित मिहेनत गरौँ ।
१०. नेपालीहरूमा बिदा मनाउन विश्वका विभिन्न देशहरूमा घुम्न जाने चलन बढेको छ । यसले जनतामा आर्थिक सम्बृद्धिको स्तर बढेको देखिन्छ तर कोरोना युद्धका कारण हुने क्षतिलाई परिपूर्ति गर्न केही हदसम्म भए पनि सघाउ पुगोस् भन्नाका खातिर कम्तीमा पनि एक वर्ष विदेश घुम्न जाने पैसाले देशकै विभिन्न क्षेत्रहरूमा घुम्न गरौँ । जसले आन्तरिक पर्यटनको प्रवर्द्धन त हुन्छ नै, देशको पैसा विदेश जान पनि केही हदसम्म कम हुन्छ ।
११. कोभिड–१९ ले ल्याउने प्रमुख परिवर्तन भनेको हरेक क्रियाकलापमा मानिसको भौतिक संलग्नता कम हुँदै जानेछ । अबको पुस्ता लगभग भर्चुअल दुनियाँमा प्रवेश गरिसकेका छन् । झन् कोरोना भाइरसको आतङ्कले यसको महत्वलाई बढाइदिएको छ । तसर्थ अबको दिनमा हरेक नागरिकले यस सम्बन्धी ज्ञान लिएर त्यसबाट फाइदा उठाऔँ ।
मुख्यतः आत्म अनुशासित समाज आजको आवश्यकता हो । आफू अघि बढ्न अरूको खुट्टा तान्ने प्रवृत्तिलाई त्यागी पूर्ण देशभक्तिको भावना सहित व्यक्तिगत सामाजिक उत्तरदायित्व वहन गर्ने हो । जसको आस्था जहाँ भए पनि आपतकालिन दिनहरुमासँगै बसी एकले अर्कालाई सहयोग गर्दै अघि बढ्ने हो भने हामी जस्तो सानो देशले छलाङ मार्न धेरै वर्ष कुर्नु पर्दैन । हाम्रो देशलाई अरू कुनै विदेशीले आएर बनाइदिन्न । यसलाई हामी आफैले बनाउनु पर्छ । त्यसैमा हाम्रो पौरख लुकेको छ । त्यसैमा हाम्रो गौरव लुकेको छ ।