तीर्थ प्रसाईं | दृष्टिकोण | बैशाख १५, २०७७
कोभिड १९ लाई हेर्ने सकारात्मक धारणा र सकारात्मक तरिका खोज्दैछु, केहिदिन यता कोरोनालाई नकारात्मक रूपमा हेर्न छोडेको छु । लकडाउनमा कतै ननिस्की होम क्वारेन्टाइनमा बसेको एक महिना नाघेर पनि पहिलो साता चल्दैछ, कोरोना महामारीलाई सकारात्मक रूपमा हेर्न बानी नगरे र जहिले यति सङ्क्रमित भए, यति मरे मात्र भनेर बस्ने हो भनेँ जो कोही पनि मानसिक रूपमा बिरामी बन्छ भन्ने कुरालाई मनन गर्दै यसलाई कसरी सकारात्मक रूपमा लिने भन्ने कुरालाई मुख्य लक्ष्य बनाएको छु ।
मान्छे निरन्तर यति सङ्क्रमित भए यति मरे मात्र भनेको सुन्दा वाक्क लाग्छ, यसलाई थप सोच्दै लैजाँदा र विकसित देशहरू समेत यसबाट हायलकायल भएको देख्दा कुनै पनि सामान्य मान्छे त्रसित र निराश महसुस गर्नु एकदमै सामान्य कुरो हो । यस किसिमको महसुसलाई कायम रहन नदिनु मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण छ । मिडियाले लकडाउनको गरिब, बेरोजगार र मानसिक रोगीहरूको सङ्ख्यामा उच्च वृद्धि भएको लेखिरहेको बेला मनलाई सकारात्मक फ्रेममा राख्नु आवश्यक छ ।
त्यसैले हिजोआज तथ्याङ्क हेर्दा पनि कति मरे भनेर हेर्दिन, कति निको भएर घर फर्के भनेर हेर्छु र कोरोना जितेर घर फर्केका मान्छेका खुसी र तिनले कोरोना सङ्क्रमणको उपचारलाई कसरी लिए भनेजस्ता अनुभवहरू हेर्छु ।
बाग्लुङकी वर्ष ६५ कि मनकुमारी पौडेलले तातोपानी, आइसोलेसन र उच्च मनोबलका कारण कोरोनालाई सहजै जितिन् । उनी पहिले नै प्रेसर र दमको 'क्रोनिक' रोगी थिइन । सबैले यस्तो रोग लागेकोलाई त अझ कोरोनाले धेरै गाह्रो पार्छ भन्ने गर्दथे । उनलाई अस्पताल भर्ना हुँदा निको हुन्छु र घर फर्कन्छु भन्ने लागेको थिएन ।
रिपोर्ट अनुसार मनकुमारीको अनुभव यस्तो देखिन्छ-'घरपरिवार साथीभाइ, अस्पतालका डाक्टर र नर्सहरू सबैले निको हुन्छ नआत्तिनु भनेर हौसला दिन्थे । यो भाइरसको औषधी नभए पनि आत्मबल दह्रो बनाएर रोगसँग लड्ने क्षमता बढायो भने चाँडै निको हुन्छ भनेर सबैले सम्झाउँथे ।
कोरोना भाइरस लागेर १७ दिन धौलागिरि अञ्चल अस्पतालमा बसेँ । त्यो बिचमा मैले पहिलेबाटै खाइरहेको दम र प्रेसरको औषधीदेखि बाहेक कुनै औषधी सेवन गरिन्न । सबैले यो भाइरस तातोले मर्छ भनेको सुनेको थिएँ । मलाई पनि यो भाइरसलाई तातो पानीले नै मार्छु भन्ने लाग्यो । अस्पतालमा डाक्टर नर्सहरूले गरेको सेवा र यहाँको सरसफाइको कारणले गर्दा पनि मलाई निको हुन्छु भन्ने लाग्न थालिसकेको थियो ।
नेपाल धनी मुलुक होइन, यहाँ गरिबको सङ्ख्या बढी छ, गरिबहरूलाई मर्नका लागि कोरोना नै आउनु पर्ने पनि होइन ! सकारात्मक बनौँ, चाहिने नचाहिने नकारात्मक समाचार नहेरौँ, तातोपानी खाँदै एकान्तमा बसौँ, सरकार जोगाऔँ, यो कोरोना पाहुना हो, आउँछ, जान्छ, त्यसको कुनै मतलब भएन । पाहुनालाई आफ्नो घर बिगार्न दिने कि नदिने त हामीमा भर पर्ने कुरो हो ।
डाक्टर र नर्सहरूले चिसो खानेकुरा केही पनि नखानु, तातो पानी खानु भनेर सल्लाह दिन्थे । आफैँ तातो पानी तताउँथे । दिनको ५ लिटरसम्म तातोपानी खाएँ । तातोपानीले छाती सेक्ने, उसिनेर मात्र फलफूल खाने, शरीरलाई फाइदा नगर्ने, डाक्टरले नगर्नु, नखानु भनेको सबै कुरा मानेँ ।
'मैले कोरोनाको उपचार तातो पानीले नै गरेँ ।'
मनकुमारी थप भन्छिन् - 'छोराबुहारी, छोरीज्वाईं, नातिनातिना र अरू सबै आफन्त साथीभाइ म निको भए भनेर सारै खुसी थिए ।'
अस्पताल बसाइको अन्तिम रात मलाई अझै सय वर्ष बाँच्छु जस्तो लागेको थियो । त्यो रात बितेर कतिखेर अर्को दिन आउला । र, घर जान पाउँला भन्ने खुसीले रातभर राम्रोसँग निदाउन पनि सकिन्न । भोलिपल्ट साँझतिर मेरो चौथो रिपोर्ट पनि राम्रो आएछ । डाक्टरले फोनबाटै सुनाए । अब भने म पूर्णरुपमा कोरोना भाइरसको कब्जाबाट बाहिर निस्किएकी थिएँ । तुरुन्तै छोराको पनि फोन आयो हामी लिन आउँछौँ, तयार भएर बस्नु भनेर ।
'मलाई त त्यहीबेला बाहिर निस्किएर गीत गाउँदै नाचौँ जस्तो भयो । भौतिकरुपमा बाहिर निस्किएर नाच्न त पाइन्न । तर मेरो मन भने खुसीले नाचिरह्यो ।'
यो समाचार रिपोर्ट पढ्दा जो कोही पनि सकारात्मक बन्न सक्छ । तातोपानी,आत्मबल, आइसोलेसन/लकडाउन गरेर तीन वटा कुरा तालमेल गर्न सक्ने मान्छे कोरोनाबाट मर्दैन । यी तीन वटा औजार बेल्जियमबाट फर्किएकी बाग्लुङकी ६५ बर्सिया दम र प्रेसरकी रोगी मनकुमारी पौडेलको कोरोना जितेको खुसी, सन सिटीकी ८१ बर्सिया बृद्धाले आमाको मुख हेर्ने पर्व मातातीर्थ औँसीकै दिन कोरोना जितेको खुसी, बीरगंजमा व्यवसाय गरेर बस्ने लम्की चुहा–१ लम्की भुरुवाकी दमकी रोगी ६१ बर्सिया पानादेवी विकको कोरोना जितेर फर्किएको खुसी हेर्दा सकारात्मक हुन सकिने पर्याप्त ठाउँ छन् ।
नेपालसँग कोरोना जित्ने अस्त्रहरू पनि पुरापुर छन्; नेपालीहरूसँग आत्मविश्वासको कमी छैन, नेपालीहरू जंकफुड भन्दा घरमै बनाएको आँटो पीठो खान्छन्, तिनको खान्कीमा पनि त्यत्ति समस्या छैन, नेपालमा तातोपानी र लकडाउन/आइसोलेसन दुवै अस्त्र उपलब्ध छन् ।
थप कुरो, कोसी अञ्चल अस्पतालमा अब कोरोना सङ्क्रमितलाई खाना पुर्याउन महावीर पुनको अनुसन्धान केन्द्रमा बनेको रोबट प्रयोग गरिने भएको छ । आइसोलेसन भनेको आइसोलेसन नै हो, त्यही हुनुपर्छ, त्यहाँ मान्छे किन जानु ? रोबट गएपछि भइहाल्छ, तातोपानी र खाना, सरसफाइका टिप्स पठाइदिएपछि काम सकिन्छ । यसरी सही अर्थमा, विश्वमा अन्त कतै प्रयोग नभएको विधिबाट कोरोना उपचार गर्न पनि नेपाल अब्बल हुँदै गएको छ ।
कोरोना विरुद्ध लड्न आइसोलेसनमा बसेका व्यक्तिहरू बरु औलोले सङ्क्रमित भएका समाचार आएका छन्, अब केही समय पछि वर्षा सुरु हुन्छ र बाढी आउँछ । आइसोलेसन सेन्टरहरू डुबानमा पर्न सक्छन्, यी हाम्रा सधैँ आई राख्ने समस्या हुन्, त्यही बेला सरकारमा गडबडी आउन सक्छ, सरकार पनि बचाउनु पर्छ, यस्ता मुलुक जहिले ग्रसित गर्ने समस्यामा मात्र ध्यान दिए पिन यो पाहुना रोग कोभिड १९ आफैँ परास्त हुन्छ । हामीसँग कोरोनालाई जित्ने औजारको कुनै कमी छैन ।
सत्ता पक्षले आफ्नो सत्ता जोगाउन भरमग्दुर प्रयास गरेको छ, त्यो पनि कोरोनाको उपचारको लागि आवश्यक कुरो हो, प्रतिपक्ष नेपाली काँग्रेसले वेब एप बनाएर फटाफट कोरोना लागे नलागेको भन्दिन्छ, त्यो कोरोना नियन्त्रणका लागि अर्को सुझबुझपूर्ण कार्य हो । जनतासँग तातोपानी, आत्मविश्वास र आइसोलेसन छ, हामी कुनै पनि हिसाबले कोरोनाले कसैको पनि रौँ उखेल्न नसक्ने अवस्थामा छौँ । यस्तो अवस्थामा कोरोना प्रति नकारात्मक बन्नुपर्ने कुनै ठाउँ देखिन्न ।
कोरोना सङ्क्रमण भएर बिरामी परेकाहरू घर फर्कनेको सङ्ख्या उच्च छ, नेपालमा जम्मा ५१ जना सङ्क्रमित देखा पर्दा १६ जना त निको भएर घर नै फर्किसके । कोही पनि प्याक प्याक गर्दै मुख बाएर पानी पानी भन्नुपर्ने वा मर्नुपर्ने अवस्था छैन । कोरोनाको बारेमा नकारात्मक समाचारको लागि जिम्मेवार मिडिया हुन्, तिनले यस्ता सकारात्मक कुराहरूमा जोड दिए आम मानिसलाई बडो सजिलो हुन्थ्यो, लकडाउन सुरु भएपछि मान्छे सडक दुर्घटनाबाट समेत मर्न छोडेका छन्, मुलुक झन् झन् सहज बन्दै गएको छ । सरकारले ८० करोड बराबरको राहत बाँडिसकेकोले गर्दा कोही भोकले छटपटिएको र मरेको समाचार पनि आएका छैनन् ।
मित्र कुसुम ज्ञवाली लेख्नुहुन्छ- विश्वको जनसङ्ख्या ७.५ अरब छ। विश्वको औसत मृत्युदर ०.६५ प्रतिशत छ अर्थात् हरेक वर्ष ४८ करोड मान्छे मर्छन् । यस हिसाबले हरेक महिना ४ करोड मान्छे विश्वमा मरिरहेका छन्। यसै हिसाबबाट हेर्दा हरेक दिन साढे १३ लाख जति मान्छे मरिरहेका छन् । हरेक वर्ष विश्वमा औसतमा १६ लाख मान्छे झाडापखालाले मर्छन्। अर्थात्, सजिलो भाषामा भन्दा पिउन योग्य पानीको र जीवनजलको अभावमा हरेक महिना विश्वमा सवा लाख मानिस मर्छन् । हरेक दिन ५ हजार मानिस मर्छन् । हरेक वर्ष विश्वमा १३ लाख मान्छे मलेरियाले मर्छन् । सजिलो भाषामा भन्दा लामखुट्टेको टोकाइका कारण। एउटा झुलको अभावमा हरेक महिना विश्वमा एक लाख मर्छन्, हरेक दिन ३ हजार मानिस मारिन्छन् ।
उहाँको तर्क छ, खानेपानी, झुल आदिको अभाव भएर धनी वर्गका मान्छे कोही मर्दैनन्, त्यसैले जति मान्छे मरे पनि धनी वर्ग चुपचाप बस्दै आएका थिए, उनीहरू कोरोनाबाट अतालिएर चौपट हल्ला गरिरहेका छन्, किनभने उनीहरूले कोभिड १९ ले वर्ग नहेरी धनी वर्गका मान्छे समेत मार्न थालेको देखे । अधिकांश यस्तो हल्ला गर्ने मिडिया धनी वर्गको हातमा हुन्छन् र आफूलाई आई लागेको आतङ्कलाई उनीहरू ठुलो पारेर देखाउने गर्छन्, नत्र त कोरोनाले भन्दा बढी त अन्य रोगले पनि मरेकै थिए, तर त्यस्ता रोगले आफूलाई नछुने भएकोले उनीहरू अरू बेला चुपचाप बस्ने गर्थे ! रोग वा महामारीले पृथ्वीमा मान्छे मरेको यो मात्र पहिलो पटक होइन, मिडियाको लागि कुन वर्गको मान्छे मर्दैछ त्यो महत्त्वपूर्ण हो ।
नेपाल धनी मुलुक होइन, यहाँ गरिबको सङ्ख्या बढी छ, गरिबहरूलाई मर्नका लागि कोरोना नै आउनु पर्ने पनि होइन ! सकारात्मक बनौँ, चाहिने नचाहिने नकारात्मक समाचार नहेरौँ, तातोपानी खाँदै एकान्तमा बसौँ, सरकार जोगाऔँ, यो कोरोना पाहुना हो, आउँछ, जान्छ, त्यसको कुनै मतलब भएन । पाहुनालाई आफ्नो घर बिगार्न दिने कि नदिने त हामीमा भर पर्ने कुरो हो ।