गुरु मैनाली | दृष्टिकोण | बैशाख १९, २०७७
कोरोना भाइरसको प्रकोप सुरु भएको चार महिना बितेको छ। सुरुमा यसको उत्पत्तिका बारेमा नै विभिन्न शङ्का उपशङ्का उत्पन्न भए ।
यसका विभिन्न कारणहरू रहेका छन् ।
एकाथरिले कोरोनाको महामारी उहानको प्रयोगशालाबाट यो बाहिरिएको तर्क अगाडि सारे । उनीहरूको तर्क थियो -उहान सहर भित्र सङ्क्रामक रोगका बारे अनुसन्धान गर्ने प्रयोगशाला हुनुलाई नै आधार देखियो। अमेरिकीहरूले कोरोना भाइरसलाई 'चीनको जैविक हतियार' भनेर प्रचार गरे। यसरी हल्ला गर्नेमा फक्स न्युजका सञ्चालक टुडोर कार्लसनल पनि एक हुन। उनको तर्क थियो-'उहान प्रयोगशालाबाट आकस्मिक रूपमा बाहिरियो।'
रिपब्लिकन सिनेटर टम कटन र टेड क्रुजले पनि सोही आशङ्कालाई बल पुग्ने खालका तर्क अघि सार्ने काम गरे। अप्रिलको मध्यतिर बासिङटन पोस्टले एउटा समाचार प्रकाशित नै गर्यो । जसमा सन् २०१८ मा चीनका लागि अमेरिकी दूतावासका कूटनीतिज्ञले उहान सङ्क्रामक रोग अनुसन्धान केन्द्रको पटक पटक निरीक्षण गरेको र त्यहाँको सुरक्षा व्यवस्था फितलो रहेको रिपोर्टको अपुष्ट समाचारलाई स्थान दियो । केही भारतीय टेलिभिजनहहरुले पनि यही कुरालाई पटक पटक प्रसारित गरिरहे।
अर्कातिर चीनियाहरु पनि अमेरिकासँग पहिल्यै देखि सशङ्कित थिए। उनीहरू अमेरिकी सैनिकहरूद्वारा कोरोना भाइरस उहान पुर्याइएको आशङ्का गर्दथे। किन कि नोभेम्बरमा उहानमा संयुक्त सैनिक अभ्यास भएको थियो जहाँ अमेरिकी सेनाहरू पनि सहभागी थिए।चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले १२ मार्चमा सम्भवत अमेरिकी सेनाले त्यो भाइरस उहान ल्याएको हुनुपर्छ भनी ट्विट नै गरे।
रुसी वैज्ञानिक इग्नोर निकुलिन पनि यो भाइरस अमेरिकाले चीन ल्याएर छोडेको विश्वास गर्छन्।
यो त भयो संसारभरै प्रचलनमा रहेको 'षड्यन्त्रको सिद्धान्त' (Conspiracy Theory) यसले कतिसम्म गर्छ भन्ने कुराको एउटा राम्रो उदाहरण दिन सकिन्छ ।
सन् १९८१ मा भारतबाट प्रकाशित हुने 'दि प्याट्रियोट'ले एड्सलाई अमेरिकी पेन्टागनले तयार गरेको जैविक हतियार भनी समाचार प्रकाशित गर्यो। यो जैविक हतियार सिआइएले समलिङ्गी र अफ्रिकन अमेरिकनहरूको समूल नष्ट गर्न निर्माण गरेको मान्दछन्। यहाँसम्म कि दक्षिण अफ्रिकाका १९९९ देखि २००८ सम्म राष्ट्रपति रहेका थावो एमविकी तथा केन्याली नोवल शान्ति पुरस्कार प्राप्त व्यक्ति वाङ्गारी माथाइ पनि एचआइभी/एड्स अमेरिकी सैन्य प्रयोगशालामा निर्माण गरिएको विश्वास गर्छन्। अझै पनि २० प्रतिशत अफ्रिकीहरू एड्स अफ्रिकीहरू विरुद्धको अमेरिकी षडयन्त्रको रूपमा लिन्छन्। जो सत्य होइन।
तर पनि राजनीतिज्ञहरू बेलाबेलामा आफ्नो स्वार्थ सिद्ध गर्नका लागि यस्ता हल्लाहरूको सहारा लिने गर्छन्। यस्ता हल्लाहरूले समाजमा रहेको एक अर्काप्रतिको अविश्वासको वातावरण सृजना गर्दछ। अमेरिका र चीन बिचको व्यापार द्वन्द्व र आसन्न अमेरिकी राष्ट्रपतिको चुनावले पनि यसमा प्रभाव पारेको छ।
तर वैज्ञानिकहरू भने जीन समूहको अध्ययनबाट भाइरस प्रयोगशालामा निर्माण गरिएको हो कि ? जनावरबाट आएको हो ? भन्ने पत्ता लाग्ने बताउँछन्। अहिले देखिएको नोवल कोरोना भाइरस पनि यस अघिका सार्स र मर्स भाइरसजस्तै चमेराबाटै आएको हुनुपर्छ भन्ने मान्यता राख्छन्। सार्स चमेरोबाट जङ्गली बिरालोमा र पछि जङ्गली बिरालोबाट मानिसमा सरेको विश्वास गर्छन्। त्यस्तै मर्स पनि चमेरोबाट उँटमा र उँटबाट मानिसमा सरेको विश्वास गरिन्छ। अहिलेको नोवल कोरोना भाइरस पनि चमेरोबाट सालक र सालकबाट मानिसमा आएको अनुमान गरिएको छ। यस्तो विश्वास गर्नुको कारण ९० प्रतिशत भन्दा बढी जीन समूह चमेरोसँग मिलेको दाबी गरिएको छ ।
तर अहिले कोभिड-१९ को राजनीतिकरण सुरु भैसकेको छ। उनीहरू आफ्नो असफलता अरू कसैको थाप्लोमा थोपरेर आफू चोखो बन्न चाहन्छन्। यसरी महामारीको विरुद्धमा सबै एकजुट हुनुपर्ने बेलामा एक अर्काप्रति शङ्का उपशङ्का थपिदा कोभिड १९ को उपचार त प्रभावित हुने होइन भन्ने प्रश्न पनि सँगै उब्जिएको छ।
अहिले पनि राष्ट्रपति ट्रम्प कहिले चीनलाई गाली गर्छन्। कहिले विश्व स्वास्थ्य सङ्गठनलाई दोषी मान्छन्।कहिले आफ्नै देशका जनतालाई भड्काउँछन्। राज्यका गभर्नरहरू विरुद्ध राज्यहरू स्वतन्त्र गर भनेर भाषण गर्छन्। उनी आफ्नो नालायकी पनको दोष थोपार्न कुनै बलिको बोका खोजी गरिरहेका छन्। अभिलाषा शर्माले अमेरिकाबाट सेतोपाटिको आफ्नो लेखमा ठिकै भनेकी छन् 'शासक अदूरदर्शी, जिद्दी र महामूर्ख भयो भने अमेरिका जस्तो शक्तिशाली राष्ट्रको पनि यो हविगत हुने रहेछ।'
विभिन्न देशहरूले कोभिड १९ विरुद्ध फरक फरक रणनीति अख्तियार गरेका छन्।
चीनले कोरोना भाइरसको महामारीलाई पूर्ण नियन्त्रणको नीति लियो। उसले उद्गमस्थल उहानलाई पूर्णरुपमा बन्दा बन्दी गर्यो। हिँडडुल गर्न प्रतिबन्ध लगायो। सबै नागरिकलाई घरमै बस्न भन्यो र आफ्नो पूर्ण बल यसको नियन्त्रणमा लगायो। फलस्वरूप भाइरस माथि सफलता हासिल गरिसकेको छ।
तर अर्का थरी महामारीको यस प्रकारको नियन्त्रण प्रत्युत्पादक हुन्छ। त्यसैले महामारीको नियन्त्रण गर्ने होइन व्यवस्थापन मात्र गर्ने हो भन्ने रहेको छ। उनीहरूले महामारीलाई नियन्त्रित रूपमा आउन दिने । त्यसले केही मानिसको मृत्यु त हुन्छ तर धेरै मानिसहरूमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ र फेरि महामारी दोहोरिएर आउन पाउँदैन भन्ने विश्रवास रहेको छ। अमेरिका, युरोपका देशहरूले यस्तै भिड प्रतिरक्षा (Herd Immunization) मा विश्वास गरे। उनीहरूले आफ्नो विचारलाई पुष्ट्याइ गर्नका लागि प्रजातान्त्रिक हक र व्यक्तिगत स्वतन्त्रताका कुरा गरिरहेका थिए ।
जब पश्चिमाहरूको यो विश्वास त्यतिखेर खण्डित भयो मार्च १६ का दिन जब इम्पेरियल कलेज लन्डनको गणितीय मोडलले कोभिड-१९ नियन्त्रणका लागि अन्य प्रयास नहुने हो भने बेलायतमा दुई लाख ५० हजार देखि ५ लाखसम्म मानिसहरूको मृत्यु हुने र अमेरिकामा २२ लाख अमेरिकीहरूको ज्यान जान सक्ने भविष्यवाणी गर्यो।त्यसपछिमात्र पश्चिमाहरूले बल्ल सामाजिक दुरीका नियमहरूलाई कडाइका साथ पालन गर्न र मार्च २३ तारिख देखि लकडाउनमा जाने घोषणा त गरे । तर यति खेरसम्ममा समय धेरै नै घड्की सकेको थियो।
दक्षिण कोरियाले चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुने बित्तिकै आफ्नो सहयोगी हात चीनतिर फैल्यायो। सुरुमै भाइरसको जीन समूह र त्यसको परीक्षण विधिबारे जानकारी हासिल गर्यो। तर उसले आफ्नो देशमा चीनको भन्दा भिन्न तरिका अपनायो। उसले सामाजिक दुरीका बारेमा जनतालाई सचेत गरायो। सङ्क्रमित व्यक्तिको पहिचान गर्ने, परीक्षण गर्ने, सम्पर्कित व्यक्तिहरू खोज्ने, सङ्क्रमित व्यक्तिहरूलाई अलग राख्ने र उपचार गर्ने नीति लियो। हजारौँको सङ्ख्यामा दैनिक रूपमा परीक्षण गरिए। सङ्क्रमित व्यक्तिहरूको पहिचान र सम्पर्कित व्यक्तिहरूको बारेमा जानकारी लिन र दिन सूचना प्रविधिको अधिकतम उपयोग गर्यो। सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई उसले परीक्षणका लागि परीक्षण केन्द्रमा सम्पर्क राख्न सूचित गर्यो। फलस्वरूप उसले बन्दा बन्दी विना नै कोरोना नियन्त्रण गर्न सक्षम भयो। हाल दक्षिण कोरियामा स्थानीय सङ्क्रमितको सङ्ख्या शून्य छ।
अमेरिका सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित र मृत्यु हुनेहरूको भएको देश हो। अमेरिकाले यो महामारीलाई सुरुमा सारै हल्का ढङ्गले लियो। अमेरिकी राष्ट्रपतिले यसलाई सामान्य भाइरस भएको र अप्रिलमा गर्मी सुरु हुने बित्तिकै यो हराएर जाने तर्क गरे। (फेब्रुअरी ७ र फेब्रुअरी१७)। जब कि विश्व स्वास्थ्य सङ्गठनले सोही समयमा यो गर्मी तथा आद्र सबै मौसम भएका सबै ठाउँमा फैलिनसक्ने चेतावनी दिइरहेको थियो।
फेब्रुअरी२७ मा ट्रम्पले यो प्रकोप अस्थायी हो एक दिन यो आश्चर्यजनक रूपमा हराएर जानेछ भनिरहेका थिए। तर एन्थोनी फाउची एक दुई हप्ता भित्रै यसको समुदायमा भएको सङ्क्रमणको नतिजा देखा पर्न थाल्नेछ भनिरहेका थिए। मार्च २३, २४ र २९ मा पनि अमेरिकी राष्ट्रपति यदि हामीले आर्थिक क्रियाकलाप बन्द गर्यौ भने कोरोना भाइरसले मर्ने भन्दा बढी सङ्ख्या आत्महत्या गर्नेको हुनेछ भन्दै थिए। ट्रम्प एक पछि अर्को गल्ती गर्दै गए।तर उनलाई रोक्ने तागत कसैसँग देखिएन। संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मार्चको मध्यतिर सामाजिक दुरी कायम गर्न सिफारिस गर्यो तर पालना भएन।
अप्रिल ३ को ह्वाइट हाउसको पत्रकार सम्मेलनमा फाउची अमेरिकी जनतालाई मास्कको प्रयोग गर्न सिफारिस गर्यो ट्रम्पले उत्तीनै खेर तपाइहरूले मास्क लगाइरहन जरुरी छैन म त लगाउँदिन सम्म भन्न भ्याए। जब जनसमुदायमा फरक फरक सन्देश जान्छ। मान्छेहरूमा भ्रम पैदा हुन्छ र मानिसहरू भनेको मान्न छोड्छन्। अमेरिका त्यसको राम्रो उदाहरण हो। उसले विश्वका अन्य देशले के कस्ता प्रयास गरेका छन् त्यसबारे जानकारी लिन सम्म पनि चाहेन। सर्व शक्ति सम्पन्न मुलुक हुनुको घमण्डले उसलाई अरूसँगको सहकार्य गर्न दिएन।
अमेरिकी वैज्ञानिकहरू यो रोगका बारेमा त्यति धेरै अनभिज्ञ होलान् भन्ने मलाई एक रत्ती पनि विश्वास छैन। तर अमेरिकाको विज्ञानले राष्ट्रपतिका अगाडी घुँडा टेक्यो। अमेरिकी राष्ट्रपतिलाई भने नोभेम्बरको राष्ट्रपतिको चुनावको चिन्ता थियो। अरू सबै मुलुकहरू कोरोना विरुद्धको लडाइमा होमिएको बेला अमेरिका कानमा तेल हालेर बस्यो। न त परीक्षण किट, न त मास्क, न त व्यक्तिगत सुरक्षा सामग्री नै उसले भेला गर्ने कोसिस गर्यो। भेन्टिलेटरको अभाव भयो। यहाँसम्म कि सहयोगी राष्ट्रहरूले खरिद गरेका सामग्रीहरू एयरपोर्टबाटै लुटेर आफ्नो देशमा लैजाने हर्कत नै गर्यो।अहिले पनि अमेरिका हरेक दिन चीनलाई गाली गरिरहेको छ र उसैको देशबाट ल्याएका भेन्टिलेटर, मास्क र व्यक्तिगत सुरक्षा सामग्रीहरूको प्रयोग गरेर बिरामीको उपचार भने गरिरहेको छ।
अहिले पनि राष्ट्रपति ट्रम्प कहिले चीनलाई गाली गर्छन्। कहिले विश्व स्वास्थ्य सङ्गठनलाई दोषी मान्छन्।कहिले आफ्नै देशका जनतालाई भड्काउँछन्। राज्यका गभर्नरहरू विरुद्ध राज्यहरू स्वतन्त्र गर भनेर भाषण गर्छन्। उनी आफ्नो नालायकी पनको दोष थोपार्न कुनै बलिको बोका खोजी गरिरहेका छन्। अभिलाषा शर्माले अमेरिकाबाट सेतोपाटिको आफ्नो लेखमा ठिकै भनेकी छन् 'शासक अदूरदर्शी, जिद्दी र महामूर्ख भयो भने अमेरिका जस्तो शक्तिशाली राष्ट्रको पनि यो हविगत हुने रहेछ।'
त्यस्तै इटलीले यो भाइरसबारे सुरुमै बुझ्न ढिलाइ गर्यो । कारण थियो- विश्वको सबैभन्दा राम्रो स्वास्थ्य सुविधा भएको देशको घमण्ड थियो उसलाई । भाइरसको प्रकोप फैलिइरहँदा त्यहाँ फुटबल खेल भइरहेका थिए। अन्य खेलकुद गतिविधि पनि भइरहेका थिए। स्वास्थ्य मन्त्रीले आफ्ना मन्त्रिमण्डलका सदस्यहरूलाई समेत यसको गम्भीरताबारे बुझाउन सकिरहेका थिएनन्। जनतालाई कसरी बुझाउन सकुन्। सबैलाई थाहा छ इटलीको केन्द्र र क्षेत्र बिचको सम्बन्धको श्रृखंला पनि टुटेको छ। उता सरकार मानिसहरूलाई सामाजिक दुरी कायम गर्न भनिरहेको थियो सत्तारुढ पार्टीकै एक उच्च नेता भने हामीले हाम्रो आदत परिवर्तन गर्न हुँदैन भनिरहेका थिए।
स्पेनमा कोरोना भाइरसको प्रकोप फैलिरहँदा त्यहाँ फुटबल खेलहरू भइरहेका थिए। जुन खेल हेर्न लाखौँ दर्शकहरू भेला भएका थिए। मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसमा लाखौँको सङ्ख्यामा मानिसहरू स्पेनको राजधानीमा भेला भएका थिए। त्यही बेला त्यहाँको दक्षिणपन्थी पार्टीको जुलुस पनि भइरहेको थियो।युरोप यो समय फुटबल र अन्य खेलकुद हुने समय हो । यहाँ थुप्रै फुटबल खेलहरू भइरहेका थिए। अन्य खेलकुद प्रतियोगिताहरू आयोजना गरिएका थिए। धार्मिक भेलाहरू भइरहेका थिए। त्यसले पनि स्पेनको अवस्था बिगार्न सहयोगी बन्न पुग्यो । सरकारले बन्दा बन्दीको घोषणा त गर्यो तर मानिसहरू निर्विघ्नसँग सहरमा डुलिरहेका थिए।
जर्मनीको अवस्था अरू युरोपियन मुलुकको भन्दा धेरै राम्रो छ। यसको श्रेय यहाँको नेतृत्व गर्ने चान्सलर एन्जिला मार्केललाई जान्छ। उनी आफै पनि एक वैज्ञानिक हुन्। उनले यसको सम्पूर्ण जिम्मा चिकित्सकहरूलाई दिइन्। महामारीको प्रकोप सुरु नहुँदै उनले जर्मनीका ६० प्रतिशत मानिसहरू कोरोना सङ्क्रमित हुनसक्ने भनेर सचेत गराइन्। सामाजिक दुरी कायम गर्न निर्देशन दिइयो। बढी भन्दा बढी व्यक्तिहरूको कोरोना सङ्क्रमण परीक्षण गरियो र सङ्क्रमितहरूलाई अलग गर्ने, उपचार गर्ने र सम्पर्कसित व्यक्तिहरू पहिचान गर्ने काम गरियो। सङ्क्रमितहरूलाई अस्पताल भर्ना गरियो जसले गर्दा कुनै पनि किसिमको जटिलता पैदा हुन पाएन।
जर्मनीको स्वास्थ्य सेवा पनि निकै नै राम्रो छ। त्यहाँ आवश्यक सङ्ख्यामा भेन्टिलेटरहरूको उपलआधता रहेको छ । मास्क उपलब्ध छन्। व्यक्तिगत सुरक्षा सामग्रीहरू छन्। सकेसम्म धेरै व्यक्तिहरूको परीक्षण गर्ने र सङ्क्रमित व्यक्तिहरूलाई अलग राख्ने काम उनीहरूले कोरियाबाट सिकेका थिए।
सुरुमा बेलायतले पनि निकै गल्ती गर्यो तर जब युवराज चार्ल्स र प्रधानमन्त्री बोरिस जोन्सन स्वयम सङ्क्रमित भए त्यसपछि भने बेलायतले सही दिशा समात्यो। तर पनि उनीहरूले स्वास्थ्यकर्मीका लागि पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्री र मास्क तथा भेन्टिलेटरहरू व्यवस्था गर्न सकेनन् जसका कारण बेलायत निकै आलोचित समेत भयो।
तर कहिल्यै नसुध्रिने स्थितिमा भने ब्राजिलका राष्ट्रपति जागेर बोल्सोनारो र बेलारुसका राष्ट्रपति रहेका छन्। राष्ट्रपति बोल्सोनारले महामारीको जोखिमलाई बुझ्न सकेनन्। उनका प्रशासनका दुई दर्जन व्यक्तिहरू सङ्क्रमित भैसकेका छन्। स्वास्थ्य मन्त्री र अधिकांश गभर्नरहरू कडा कदम चाल्न अनुरोध गर्दै आएका छन्। स्वास्थ्य मन्त्री र अधिकांश गभर्नरहरू सामाजिक दुरी कायम राख्न र व्यापार व्यवसाय बन्द गर्नुपर्ने भन्दै आएका छन्। तर उनी यस्तो प्रतिबन्धले बेरोजगारी बढ्ने र आर्थिक कठिनाइ उत्पन्न हुने तर्क दिइरहेका छन्। उनी आफ्ना समर्थकसँग हात मिलाइरहेका छन् भीड जम्मा गरिरहेका छन् । ब्राजिलको राष्ट्रपतिलाई जहाँ पनि जाने संवैधानिक अधिकार रहेको कुरा बताइरहेका छन्। हालै उनले स्वास्थ्य मन्त्रीलाई बर्खास्तै गरेका छन् ।
साओ पाउलोका मेयर ब्रुनो कोभास भन्छन् 'हामीले एकै समय दुईटा भाइरससँग लडाइ लड्नु परेको छ एउटा कोरोना र अर्को बोल्सोनारो भाइरस' ब्राजिलको अवस्था बुझ्न यत्ति नै काफी छ।
बेलोरुसका राष्ट्रपति आफूले कोरोना भाइरस नदेखेको बताउँछन् र त्यहाँ हुने खेलकुद कार्यक्रमहरूमा सहभागिता जनाउँछन्।
हाल भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। त्यसो हुनुको कारण जमातिहरु हुन भन्ने गरिएको छ। सरकार प्रतिको अविश्वासले मानिसलाई कतिसम्म भेडो बनाउँछ भन्ने कुराको उदाहरण जमाति समूह हो। यो समूह सरकारका कुनै कुरालाई पनि विश्वास गर्न राजी छैन। सरकारलाई आफ्नो यात्रा विवरण भन्दैनन् बरु मर्न तयार छन् तर यसो गर्दा उनीहरू आफू र आफ्ना परिवारलाई सङ्कटमा पारिरहेका छन् भन्ने मान्न तयार छैनन्। भारतमा केन्द्र सरकार र राज्य सरकार बिचका मतभिन्नताहरू पनि बाहिर आइरहेका छन्। कतिपय ठाउँमा सरकारले बन्दा बन्दीलाई लागू गर्न र सामाजिक दुरी कायम गराउन सकिरहेका छैनन्।
नेपालमा अनावश्यक रूपमा ल्याइएको अध्यादेशले राजनीतिक दलका बिचको दुरी बढाएको छ। नेकपाभित्र त यसले शक्तिसंघर्षलाई तेज गरेको छ। यसको प्रत्यक्ष असर बन्दा बन्दी, सामाजिक दुरी कायम गर्ने कुरामा र बन्दा बन्दीको अवस्थामा जरुरत मन्द व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने काममा बाधा पुर्याउँछ। कोरोना प्रकोपको नियन्त्रणका लागि गर्नुपर्ने पूर्व तयारीमा समेत बाधा पुर्याउँछ।
अहिलेको बेला सबै राष्ट्र, सबै जाति, सबै धर्मावलम्बीहरू एक जुट भएर यो महामारी विरुद्ध लड्नु पर्ने बेलामा यस्ता मत भिन्नताले महामारी नियन्त्रणको प्रभावकारितामा असर पार्छ। महामारी नियन्त्रणमा असर पर्नु भनेको मानवीय क्षति हुनु हो। हामी जति चाँडो यो कुरा बुझ्छौ त्यति नै मानवीय तथा आर्थिक क्षतिलाई कम गर्न सक्छौ।