प्रा.डा. विष्णु राई | लोकरञ्जन | जेठ ०१, २०७७
'जुनेली रातमा साटेको रुमाल खोइ कता झरेछ
बादल भित्र सुस्तरी बोल्दा सबैले सुने छ । '.........
यो मेरो रचना भएको गीत रेडियो नेपालमा २०५३ सालमा रेकर्ड भएको हो । वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले सङ्गीत गर्नु भएको छ यस गीतमा । गीतमा स्वर वरिष्ठ गायक लाक्पा सेर्पाको रहेकाे छ। यो गीतको सृजना गर्ने क्रममा साथीहरूले महत्त्वपूर्ण योगदान गर्नु भएको छ । नेपाली गीतको मैदानमा यो गीतले विशेष स्थान पाएको छ भन्ने मेरो ठम्याई छ ।
गीतलाई कसरी मनन गर्ने त्यो मानिसको बौद्धिक क्षमतामा भर पर्छ । कसैले सामान्य भन्लान् कसैले संसार देख्लान् । गीत अन्य साहित्य भन्दा छिटो मनलाई समात्ने विशिष्टता काव्य हो । तुरुन्त हरेक 'स्पेसिस'लाई स्पर्श गर्छ | मौलिक विशेषता गीतभित्र अदृश्य लुकेको हुन्छ । गीतले समाजको हरेक क्षेत्रलाई प्रभाव पार्दछ जस्तो मन, क्रान्ति, प्रेम, सद्भाव, माया, आदर्श, प्रगति, परम्परा ,त्यति मात्र होइन सुख दुखको समवेदना प्रकट हुन्छ । अम्बर गुरुङले भन्नुहुन्थ्यो- 'सङ्गीत नभएको जीवन निरस हुन्छ |'
यो मेरो गीतमा कसैले प्रेम प्रस्तावको लागि उपहार दिएको सुगन्धित रुमालको कथा छ | अहिले भ्यालेन्टाइन कार्ड अथवा रातो गुलाब प्रेमिलहरुले साट्न उपयुक्त समय पर्खन्छन् | त्यो समय मेहनतसाथ कुरुसले बुनेको रुमाल कुनै हाट बजारमा भेटेर साट्ने समय थियो |
अमेरिकाका बब डानलले 'लिरिक्स' (१९६२-१९८५) गीतको पुस्तक लेखेर आफ्नो गायनमा खुब संसार थर्काए । उनको 'लिरिक्स' र गायनले नोबेल पुरस्कार पायो । बब डानलको गीतले नागरिक अधिकार, जातीय शोषण विरुद्धमा मात्र होइन उन्नाइसौँ शताब्दीको प्रारम्भिक समयमा रोमान्टिक गायक भनेर संसार भर चिनिए । गीतले छिटो समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने यो प्रमाण थियो त्याे । गीत विशिष्ट साहित्यिक काव्य हो । गीतको आफ्नो भूमि हुन्छ ।
धेरै मान्छेले जीवनमा प्रेम गरेका हुन्छन् । त्यसको मौसम प्रकृति भिन्न होला तर मुटुले प्रेमलाई स्पर्श गर्ने स्वाद उस्तै हो । प्रारम्भ फरक होला तर आँखा र मन उस्तै हो | मैले पनि अरूले जस्तै प्रेमको अनुभूति प्रशस्त गरेको छु | कतै प्रेमको हार्दिक प्रस्तावबाट कतै आफ्नै मनको उक्षवासबाट । प्रायः यस्तो समय आफ्नै गाउँबाट सुरु भएर क्याम्पस जीवनमा दोहोरिइरह्यो । तर प्रेम नभए पनि विवाह हुँदो रहेछ र प्रेम सुरु हुँदो रहेछ ।
यो मिठो घटना रुमालसँगको मेरो मनमा बसिरह्यो । यस्तै पृष्ठभूमिमा यो गीत लेखेर रेकर्ड भएपछि बल्ल मेरो मनबाट बुट्टे रुमालको सम्झना ओझेल भयो । किन ? कसरी ?कसले ? त्यो रुमाल चौतारामा छोडेको हो भन्ने प्रश्न विलीन भयो ।
सबै गीतभित्र प्रेम हुँदैन अथवा गीत भन्नसाथ प्रेम हुन्छ भन्न सकिँदैन ।तर प्रेमले जीवनलाई भने प्रभावीत बनाएको नै हुन्छ ।
बुलु मुकारुङ सुन्दर अनुहार,विचार र सङ्गीत भएको गम्भीर स्रष्टा हुनुहुन्छ । बुलुको सङ्गीतमा लोक जीवन छ । म बिए दोस्रो वर्ष २०३६ सालमा त्रिचन्द्रमा अध्ययन गर्दै थिएँ । खुब फुर्तिलो केटा मेरो डेरा भएकै घरको एउटा सानो कोठामा भर्खर सरेको देखेको थिएँ । बेलुका आउने दिउँसो हराउने, अनि भ्वाइलिन बजाएर मस्त कोठाका बसेको देख्थेँ । त्यो समयमा मलाई दाइ भनेर परिचय भएको धेरै वर्ष बितेछ । त्यो भाइ हेर्दा हेर्दै वरिष्ठ सङ्गीतकार भएर आउनुभयो । भाइ बुलुलाई बधाई भन्न चाहन्छु ।
साधारण ठिटो जोसिएर भोजपुरबाट कल्पनाको आकाश खोज्दै आएर हेर्दा हेर्दै कल्पना समात्न सफल हुनुभयाे । बुलुले जहिले पनि मलाई हौसाउँनु हुन्छ । एक पल्ट दार्जिलिङबाट अरुणा लामा आउनु भएछ । मलाई फोन गरेर भन्नु भयो– 'दाइ गीत छिटो मलाई लेखेर दिनोस्, अरू कसैको सङ्गीत गर्दिन, अरुणा लामा आउनु भएको छ । गीत रेकर्ड गरिहालौँ ।' गीतको भाव मस्तिष्कमा खेलाउँदै थिएँ | पहिले लेखेको गीत अरुणा लामालाई सुट नहुने थियो । गीत रेकर्ड गर्ने समय जुरेन अरुणा लामा बिरामी हुनुभयो । हाम्रो अरुणा लामासँग गीत रेकर्ड गर्ने याेजना अधुरो नै रह्यो । दिदी बिरामीबाट सुस्तरी गल्दै हुनुहुन्थ्यो । म पहाड गएको थिएँ । घरमा मतान बनाउने क्रममा व्यस्त भइरहेकाे थिएँ । महान् नेपाली गायिका अरुणा लामा यो धर्तीमा नरहेको समाचार रेडियोले सुनायो । म विक्षिप्त भएको थिएँ त्यस दिन । खाना पनि खान सकिनँ । महान् गायिकाको दुःखद् निधनमा एक छाक भात छाडेको थिएँ ।
हिजाेआज पनि बुलु मलाई कुन्नि कुन मोडमा भन्ने गर्नुहुन्छ - 'दाइ ! के लेख्दै हुनुहुन्छ । म एक मुखे छु । तपाई र मेरो एल्बम निकालूँ । भनेको बेला लेख्नोस् मसँग समय नहुन सक्छ । तर मैले बुलु भाइले भनेको बेला गीत दिन कहिले सकिनँ ।
यस्तै वातावरणबाट मेरो जीवनको सुख दुःख अनुभवहरूको कारण यो गीतको सृजना भएको छ । विभिन्न घटना परिवेशले प्रभाव जमाएको छ ।
एक पटक २०४२ सालमा धर्तुङ जाँदै थिएँ । खोटाङ जिल्लाको तल्लो विकट क्षेत्र धर्तुङको सिरानमा बेल्टार र धर्तुङ जाने छुट्टिने भन्ज्याङ छ । उकालाे र ओरालो गर्दा गलेर त्यो चौतारामा थचक्क बसेँ । ढुङ्गामा कसैले बिर्सेर छोडेको सुन्दर कुरुसले बुनेको रङ्गिन रुमाल भेटेँ । भेटेको वस्तु नटिप्नु भनेको सुनेको थिएँ, मैले टिपिन । हतार थियो मैले मेरो यात्रातय फेरि गरेँ । तर त्यो रुमालसँगै मेरो मन उडिरह्यो । यो रुमाल नबिर्सनु थियो ? कसले छोडेको होला ? पक्कै उसको मायालुले मायाको प्रस्ताव आँसुले रुमालमा लेखेको हुनसक्छ । जीवनभर नछुट्ने कसम खाएर चिनो दिएको हुनसक्छ । प्रेमले भरिएको बुट्टे रुमाल कसैले कुल्चेर फाल्दिन सक्छ । रुमाल च्यातेर फाल्न सक्छ अथवा रुमालमा लेखिएको नाम कसैले चिनेर शङ्कालु नजरले बदनाम गर्न सक्छ । बाटैभरि यो रुमालको घटनाले म कल्पनामा डुब्दै गएँ ।
यो मिठो घटना रुमालसँगको मेरो मनमा बसिरह्यो । यस्तै पृष्ठभूमिमा यो गीत लेखेर रेकर्ड भएपछि बल्ल मेरो मनबाट बुट्टे रुमालको सम्झना ओझेल भयो । किन ? कसरी ?कसले ? त्यो रुमाल चौतारामा छोडेको हो भन्ने प्रश्न विलीन भयो ।
मिठो स्वरका वरिष्ठ गायक लाक्पा सेर्पाले गाउनु भएको छ । लाक्पा सेर्पाको गायिकी दुनियाँले मन पराउँछ । मलाई उस्तै मन पर्छ । लाक्पाजीको स्वरमा भिन्नता छ । यो गीतको तयारी गर्न बुलुको निवासमा हामीले छलफल गरेका थियौँ । रेडियो नेपालमा लाक्पा सेर्पाले गीत रेकर्ड गर्दा निकै मेहनत गर्नु भयो, म्युजिसियनको टेक्निकल कमजोरीको कारण लाइभ रेकर्ड गर्नु पर्ने जमाना थियो । गाउँदै गयो कहीँ कतै कुनै म्युजिकको ताल खुस्किहाल्ने समस्याले गायक पसिनाले भिजेको जस्तो मलाई लागेको थियो । मिलनसार असल मिजासका लाक्पाजी कताकता रिसाएको जस्तो मुडमा पनि देखेको थिएँ त्यो बेला । निश्चय त्यो स्वभाबिक थियो । लाइभ राम्रा गायकले मात्र गाउन सक्छ ।
लाक्पा सेर्पा र बुलु मुकारुङ नेपाली आधुनिक सङ्गीत क्षेत्रमा विशिष्ट हुनुहुन्छ । दुवैलाई आज पनि बधाई भन्न चाहन्छु | यो मेरो रचनालाई लोकप्रिय गीत सृजना गर्नमा स्रष्टाहरूको ठुलो योगदान रहेको छ । धन्यवाद छ ।
तसर्थ गीत जीवन हो ,जीवन नै गीत हो । दुनियाँमा गीतको परिभाषा फरक फरक भएको पाइन्छ तर केन्द्रीयता उस्तै हो । जस्तै म दुई हरफ अमेरिकाका प्रसिद्ध गीतकार गायक Bob Dylan को गीत राखेर बिदा हुन्छु –
'I’m out here a thousand miles from my home
Walkin’ a road other men have gone down.'
लेखेको थियो आँसुले नाम च्यातेछ कसैले
जुनेली रातमा ...............................|