विपत्तिलाई जित्न विकल्पको खोजी : माटो, पानी एवं संस्कारमा रहेकाे शक्ति उपयोग र आत्मनिर्भर उत्पादन

विपत्तिलाई जित्न विकल्पको खोजी : माटो, पानी एवं संस्कारमा रहेकाे शक्ति उपयोग र आत्मनिर्भर उत्पादन

सेबिका सुवेदी  |  दृष्टिकोण  |  जेठ १८, २०७७

जीवनको परिभाषा सोध्ने हो भने हरेकले आ–आफ्नै किसिमको उत्तर दिन्छन् ।जसले जस्तो भोग्यो उसले जीवन लाई त्यसरी नै परिभाषित गर्ने गरिन्छ । साँच्चै जीवन भोगाइहरूको प्रतिबिम्ब पनि हो । जन्म र मृत्यु बिचको छोटो अवधि जहाँ धेरै संघर्ष, दुःख,पिडा अनि ती नै पिडा भित्र लुकेको थोरै खुसी यी सबैको साझा थलो हो जीवन । जीवन एक रङ्गमञ्च हो । जहाँ हरेक पात्रले आ–आफ्नो अभिनय कुशलतापूर्वक निर्वाह गर्नु पर्दछ । निर्देशकले तोकिदिएको समयावधि समाप्त हुन्छ सबै आ–आफ्नै गन्तव्यमा फर्कन्छन् त्यस्तै नै हो हरेकको जीवन । यही जन्म मृत्युको बिचको छोटो अवधि यसै बिच मान्छेले अनेकौँ अवरोधहरूको सामना गर्नुपर्छ ।

जब मान्छेले सोचेको, इच्छाएको र खोजेको भन्दा  विपरीत अवस्था आउँछ त्यो नै विपत्ति हो । विपत्तिले नै मान्छेलाई संर्घष गर्न सिकाउँछ । विकल्पको बाटो पहिचान गराउँछ, यो एक युद्ध हो सक्षमले विपत्तीलाई जितेर अगाडी बढ्छ, विजय प्राप्त गर्छ कमजोरले जीवन समर्पण गर्छ । यो सृष्टिमा अनेक प्रकारका जीवाणु देखि लिएर किटपतङ्ग, प्राणी वनस्पति सबैको आ–आफ्नै अस्तित्व विद्यमान हुन्छ । जस मध्ये सर्वश्रेष्ठ प्राणी मानव सृष्टिकै अनुपम रचना मानिन्छ । सायद मनुष्य जीवन अथक प्रयत्न र सङ्घर्ष पछि जो कोहीलाई मिल्न सक्छ । तर जीवनको महत्त्व नबुझेर कतिले विपत्तिको सामना गर्नु भन्दा जीवन नै त्याग गरिदिन्छन् । कति बाँच्ने संर्घष गर्दा गर्दै पनि सुरक्षा, उपचार र गाँस बासको अभावकै कारण मृत्यु वरण गर्न बाध्य हुन्छन् ।

यसैबिच मान्छेले स्वार्थको चरम सीमा नाघेर अथाह फाइदा लीने प्रयत्न पनि गरिरहेका हुन्छन् । घुस, कमिसन,चोरी, डकैत आदि घिनलाग्दा घटना पनि यसै बिच घटिरहेका हुन्छन् ।  ठुलो सानो तेरो मेरोको लडाई घर परिवार समाज राष्ट्र र अन्तर्राष्ट्रिय रूपमा मौलाएका खबरहरूले साँच्चै मानवमा पशुवत व्यवहारको घिनलाग्दो पक्ष उदाङ्गो भएको महसुस हुन्छ । ‘मै खाऊँ मै लाऊँ सुख सयल मोज म गरौँ’ उक्त अनुरूप निर्धो र कमजोर माथि जहाँ कहीँ शोषण, दमन, अत्याचार हिंसा हत्या, बलात्कार भ्रष्ट्राचारका घटनाले मानवता हराएको भान हुन्छ । धनी र गरिब बिचको दुरी बढ्दो छ फलस्वरूप विपतको समय घरबार विहीन, ज्याला मजदुरीमा जीविकोपार्जन गर्दै आएका अधिकांश मानिसको जनजीवन कष्टकर बन्दै गएको छ ।

हरेक क्षेत्रमा परनिर्भर रहने हाम्रो बानीका कारण आफूसँग भएका अथाह सम्भावनालाई देखेका छैनौ, चिनेका छैनौ । तर अब समय आएको छ, अब पनि गरेनौ भने समयले धिक्कार्ने छ । अति भोग, अति महत्त्वाकाङ्क्षा, विलासिता, भौतिकता र प्रकृति माथिको अत्याचारको प्रतिफल स्वरूप हामीले भोग्दै आएका हरेक विपत्तिले केही न केही ज्ञान दिएकै छन् ।  तर बारम्बार हामी बुझपचाईरहेका छौँ पुन सारा मानव जातिलाई कोरोनाले मानव भएर बाँच्न सन्देश दिएको छ ।

मानव विकासको क्रमलाई फर्केर हेर्दा विभिन्न समयमा अनेक प्रकारका प्राकृतिक तथा कृत्रिम विपत्तिको सामना मानव जातीले भोग्दै आएको देखिन्छ । प्लेग, बिफर, एड्स, इबोला, स्वाइन फ्लु हुँदै हाल सन् २०१९ को अन्त्यमा चीनको हुवेइ प्रान्तको वुहान सहरमा पहिलो पटक मान्छेमा देखिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देशमा कब्जा जमाई सकेको छ । विश्वका शक्ति राष्ट्रहरू दिनरात औषधि, भ्याक्सिनको अनुसन्धान गरिरहेका छन् ।  तर सफल हुन सकेका छैनन् । विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका राष्ट्रहरू पनि कोभिड १९ सँग हार खाएको देखिन्छ । 

हालसम्म विश्वमा तीन लाख भन्दा बढी मानिसले ज्यान गुमाई सकेका छन् । सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । विश्वको स्वास्थ्य र आर्थिक क्षेत्रमा ठुलो चुनौती देखा परेको छ । साथै सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा पनि नकारात्मक असर थपिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले ३० जनवरी २०२० मा विश्व महामारीको घोषणा गरेसँगै धेरै राष्ट्रहरू बन्दा बन्दीको अवस्थामा छन् । औषधि, भ्याक्सिन तयार नभए सम्म सुरक्षाको रणनीतिहरू अपनाउनुको विकल्प छैन । सँगै लगडाउनले आर्थिक क्षेत्रमा पु¥याएको असरका कारण गरिब, विपन्न वर्ग, मजदुर भोकमरीको चपेटामा पर्न थाली सकेका छन् । विगतका महामारीको अवस्थालाई हेर्दा कोरोनाको अन्त्य त्यति छिटो र सजिलो देखिन्न । भाइरसले आफ्नो स्वरूप फेरिरहने र अझ सूक्ष्म रूपमा गति बढाई रहेको कारण यसको उपचार जटिल बन्दै गएको वैज्ञानिकहरूले बताइरहेका छन् । यस्तो अवस्थामा हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाएर स्वस्थ जीवन जिउने कला सिक्नु अत्यावश्यक देखिन्छ । 

अन्य देशहरूको अवस्थालाई हेर्दा अझसम्म नेपालको अवस्था त्यति भयावह छैन । तर केही दिन यता तीव्र रूपमा बढेको सङ्क्रमितको सङ्ख्या हेर्दा ढुक्क हुने अवस्था देखिन्न । पूर्वमा झापादेखि  पश्चिम कञ्चनपुर र तराईका जिल्लाहरूमा बढेको सङ्क्रमण हेर्दा भित्र भित्रै भुसको आगो झैँ सल्किएको अनुमान गर्न सकिन्छ । थोरै मात्र हेलचेक्र्याई गर्ने हो भने स्थिति भयावह हुने अवस्था आउन सक्छ । कमजोर स्वास्थ्य सेवा औषधी उपकरणका बिच सम्हाल्न गाह्रो हुनेछ । निरन्तरको बन्दाबन्दै देश भित्र र बाहिर रहेका हजारौँ जनताको जीवन कष्टकर भैसकेको छ । विभिन्न देशबाट नेपाल फर्कन चाहनेहरूले हार गुहार गरिरहेका छन् । यस्तो अवस्थामा सरकारले सुरक्षित साथ क्वारेनटाइन, स्वास्थ्य सेवा सुविधाको प्रबन्ध गरी अति पिडामा रहेका जनतालाई यथाशीघ्र फर्काउनु पर्ने हुन्छ । तर केही समय देखि तराईका जिल्लामा भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकाहरूद्वारा तराईमा सङ्क्रमण बढेको अनुमान गर्न सकिन्छ । यस्तो अवस्थालाई हेर्दा केही समय जो जहाँ छौ त्यही रहेर बाँच्ने प्रयत्न गरौँ भन्नु पर्ने बाध्यता पनि सँगै छ ।

हरेक कुराको जब सुरु छ त अन्त्य पनि अवश्य हुन्छ । कोरोनाको अन्त्य पनि हुनेछ  । तर कहिलेसम्म भन्न मात्र हो । कोरोना मात्र होइन समयसँगै अनेक प्रकारका विपत् आउँछन् तीनको सामना गर्न सिक्नु पर्दछ । विपतले केही चुनौती सिर्जना गरेता पनि केही अवसरहरू पनि पक्कै दिएको हुन्छ । हाम्रो देश प्राकृतिक सम्पदाको धनी, ऋषि माहात्माहरुले साधना गरेको तपोभुमि, धर्म संस्कार संस्कृतिले सजिएको अनेकौँ मठ, मन्दिर देवालय रहेको दिव्य भूमि हो । यही माटोमा जन्मिएका हुर्किएका हामी नेपाली हाम्रो प्राकृतिक जीवन शैलीले पनि हामीलाई केही बलियो बनाएको छ । हामी सामान्य रोगलाई जडीबुटीको प्रयोग र खानपानले मात्र पनि जित्न सक्छौ । त्यसकै प्रतिफल भनौ विकसित देश जहाँ स्वास्थ्य सेवा सुविधाको राम्रो प्रबन्ध हुँदाहुँदै पनि हजारौ‌ंले ज्यान गुमाइरहेका छन् । तर हामी कहाँ लक्षण नै नदेखिई कोरोना पोजेटिभ देखिएका छन् । सङ्क्रमितहरू पनि छोटो समयमा ठिक भएर फर्किएका छन् ।

यसैबिच नेपालमा धेरै प्रकारका अवसरहरूको सिर्जना भएको छ  । महामारीको अन्त्यसँगै देशले नयाँ रणनीतिका साथ अगाडी बढ्नु पर्ने देखिन्छ । आज सारा विश्वको ध्यान विकसित राष्ट्रहरूले कहिले भ्याक्सिन पत्ता लगाउँछन् भन्ने तर्फ केन्द्रित छ । हाम्रो देशको २१ प्रतिशत भूभाग ओगटेको हिमाली भूभाग औषधि जडीबुटीको भण्डार हो ।  यही समयमा राज्यले यी जडीबुटीको अनुसन्धान तथा परीक्षण कार्यलाई बढवा दिएर अथाह फाइदा लिने समय आएको छ । देशको अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगटेको कृषिबाट हाल ३१ प्रतिशत मात्र कुल ग्राह्स्थ उत्पादनमा योगदान रहेको परिप्रेक्ष्यमा कृषिमा आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणलाई प्राथमिकता दिनु पर्ने समय आएको छ ।

जापान कोरिया जस्ता देशबाट कृषि क्षेत्रमा आवश्यक सिप र दक्षता हासिल गरेर फर्किएका युवा जनशक्तिको प्रयोग साथै खाडीमा बगाएका युवाको श्रम यही माटोमा लगाई अर्थतन्त्रले फड्को मार्ने बेला भएको छ । साना तथा लघु उद्योगलाई प्राथमिकता दिँदै सहर केन्द्रित जनशक्तिलाई गाउँ फर्काउने समय आएको छ । स्थान विशेष उत्पादन, व्यवसाय र बजारीकरणको राम्रो प्रबन्ध गरी स्थानीय स्तरमा नै रोजगारीको  सिर्जना गर्नु अत्यावश्यक छ । त्यसै गरी हाम्रो पूर्वीय संस्कारको अनुसरण विश्वभर भइरहेको अवस्थामा हामीले हाम्रो संस्कारको जर्गेना गर्दै, योग ध्यानका विधिहरूलाई विश्वव्यापीकरण गरी अथाह फाइदा लिने मौका मिलेको छ । आज ह्वाईट हाउसमा वेदका ऋचा पाठ भइरहेको बेला, नासाले संस्कृत भाषालाई ब्रह्माण्डको भाषा मान्दै अनुसन्धानमा प्रयोग गरिरहँदा, संस्कृत सिकाइका जोड दिइरहेको बेला हामी भने एउटा भाषालाई जाती धर्मसँग जोडेर तेरो मेरोको लडाई लडिरहेका छौ । अब समय भएको छ हरेक जात जाती, भाषा, संस्कार संस्कृतिको जर्गेना गर्ने, प्रवर्धन गर्ने । साथै हाम्रा पूर्वजहरूले सिकाएको, अपनाएको सरल जीवनशैली,अर्ग्यानिक उत्पादनमा जोड, प्रकृतिको संरक्षण, प्राकृतिक भोजन, जडीबुटीको  प्रयोग, सात्त्विक भोजन, योग ध्यान, साधनालाई नित्य र निरन्तरता दिनु आजको आवश्यकता हो ।  हामी आवश्यकता भन्दा धेरै भौतिकवादी आधुनिक बनेर बिर्सिएका हाम्रा परम्परा रीतिरिवाज, संस्कार संस्कृतिलाई पुनः अवलम्बन गर्न सुझाएको छ अर्थात् ब्युँझाएको छ कोरोनाको कहरले । 

हाम्रो नेपालीपन यहाँको माटो, पानी यहाँको हरेक संस्कार भित्र लुकेको अथाह शक्तिले हामीलाई मजबुत बनाउने छ । कोरोना जस्ता विषाणुसँग लड्न सक्ने शक्ति सामर्थ्य हामी आफैले सिर्जना गर्न सक्छौ सञ्चय गर्न सक्छौ । आज भौतिकताको चरम उपलब्धि हासिल गरेका राष्ट्रका नागरिक आध्यात्मिक चिन्तनको खोजीमा छन् । अध्यात्म विज्ञान भौतिक विज्ञान भन्दा शक्तिशाली भएको पुष्टि गर्ने पालो आएको छ । हरेक क्षेत्रमा परनिर्भर रहने हाम्रो बानीका कारण आफूसँग भएका अथाह सम्भावनालाई देखेका छैनौ, चिनेका छैनौ । तर अब समय आएको छ, अब पनि गरेनौ भने समयले धिक्कार्ने छ । अति भोग, अति महत्त्वाकाङ्क्षा, विलासिता, भौतिकता र प्रकृति माथिको अत्याचारको प्रतिफल स्वरूप हामीले भोग्दै आएका हरेक विपत्तिले केही न केही ज्ञान दिएकै छन् ।  तर बारम्बार हामी बुझपचाईरहेका छौँ पुन सारा मानव जातिलाई कोरोनाले मानव भएर बाँच्न सन्देश दिएको छ । सामूहिक सहकार्य र विश्वबन्धुत्वको भावना जागृत गराएको छ, यसैबिच सहभाव र सम्मान भावका साथ सत्कर्म गर्दै विपतलाई जितेर देशलाई समृद्धिको बाटोमा लैजाने समय आएको छ ।
                                                                                                                                                                                               sebikasubedi73@gmail.com