लोकसंवाद संवाददाता | कारोबार | फागुन २६, २०७५
सप्तरी । राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महिना नबित्दै श्री एयरलायन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ ।
हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पु¥याइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ ।
हप्ताको मंगलबार र शनिबार बाहेक पाँच दिन काठमाडौंबाट एउटा उडान राजविराज विमानस्थल आएको श्री एयरलायन्सले पछिल्लो समय नियमित उडानमा दुई दिन कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी जम्मा तीन दिन मात्र उडान गर्ने गरेको श्री एयरलायन्सले जनाइएको छ ।
श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेपछि कुनै जरुरी कामको लागि काठमाडौँ जानुपर्ने अवस्थामा समयमा जान नसकिने भएकाले समस्या हुने गरेको पत्रकार श्रवणकुमार देवले गुनासो गर्नुभयो । लामो सयमपछि राजविराज विमानस्थलबाट श्री एयरलायन्सले आफ्नो सेवा दिँदै आएको बेला यसरी नियमित उडानमा कटौती गरेपछि यात्रु मर्कामा परेका छन् ।
श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेपछि विशेष कामका लागि काठमाडौँ जानका लागि राजविराजबाट माइक्रोबसमा चढेर करीब ९० किलोमिटर विराटनगर विमानस्थलमा पुगी काठमाडौंलगायत अन्य ठाउँमा जानुपर्ने अवस्था रहेको देवले बताउनुभयो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का कृष्णाकुमार मण्डलले पनि श्री एयरलायन्सले नियमित उडानमा दई दिन कटौती गरेको उडानमा समेत समयमा नउड्ने र कुनै दिन उडान नै रद्ध गर्ने गरेको कारण पनि यात्रु समस्यामा परेको गुनासो गर्नुभयो ।
श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेयता सप्तरीवासीमा निराश देखिएको जानकारी दिँदै राजविराज विमानस्थलबाट हप्तामा सातै दिन उडान हुनुपर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका स्थानीय नेता गजेन्द्रकुमार मण्डलले माग गर्नुभयो ।
श्री एयरलायन्सको विमान मर्मतमा रहेकाले राजविराज विमानस्थलमा नियमित उडान सेवा कटौती गर्नुपरेको श्री एयरलायन्सका स्टेसन म्यानेजर सुरेश मल्लिकले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुुको सङ्ख्या बढेपछि मात्र उडान थप गरिने बताउनुभयो । यसअघि आइतबार, बिहीबार गरी जम्मा पाँच दिन यहाँ श्री एयरलायन्सले नियमित उडान गर्ने गर्दथ्यो । तर, अहिले यात्रुको अभाव देखाउँदै उडानमा कटौती गरेको स्थानीयवासीको भनाइ छ ।
राजविराज विमानस्थलमा श्री एयरलाइन्सको ७२ यात्रु क्षमता भएको जहाजको परीक्षण उडान २०७५ जेठ १ गते नै गरिएको थियो । श्री एयरलायन्सले राजविराजबाट काठमाडौंसम्मको फ्लाइटको भाडादर न्यूनतम तीन हजार पाँच सय र अधिकतम छ हजार दुई सय तोकेको खबर राससमा अरुणकुमार यादवले लेख्नुभएको छ ।