शर्मिला शर्मा | दृष्टिकोण | जेठ २१, २०७७
पृथ्वीनारायण शाहले उद्घोष गरेको जस्तै ‘चार वर्ण छत्तिस जातको साझा फूलबारी’ हो हाम्रो नेपाल । यही फूलबारी जहाँ विभिन्न जात–जातीका समुदाय मिलेर समाज निर्माण भएको छ ।
यसरी निर्माण भएको समाजमा थर अनुसारका आफ्ना पेसा र व्यवसाय अपनाउँदै आएको छ । घरपरिवार र समाजमा आवश्यक पर्ने आवश्यकतामा एकले अर्काको खाँचो टार्ने र अैंचो र पैँचोको माध्यमबाट पूरा गरिँदै आएको छ । एक आपसमा सुमधुर सम्बन्ध रहिआयो र रहिरहेको छ । एक ले अर्कोलाई सम्मान गर्ने प्रचलन रहेको छ । समाजमा हुने विभिन्न प्रथा, रीतिरिवाजमा एकले अर्कोलाई आफुुले निभाउनुपर्ने कर्तव्य र जिम्मेवारी बिना दबाब स्वतन्त्र रूपले पुरा गर्थे । समाजमा कुनै अनैतिक क्रियाकलाप गर्न डराउने चलन थियो ।
एक जातीको समुदाय, अर्को जातीको समुदायसँग निर्भर भएर नै आफ्नो जीविका चलाउँदै आएका थिए । तर अहिले २१ औँ शताब्दीमा आधुनिक समाज रूपान्तरणको नाममा यी सबै प्रथा परम्परा हराउँदै गएका छन् । आफ्नो जीवन जिउने क्रममा सहज लाग्ने जुनसुकै पेसा स्वतन्त्र रूपमा अपनाउँदै आएको पाइन्छ । हिजोआज कुनै पनि पेसा यो जात वा थरकाले मात्र गर्नुपर्छ भन्ने सामाजिक सीमा हट्दै गएको छ । यो हुनु सकारात्मक कुरा हो । तर हिजोआज आम मानिसमा मानव भित्र हुने मानवीय गुण नै हराउँदै गइरहेको छ ।
समाज परिवर्तन भएको छ, समाजमा सबै जात, धर्म, पेसा समान भएका छन् । सबै कुरामा स्वतन्त्रता छ तर यही स्वतन्त्रताको अधिकारले नेपाली समाजमा भने विकृतिहरू यसरी झाँगिँदै गइरहेका छन् कि अनुमान लगाउन त के सोच्नसम्म नसक्ने घट्नाहरु समाजमा घटी रहेका छन् । माओवादी १० वर्षको जनयुद्ध र २०६२/६३को आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा त भयो । तर त्यो घोषणा एकातर्फ छ भने जेठ १० गते जाजरकोट–रुकुम काण्डले समाजमा रहेको जरो गाडेर रहेको कथित तल्लो जात र माथिल्लो जात भन्ने र भेदभाव कायम रहेको कुरा सतहमा ल्याइदिएको छ ।
यी र यस्ता घट्नाका अपराधी, अपराधी नै हुन् त्यसलाई जातीयतासँग र राजनीतिसँग नजोडौँ । पीडितले न्याय पाउनै पर्छ यसका लागी कानुन बनेको छ । कानुन अनुसार नै कारबाही होस र अपराधीले कानुन अनुसार कारबाही भोग्नु पर्छ । यस्ता मुद्दालाई एउटा सिङ्गो समुदायसँग मात्र नभई सिङ्गो मानवीय समुदायको हुनुपर्छ ।
रुकुममा जाजरकोटका युवाहरू जसरी मारिए कि ती दलित भएकै कारण मारिएको हुन ? नवराज विकसँगै अर्का शाही परिवारका छोरा मारिनुको कारण के त ? शाही परिवार त दलित थिएनन् । नवराज विकले अन्तरजातीय प्रेम गरे कै कारण ज्यान गुमाएका हुन ? घटनाको वास्तविक सत्य तथ्य नआउँदै मृत्युलाई जात र सिङ्गै समुदायसँग जोडेर हेर्न थालिएको छ । यो हत्या एउटा मानवता हीन र अमानवीय हत्या हो र यसका दोषीलाई जुनसुकै जात वा थरका भए पनि हदैसम्मको सजायको भागीदार हुनुपर्छ भन्ने एकमत हुनुपर्ने थियो । तर घट्नालाई अनेकन् भिडियो बनाएर अतिरञ्जन गर्ने र अमुक जाति र समुदायलाई दोषारोपन गर्ने काम भइरहेको छ ।
जेठ १५ गते मोरङको बेलबारीमा घटेको घटना आफ्नै छोराले इट्टाले हानेर आमाको हत्या गरी स्वयं आत्महत्या गर्न पुगे । त्यो पनि एउटा ८-१० जनाको बिचमा । हत्याराले चक्कुले आफ्नै घाँटी रेटिरहदाँ त्यहाँ उपस्थित मानवरुपी पशु भने भिडियो बनाउन व्यस्त भएको प्रस्टै देखिन्छ । भिडियो मात्र बनाइएन त्यसलाई सामाजिक सञ्जालमा राखेर अर्को बहादुरी प्रर्दशन गरिएको छ । आम मानिस बिच मानवता हराउँदै गएको जल्दो बल्दो उदाहरणको रूपमा यो घटना र भिडियाेलाई लिन सकिन्छ । चाहेको भए त्यो समूहले ती यूवालाई बचाउन सक्ने थिएनन होला र ? युवाको शरीर भन्दा प्यारो उनीहरूको लागि भिडियो बन्यो र बन्न उन्मुख भइरहेको छ ।
नेपाली समाजमा चल्दै आएको सर सापटी र अैँचो पैँचो प्रथा पनि लोप भइसकेको छ । भक्तपुरमा आमाले आफ्नो दुधे बालकको पेट भर्न सक्ने स्थिति नआएपछि ९ महिनाको दुधे बालकलाई बगाई दिएको समाचार पनि हाम्रो मानसपटलमा डगमगाई रहेको छ । यस्तो कार्य गर्न ती आमालाई बाध्य बनाउने कारक तत्त्व के त ? राहत र सहयोगको नाममा सरकारले कोष खडा गरेको छ बजेट छुट्टाएको छ तर दुःखी पीडितको लागि भने के ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ ।
यी माथिका घटनाहरू हाम्रो समाजका केही उदाहरण मात्र हुन् । यस्ता घटना नेपाली समाजमा दिनानुदिन झाँगिई रहेका छन् । जसको उदाहरण दाइजो प्रथा, बोक्सीको आरोप, लागु पदार्थ दुब्यवसनी, एकल महिला जसलाई बोक्सीको संज्ञा दिई अनेक यातना दिइँदै गाउँबाट निकाला समेत गरिँदै आएको छ । कतै छोरी चेलीलाई एउटा देवीको रूपमा अर्थात् लक्ष्मीको रूपमा लिइन्छ तिनै छोरी आफ्नै जन्म दिने बाबुबाट बलात्कृत हुनु परिरहेको छ । गरिबी कारण आम युवती दाइजोको रूपमा जिउँदै जलिनु परिरहेको छ । छोरी छोरी जन्मिएको कारण एउटी महिलाले सौता भोग्नु, माया प्रेमको नाटक गरी एउटी युवतीलाई एसिड प्रहार गर्नु अहिले यस्ता घटनाको नेपाली समाजले स्पष्टता खोजी रहेको छ ।
यी र यस्ता घट्नाका अपराधी, अपराधी नै हुन् त्यसलाई जातीयतासँग र राजनीतिसँग नजोडौँ । पीडितले न्याय पाउनै पर्छ यसका लागी कानुन बनेको छ । कानुन अनुसार नै कारबाही होस र अपराधीले कानुन अनुसार कारबाही भोग्नु पर्छ । यस्ता मुद्दालाई एउटा सिङ्गो समुदायसँग मात्र नभई सिङ्गो मानवीय समुदायको हुनुपर्छ । यसको लागि नेपाली कानुन ‘आकाशको फल आँखा तरी मर’ नबनोस् समाजमा मानवीय गुण यसरी नै विलये हुँदै जाने क्रम दोहोरिन नदिन सबै सचेत हुन जरुरी छ ।