प्रतिक्षा पाण्डे | अन्तर्मन्थन | जेठ २२, २०७७
जैविक रूपमा पुरुष भएर जन्म लिए तापनि हाल विराटनगर, वडा नं १, शान्ति चोक बस्ने चालिस बर्सिया माधुरी माझी आफूलाई महिला भनेर चिनाउने गर्छिन् । आफूलाई समलिङ्गी भनेर समाजलाई पहिचान गराइसकेपछि उनको जीवनमा कठिन सङ्घर्षका दिनहरू सुरु भएको थियो । माधुरी भन्छिन्, ‘मैले आफ्नो पहिचानको लागि दु:ख गरेँ, समाजसँग लडेँ र अहिले आफू जे छु, त्यसमा म गर्व गर्छु ।’ अझै पनि धेरै समलिङ्गीहरूले आफूलाई समाज सामु चिनाउन सकेका छैनन् । तर, माधुरी अहिले उनीहरूको आवाज बन्न पुगेकी छिन् ।
लगभग १३ वर्षको उमेरदेखि नै माधुरीलाई, चुरा लगाउन मन लाग्ने, शृङ्गार गर्न मन हुने र महिलाको पहिरन लगाएर हिँड्न मन पर्दथ्यो । सुरुसुरुमा त उनलाई आफ्नो स्वभाव किन यस्तो भएको होला भन्ने लाग्दथ्यो, तर बिस्तारै उनलाई आफू जैविक रूपमा पुरुष भए तापनि आफ्नो मन चाहिँ महिलाको जस्तो छ भन्ने थाहा हुँदै गयो । त्यसैबिचमा उनको आफू जस्तै एक जना 'दिदी'सँग भेट भयो र उनीसँगको कुराकानीपछि भने माधुरीलाई आफू समलिङ्गी हो भनेर थाहा भएको थियो । तर, समाजमा भने त्यति सजिलै आफूलाई चिनाउन सकेकी थिइनन् । ‘परिवारले के भन्ने होला, के गर्छन् होला’ भन्ने त्रास मनमा आई रहन्थ्यो । उनी भन्छिन्, 'उति बेला यसरी खुलेर कुरा गर्ने, आफू समलिङ्गी हुँ भनी निस्कने साहस कसैसँग थिएन, त्यसैले समाज सामु मलाई डर लाग्नु पनि स्वाभाविक नै थियो ।'
माधुरीको क्षमता, सबैलाई सहयोग गर्ने उनको भावना र उनको मिठो बोल वचनका कारण उनले आफ्नो समुदाय सबैको मन जित्न सफल भएकी छिन् । उनैको कारण पनि हुनसक्छ, अहिले समलिङ्गीहरूप्रति समाजको धारणा परिवर्तन हुँदैछ । समलिङ्गीहरूप्रति समाज सकारात्मक हुँदैछ ।
‘सत्य कुरा आखिर कति दिन लुक्छ र’भनेझैँ, अन्तत: माधुरीले पनि परिवारलाई आफ्नो 'वास्तबिकता'बारेमा सुनाइन् । माधुरीको कुरा सुनेपछि उनका परिवारमा भूकम्प आएझैँ भयो । सबैले उसको विरोध गरे । आमाले त पिट्नु पनि भयो । सबैबाट उनले नकारात्मक कुरा मात्र पाइन् । आमाले सुरुसुरुमा सम्झाएकी पनि थिइन् । आमाले सँधैजसो भन्ने गरेको कुरा माधुरी अझै सम्झिन्छिन् । आमा प्राय भन्ने गर्नुहुन्थ्यो ‘समलिङ्गी भएको कुरा अरूलाई थाहा भयो भने भारतबाट मान्छे आएर लैजान्छ र धेरै दुःख दिन्छ’। त्यसैले आमा माधुरीलाई सधैँ लुकाएर राख्न चाहन्थिन् ।
माधुरीको परिवार ८ जनाको थियो । आमा, बुवा र ६ जना दाजुभाइ । आमा धेरै अघि नै बित्नु भयो । आमाको निधन लगत्तै माधुरीलाई उनका बुवाले अरूको घरमा भाँडा माझ्ने काममा राख्दिए । माधुरी त्यो घरमा खाना मात्र पाउँथिन् । कामबाट पाएको पैसा बुवाले घर खर्च चलाउन लैजान्थे । ‘सधैँ यसरी दुःख सहेर कति दिन बस्ने’ भनी उनको मनमा अनेक प्रश्नहरू आउँथे । ‘मलाई जिन्दगीमा खुसी हुने हक छैन र ! म आफू जस्तो हो त्यस्तै तरिकाले बाँच्न नपाउने र !’ भन्ने सोच उनको मनमा आई रहन्थ्यो । बाहिरी रूपमा देखिएको पुरुष स्वरूपभन्दा भित्री मनमा भएको महिलाको अनुभूतिले उनलाई साह्रै पिरोल्ने गर्थ्यो । फलतः एक दिन माधुरीले आफ्नो पहिचानको लागि लड्ने निर्णय गरिन् । परिवारलाई आफ्नो बारेमा खुलेर बताइन् यद्यपि उनले साथ भने पाइनन् । समाजबाट त साथ पाइन्छ भन्ने उनले केही अपेक्षा नै राखेकी थिइनन् । परिवार र समाजले उनलाई स्विकारेन । उनलाई घरबाट कुटपिट गरी निकालियो ।
उनले हरेक पाइलामा कठिनाइ भोग्नु पर्थ्यो । अस्पताल जाँदा उपचार गर्न नमान्ने, पसल जाँदा ‘तँ जस्तोको लागी हाम्रोमा सामान छैन !’भन्ने वचन सुन्नु पर्थ्यो भने प्रहरीबाट पनि धेरै पटक अपशब्द सुन्नु परेको कुरा उनी बताउँछिन् । परिणामतः एक दिन उनी नेपाल छाडेर भारत गइन् । तर, उनी जस्ता समलिङ्गीहरूलाई सबैतिर यस्तै समस्यै थियो । भारतमा पनि उनकाे अपहेलनामात्र भयो । त्यता पनि समलिङ्गीहरूलाई कुट्ने, पिट्ने, भाँडा मझाउने, लुगा धुवाउने, नाच्न लगाउने जस्तो कामहरू गराइन्थ्यो । त्यसो भनिरहँदा माधुरीको अनुहारमा पीडाको अनुभूति प्रस्ट देखिन्थ्यो ।
भारतमा पनि बस्न नसकेर उनी नेपालै फर्किन् । सुखद संयोग भन्नुपर्छ, नेपाल आएको केही महिनामा उनको ‘नीलहिरा समाज’ (Blud Diamond Society) नामक संस्थाका प्रतिनिधिहरूसँग भेट भयो । ती प्रतिनिधिहरूसँग धेरै कुराकानी भए । बल्ल पो उनले थाहा पाइन् की नेपालमा उनीजस्तै सयौँ समलिङ्गीहरू सङ्गठित भएका रहेछन् । संस्थाले समलिङ्गीहरूको हक अधिकारको संरक्षणको लागि काम गर्दो रहेछ । उनलाई उक्त संस्थासँगको भेटपछि सहारा पाएको महसुस भयो । उनी अत्यन्तै खुसी भइन् । केही वर्षदेखि संस्थाले उनलाई सहयोग गरिरहेको छ । यस संस्थाले समलिङ्गीहरूलाई रोजगारी दिने या दिलाइदिनुका साथै समाजमा इज्जतसँग बाँच्न सक्षम बनाइदिएको कुरा बताउँछिन् । उनी संस्थाप्रति आभार व्यक्त गर्छिन् । हाल माधुरी आफ्नै समाजमा आफ्नो हक अधिकारको लागि लडेर खुसीसाथ जीवनयापन गरिरहेकी छिन् ।
नेपाली समाजले समलिङ्गीहरूलाई अझै पनि पूर्णरुपमा स्विकार्न सकेको छैन । अझै पनि समलिङ्गीहरूले धेरै समस्या भोग्नु परिरहेको छ । पहिले पहिले असह्य पीडा भोग्नुपर्दा माधुरीलाई ‘समलिङ्गी हुनु श्राप पाएको’जस्तो लाग्ने गर्थ्यो । यसले उनको जीवनमा धेरै नकारात्मक असरहरू पारेको थियो । उनले घरेलु हिंसाको सिकार बन्नु परेको थियो । परिवारका सदस्यहरूले कुटपिट गर्ने, कपाल काटिदिने गर्दथे । समाजमा अनेक प्रकारका भेदभाव सहनु पर्ने हुन्थ्यो । घरबाहिर निस्कँदा मान्छेहरूले जिस्काउने, अपशब्दको प्रयोग गर्ने, इत्यादि कुराले उनको मनोबललाई अत्यन्तै कमजोर बनाउँथ्यो । ‘यस्तो जीवन बाँच्नु भन्दा मर्न पाए पनि हुन्थ्यो’भन्ने भावना मनमा धेरै पटक आएको थियो । वास्तवमा नै समलिङ्गी भएर बाच्नु निकै कठिन थियो । उनले आफ्नो हक अधिकारबाट वञ्चित हुनु परेको थियो । रोजगार थिएन, पैसा थिएन, कसरी जीवन काट्ने, कहाँ जाने भन्ने कुराले मानसिक तनाव हुन्थ्यो । तर, अहिले समय बदलिएको छ ।
नीलहिरा समाज संस्थासँगको सहकार्यपछि धेरै कुरा बुझ्न पाइन् । नेपालका सीमान्तकृत वर्गको हकअधिकाबारे जान्न पाइन् । संस्थाको सहयोग पाएपछि उनको मनोबल बढेको छ । फलतः उनी समाजमा फर्केर आफ्नो अधिकारको लागि लड्न सफल भएकी छिन् । माधुरीको बिचारमा सबै मानिसले आफ्नो पहिचान जे हो त्यसरी नै बाँच्न पाउनुपर्छ । अहिले उनी आफूलाई परेको जस्तो समस्या अन्य समलिङ्गीहरूलाई नपरोस् भनेर समलिङ्गीहरूको हक अधिकारको लागि लड्ने अभियन्ता बनेकी छिन् । उनी अहिले समलिङ्गीहरूको मात्र नभई आफ्नो समुदायमा रहेका अन्य उपेक्षित वर्गको लागि पनि बोल्न थालेकी छिन् । माधुरी सबै आवाजविहीनहरूको प्रतिनिधि बनेकी छिन् । जुन समाजबाट उनलाई निकालिएको थियो, आज त्यही समाजमा उनी गर्वका साथ बसिरहेकी छिन् । माधुरीको क्षमता, सबैलाई सहयोग गर्ने उनको भावना र उनको मिठो बोल वचनका कारण उनले आफ्नो समुदाय सबैको मन जित्न सफल भएकी छिन् । उनैको कारण पनि हुनसक्छ, अहिले समलिङ्गीहरूप्रति समाजको धारणा परिवर्तन हुँदैछ । समलिङ्गीहरूप्रति समाज सकारात्मक हुँदैछ ।