प्रा.डा. विष्णु राई | लोकरञ्जन | जेठ २२, २०७७
'मन्दिरमा फूल चढाइ ढोगेँ तिमीलाई भनेर
रातभरि रोएँ सपना देखि नराम्रो लागेर ।'
मेरो शब्द भएको यो गीत सम्भवतः २०५० सालमा रेकर्डिङ भएको हो । सङ्गीतकार प्रसिद्ध संगीतकर्मी शिलाबहादुर मोक्तान हुनुहुन्छ भने प्रसिद्ध गायिका कुन्ती मोक्तान हुनुहुन्छ । सङ्गीतकारले ज्यादै मीठो सङ्गीत बनाउनु भएको छ । त्यसरी नै सङ्गीतलाई आफ्नो खारिएको स्वरमा डुबेर गायिकाले 'इम्प्रेसिभ' बनाउनु भएको छ । आज यो गीतको चर्चा गर्दा दुवै स्रष्टाहरूलाई अभिवादन गर्न चाहन्छु ।
यो गीतको जन्म घटनासँग सम्बन्धित छ । जसले जीवनमा प्रभाव बनाई रह्यो । यो चर्चा गरिरहँदा फेरि उस्तै सपनाले मलाई आज आहत बनायो । कुन्नि के हो सपना र जीवन यो अध्ययनको विषय हुनसक्छ ।
गीतको सुरु र अन्त्य हुँदैन तर गीतकारले सानो छोटो हरफभित्र कथाको रूप बुनेको हुन्छ । गीत पहिलो निर्जीव वस्तु हो, यसलाई सङ्गीतकारले प्राण भर्छ, गायकगायीकाले स्वर भरेर बाहिर ल्याउँछ । तसर्थ गीतको पहिलो महत्त्वपूर्ण स्रष्टा गीतकार हो । शब्दलाई गीत कस्तो बनाउने भन्ने क्षमता गीतकारसँग हुन्छ । अर्थपूर्ण तथा गहन कल्पनाबाट एउटा पूर्ण गीतको जन्म गीतकारले गर्दछ । वास्तवमा यो सामान्य कुरा बिलकुल होइन । गीत बनाउन गीतकारले जीवनमा धेरै मेहनत तथा अध्ययनका लागि समय खर्चेको हुन्छ ।
मैले कतै पढेको छु, अमेरिकाको न्युयोर्कमा गुलाम अलिको 'सो' थियो । जाबेद अख्तर अर्को सहरबाट पाँच घण्टाको ट्रेन चढेर हेर्न आएछ। जब कि अल्लारे उत्साही जाबेद अख्तरसँग पैसा थिएन, हल भित्र पस्ने टिकेट किन्ने कुरै भएन । जबरजस्त हाफ सो कार्यक्रम हेर्न सफल भएपछि गुलाम अलिसँग भेटेछ । गुलाम अलिसङै मोटर चढेर होटेल गएछ । होटलमासंगै बसेछ, आफ्नो कुरा अलिलाई राखेर भोलिपल्ट छुटेछ । गायकको गार्डले अलि सापको मान्छे होला भनेर वास्तै गरेनछ । पछि थाहा भयो त्यो युवक अलि सापसँग अपरिचित थियो । रहरले मान्छेलाई कहीँ न कहीँ केही दिन्छ । जाबेद अख्तरले गीत लेख्दै गए महान् बने । हाम्रा देशमा पनि राम्रा गीतकारहरू हुनुहुन्छ जसको जीवन मेहनतले भरिएको छ ।
यो मेरो फगत सानो सिकारु प्रयास मात्र हो । त्यसो त यो लेख्नु भन्दा छ दिन अगाडि हाम्रा महान् गीतकार श्रद्धेय रत्नसम्सेर थापा हामीबाट २०७७ साल जेठ ७ गते बिदा हुनुभयो । रत्नसम्सेर रत्न नै थिए अख्तार जस्तै । सायद जाबेद अख्तार भन्दा घेरै माथि हो कि ?
वास्तवमा सत्य पनि हो, राजनीतिमा समय खर्चिएको हुन्छ, सामान्य मान्छेले नदेख्न सक्छ । त्यसको पीडा उसैलाई मात्र थाहा हुन्छ । अग्रज पेशल राईलाई सम्झँदै भनाइ सापटी लिन चाहन्छु । कुन गाउँको बाटो, पहरा, ढुङ्गा घर कस्तो छ मैले पनि चिनेको छु । सायद बाटोले, हाटबजारले, माटोले, मान्छेले मलाई नचिनेको हुनसक्छ ,तर ती अनुभूतिहरू मेरो मानसपटलमा ताजै छ ।
यो गीत लेखेपछि एक कार्यक्रममा प्रसिद्ध गायक कुबेर राईसँग भेट भयो । सरल इमानदार गायक कुबेर राईको स्वर सबैले सुनेको मिठो स्वर रहेको छ । गफको क्रममा मसँग रचना माग्नु भयो । मेरो लागि राम्रो गायकले दिएको अवसर पनि थियो । एउटा कताकति 'रिकगनीसन' भएको अनुभव पनि भयो । मसँग गीत छ, शिलाबहादुर मोक्तानलाई सङ्गीत गर्न लगाउन त भनेर प्रस्ताव राखेँ । कुबेरजी पनि 'एक्साइटेड' हुनु भयो । मैले शिलाबहादुर मोक्तानलाई दुई गीत मध्ये एक छानेर सङ्गीत गरिदिन आग्रह गरेँ । हामी दुवै भाइ सङ्गीतकारको घरमा गएका थियौँ ।
पछि भेटमा भन्नु भयो–दुई वटा नै मिठो गीत रहेछ सङ्गीत गरेँ । त्यसमध्ये कुन्ती मोक्तानले गाउनु भएको यो एउटा गीत हो । शालीन पवित्र मनको धनी शिलाबहादुर मोक्तान हुनुहुन्छ । मलाई थाहै भएन रेकर्डिङ गरेर सक्नु भएछ, पछि गीत उहाँको घरमा सुनाउनु भयो । मलाई गीत मिठो लाग्यो । मलाई कुनै झन्झट भएन । आफ्नो पेसामा समर्पित असल व्यक्ति शिलाबहादुर सरलाई आज पनि धन्यवाद भन्न चाहन्छु ।
जीवनले कता लान्छ वा भाग्यले कता धकेल्छ । आफ्नो हातमा हुँदैन रहेछ सायद सबैलाई यस्तै हुँदो हो | मैले जीवनको यो समय जम्माजम्मी सत्तरी प्रतिशत उपभोग गरेको छु । थाहा छैन अझ जीवन कसरी हिँड्छ । तैपनि मेरो आफ्नो बाटो निरन्तर हिँडिरहेछु जस्तै हुरी बतास चले पनि । २०४२-२०५५ सालसम्म राजनीति गर्ने विचारले मैले पहाड घरमा बिताएँ । तर पछि बुझेँ म यो पेसामा फिट हुने मान्छे होइन रहेछ भनेर ! मेरो जीवनको क्रिम समय खोटाङमा सामाजिक काम गरेर बित्यो । मलाई कुनै गुनासो छैन जिन्दगीसँग । मैले धेरै सिकेँ र महत्त्वपूर्ण चिज पाएँ पनि । जसको आधारले मलाई अहिले उभिन केही सहज भएको अनुभूत हुन्छ । अनुभव जीवनको आफ्नै पाठशाला रहेछ । म सामान्य किसानको छोरा यो बिन्दुमा उभिएको छु ।
जीवन खोलाको पानी हो भन्छन् तर खोला पनि त आफ्नो क्षमता अनुरूप बग्ने हो । २०५५ सालबाट मैले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको काम गर्न थालेँ । मेरो मेहनतले जीवनमा अर्को मोड ल्यायो । तर सपना भने गाउँ घरको मन मस्तिष्कबाट हट्न सकेन । अहिले पनि हटेको छैन । आफन्तहरूलाई भेट्न वर्षमा एक पल्ट पुग्छु ।
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल हो । पहिले साप्सु खोलामा पुल थिएन । जहाँ दिक्तेल जाँदा हामी तर्ने गर्थ्यौँ । तल्लो पुल लाफ्याङका गडुलमान राईले निजी सम्पत्तिले लगाइदिनु भएको थियो । बडो इमानदार मान्छे जुँगा भने गडुलमान राईको ठ्याक स्टालिन स्टायलको थियो । सायद ज्यान पनि भव्य उस्तै खालको हुनुपर्छ ।
सपनामा टुक्रे र साप्सु खोलाको दोभानमा गडुलमान राईले बनाएको झोलुङ्गे पुल तर्दै रहेछु । पुल तर्नासाथ केही मानिसले मेरो शरीरमा आगो लगाएको सपना देखेँ । केही मिनेटमा म दनदनी पुरै जलेर समाप्त भएँ । कसैले साथ दिएन मलाई हेरिरहेका थिए । म सपनाबाट अचानक झस्केर कराउँदै उठेँ ! नबोली बसिरहेँ ! त्रासले मन हल्लिरह्यो के होला भनेर ! महिनौँसम्म मनमा आगो जलिरह्यो ! आज पनि थाहा छ । यो भयानक सपना पहाड घरमा २०४९ साल असारमा देखेको थिएँ ।
यो सपनाबाट गीतको सृजना गरेको थिएँ । कसैको समर्पणमा कुनै प्रेमीले प्रेम गरेर मन्दिरमा फूल चढाएको मिठो कल्पना यसभित्र छ । मन पराएको मान्छेलाई केही नहोस् भनेर फूल समर्पण गरेको भाव छ । कविले सानो झिल्का समातेर दियो बाल्ने हो गीत वा कवितामा । शब्दलाई सङ्गीतले गहिरो बुझेको छ । यसमा वरिष्ठ सङ्गीतकार शिलाबहादुरलाई मैले प्रशंसा गर्नै पर्छ ।
युरोपका प्रसिद्ध गीतकार Jonathan Culter ले भन्छन् 'the lyric words claims its emotional place in music and poetry, with the word to a song being that called while a lyric power is one steeped in personal emotion making its song.' सायद यो परिभाषाभित्र मेरो यो शब्दको वातावरण परिवेश खोलिन्छ होला जस्तो लाग्छ । ठाउँ अनुसारको सपना देखिन्छ । मान्छेको सङ्गत हुन्छ । जीवनको अनुभूति हुन्छ।
मलाई पछिल्लो जिल्ला बसाइले ठुलो अवसर दियो। मेरो जिल्लाका तत्कालीन सप्तेस्वर छितापोखरी योंग्सोला बस्ने आदरणीय पेशल राई हुनुहुन्छ । उहाँ तार्किक मार्मिक बौद्धिक व्यक्तित्व हुनुहुन्थ्याे । जिल्लामा नाम चलेको राजनीतिकर्मी पनि हो । मैले सम्मान गर्ने अग्रज ,भन्नु हुन्थ्यो मलाई- ‘यो पेशललाई प्रत्येक ढुङ्गाले चिनेको छ ।' वास्तवमा सत्य पनि हो, राजनीतिमा समय खर्चिएको हुन्छ, सामान्य मान्छेले नदेख्न सक्छ । त्यसको पीडा उसैलाई मात्र थाहा हुन्छ । अग्रज पेशल राईलाई सम्झँदै भनाइ सापटी लिन चाहन्छु । कुन गाउँको बाटो, पहरा, ढुङ्गा घर कस्तो छ मैले पनि चिनेको छु । सायद बाटोले, हाटबजारले, माटोले, मान्छेले मलाई नचिनेको हुनसक्छ ,तर ती अनुभूतिहरू मेरो मानसपटलमा ताजै छ ।
यो मेरो शब्दको गीत धेरैले रुचाएको गीत हो जस्तो लाग्छ । भन्न त सबै स्रष्टाहरूले यसै भन्छन् नभन्नु होला । गीत पनि कविको निजत्व मन हो । मेरो दुःख र सुखलाई गीतको रूपमा सम्मान गरिदिनु भएको छ श्रोताहरूलाई हौवा सहित धन्यवाद भन्न चाहन्छु ।
याे गीत युट्युबमा पनि सुन्न सक्नु हुने छ