धनचन्द्र राई | साहित्य | जेठ २४, २०७७
आजकल फेसबुकको भित्तामा
क्रान्तिको किला ठोकेर
केहि तास फोटो झुन्डाएको देख्छु
बैंशालु रोजाहरुले ।
तन्काएर छाति
उचालेर ओंठ,
छोटाएर कपडा
प......र बाटै देखिन्छ
तिम्रा अंगहरु
तिमिले लेखिरहनु पर्दैन क्याप्सन
'टिन एजर्स हुँ ' भनेर
कोठाको ऐनाहरु भ्रममा छन्
झ्यालका पर्दाहरु भ्रममा छन्
रातभरी आँखा छलेर परिवर्तन भएका
हिजोका गहूँगोरिहरु
आजका हिउँगोरिहरु
सौन्दर्यको हिमायतिहरु
बैंशका पारखीहरु
झुक्याएर प्रकृतिलाई
हिमाल लुकाए पनि
समुन्द्र सुकाए पनि
बदल्न सक्दैन आकाशले जुन
पगाल्न सक्दैन पानिले सुन
हिजो रातो झण्डा उठाएर
चिच्याएको तिम्रो आवाज
आज पनि हावामा तरंगित छ
बस्तिहरुमा चम्किएको तिम्रो मुहार
अझै झिपझिप छ
तिमिले खुवाएको सपथ
तिमिले सिकाएको गोपनियता
अझै भंग गरेको छैन
औंसिपछि जुन उदाउँछ भन्ने आशामा
दियो बालेर द्यौसि खेलि रहेका छन्
तिम्रै बिजयको खातिर
लाख आशिस दिई रहेका छन् ।
बर्षौं देखि बलेको आशाको दियोमा
भरोसाको तेल सकिँदै गएपछि
दिनदिनै हावामा मलिन हुँदैछ
मेघ डगमगाउँने नाराहरु
छिनछिनै बादलमा बिलिन हुँदैछ
धर्ती जगमगाउँने ताराहरु
उहि झुपडिहरु साँक्षी छन
मुठि उठाएर खाएको कसम
मुठि नफुक्दै
किन जलायौ
रातो किताबका पन्नाहरु
उहि सोझाहरु साँक्षी छन
शिखर चुम्न हिडेको यात्री
भञ्ज्याङ नपुग्दै
कति मैलायौ
तारे होटलका तन्नाहरु ।
अझैपनि जुन उदाउँछ भन्ने आशमा
दियोमुनि बाँचिरहेकीहरु अकेलीहरु
आफ्नो प्वाँख जलाउँदै नाचिरहेकी पुतलीहरु
त्यहि झण्डा फरफराउदै
त्यहि नारा बरबराउँदै
तिम्रै पर्खाईमा छन
झुपडिका सोझाहरु
उचालेर ओंठ, तन्काएर छाति
छोटाएर कपडा
निलो ताज पहिरिदै छन
बैंशालु रोजाहरु ।।
(जर्मन नागरिक रोजा लक्जमवर्ग कार्ल माक्र्स, स्टालिन र लेनिनका सहकर्मी महिला नेतृ हुन् )