जुनु दिव्य राना | साहित्य | जेठ २४, २०७७
यो संसारमा
अजम्बरी त केही छैन आमा !
फूल पनि छैन
ढुङ्गा पनि बालुवा भएर उड्छ
पानी माटोमा बिलिन्छ
तर
तिम्रो माया त्यही माटोमा समाहित छ आमा !
जुन माटोमा म पनि समाहित हुनेछु
विशाल पहाड
र महासागरहरू चहार्ने बादल पनि
हावाको एक झोक्काले हराउँछ
तर
तिम्रो माया आमा यही हावासँग समाहित छ
जुन हावा
मैले फेर्ने सास बनेर म जिउँदो छु !
धनले सम्पूर्ण किन्न सकौँला
शरीर तागत र निरोगी बलियो हुन्जेल
कसैको सहारा नचाहिन सक्ला
तर
तिम्रो माया किन्ने कुनै
धनवानको जन्म भएको थाहा छैन आमा !
तिमी सम्पूर्ण हौ
म पनि आमा हुँ
तर
तिम्रो काखको चाहना अझैसम्म उस्तै छ
जति चाहना
म बोल्न नजान्दा थियो
जति चाहना
म हिँड्न नजान्दा हुन्थ्यो...
आमा !
हङकङ