मेडिकल डाक्टरकाे चेतनायात्रा

नेपालीमा एउटा गहकिलाे पुस्तक

मेडिकल डाक्टरकाे चेतनायात्रा

प्रा.डा. सराेज धिताल  |  समाज  |  फागुन २७, २०७५


साहसकासाथ जिउन सिक्दा हामी आफैंभित्र आमूल परिवर्तन भइरहेको हुन्छ । निरन्तर सामना गर्नुपर्ने चुनौतीहरुको स्वभाव बुझ्न, हाम्रो आफ्नै निसर्ग बुझ्न र सत्यको स्वभाव बुझ्न अवसर प्राप्त गरिरहेका हुन्छौं । सिकाइको यो प्रक्रियालाई सपनाबाट ‘बिउँझनु’ भन्नुभएको छ— बुद्ध र उहाँको अनुसरण गर्दै हिंड्नुभएका गुरूहरुले । सपनामा हामी जे अनुभव गर्छौं ती सत्य हुँदैनन्, तर सपना देखुन्जेल भने ती सबै सत्य नै प्रतीत हुन्छन् । 

तपाईंलाई पनि आफ्नो जीवनमा यस्ता अनुभवहरु पक्कै भएका होलान् । धेरैले आफ्ना सपनाका बारेमा मसँग कुरा गरेका छन् । तिनका सपनामा कहिले डरलाग्दो राक्षसले लखेटेको हुन्छ रे, कहिले भने आफ्नै घरमा अनेक गुप्त कोठाहरु भएको देखिन्छ रे, परिचित  मानिसहरुसँग एकदमै असहज परिस्थितिमा आफूलाई देख्छन् कोहीकोही सपनामा... । सपना अनेक किसिमका हुन्छन् । जब घडीको अलार्म बज्छ वा बच्चाहरु जब सपनाबाट आत्तिंदै बिउँझन्छन् र आमा वा बाबुसँग लपक्क टाँस्सिन्छन्, जब घरको कुकुर भुक्छ वा बिरालोले म्याउँ गर्दै नाक दल्न आउँछ, सपनाबाट मानिस बिउँझन्छ र नितान्त फरक वास्तविकतामा उत्रिन्छ ।

बिउँझिंदा प्रायः हठात बिउँझिइन्छ । यसरी बिउँझिंदा कुनै–कुनै बेला त निकै असहज पनि हुन्छ । बिउँझिसकेपछि पनि विभिन्न विचार, दृश्यचित्र र भावहरु बतासमा माकुराको जालो हल्लिए झैं हल्लिइरहन्छन् । सपना अलि चर्को रहेछ भने ती जालाहरु निकै बेर त्यत्तिकै हल्लिइरहन्छन् । कुनै बेला त दिनभरिजसो नै तिनले सताइरहन्छन् । हामी तिनलाई पन्छाउन खोज्छाै‌ं र अन्ततः पन्छाएरै छाड्छौं पनि ।

कुमालेको चक्र 

तर, तत्कालै हामी अर्को तहको सपनामा फस्छौं— दैनिक जीवनको ‘वास्तविकता’ रुपी सपनामा । ‘सापेक्षिक सत्य’ को सपनामा । यो सपनामा पनि हामी असङ्ख्य असुरक्षा र डरको अनुभूति गर्छौं । ती सबै त्यत्तिकै वास्तविक र ठोस लाग्छन् । तर, तिनलाई गहिरिएर हेर्ने हो भने न त त्यति ठोस हुन्छन्, न त हामीले सोचे जति सत्य नै । यो ‘दिवास्वप्न’ (सामान्य सपना पनि यसैका अंश हुन्) लाई संस्कृतमा ‘संसार’ र तिब्बती भाषामा ‘खोर्लो’ भनिन्छ । दुवैको अर्थ हो— एउटै दिशामा फनफनी घुमिरहेको पाङ्ग्रासँगै घुम्नु । 

‘संसार’ लाई सामान्यतया कुमालेको चक्रसँग तुलना गर्ने गरिन्छ । कुमाले दाइ त्यो चक्रमा मुछेको माटो हाल्छन् । अनि त्यो चक्का फनफनी घुमिरहँदा आफ्नो हातले भएभरको सीप लगाएर माटोको त्यो पिण्डलाई आकार दिन्छन् । 

त्यसरी नै, हामी सबै आफ्नो जीवनमा एक किसिमको गतिलाई अनुभूत गर्छौं, आफैंले केही नयाँ वस्तु वा घटनाको सृजना गरिरहेको ठान्छौं । तर, यथार्थमा भने आफ्नो उही पुरानो मानसिक वा संवेगात्मक बानी नै ‘रिसाइकल’ भइरहेको हुन्छ । विभिन्न रुप र आकारमा पुरानै कुराको पुनरावृत्ति भइरहेको हुन्छ ।

प्रसिद्ध मनोवैज्ञानिक कार्ल युङ्गको एउटा भनाइ सुनेको थिएँ, ‘सारा विश्व नै शान्तिको कामना गरिरहेको छ एकातिर तर अर्कातिर त्यही विश्व लडाइँको तयारीमा जुटिरहेको छ ।’ अर्थात् हामी जे कुराको चाहना गरिरहेका हुन्छौं, त्योसँग बिल्कुल अमिल्दो हुन्छ हाम्रो सोचाइ, भोगाइ र गराइ । बिहान बिउँझेदेखि लखतरान भएर राति नसुतुन्जेल हामी असङ्ख्य सामाजिक, मनोवैज्ञानिक, वातावरणीय र आर्थिक चुनौतीसँग जुझिरहेका हुन्छौं ।

यो ‘कुमालेको चक्का’ लाई जति छिटोछिटो घुमाए पनि, जतिसुकै सीप लगाए पनि, केही न केही निराशा भोग्नैपर्ने हुन्छ । हाम्रो सृजना कतै चोइटिन सक्छ, कतै फुट्न सक्छ । सम्बन्धहरु भत्किन सक्छन् । जागिर खुस्किन सक्छ । घरखेत गुम्न  पुग्छन्... ।

प्रसिद्ध मनोवैज्ञानिक कार्ल युङ्गको एउटा भनाइ सुनेको थिएँ, ‘सारा विश्व नै शान्तिको कामना गरिरहेको छ एकातिर तर अर्कातिर त्यही विश्व लडाइँको तयारीमा जुटिरहेको छ ।’ अर्थात् हामी जे कुराको चाहना गरिरहेका हुन्छौं, त्योसँग बिल्कुल अमिल्दो हुन्छ हाम्रो सोचाइ, भोगाइ र गराइ । बिहान बिउँझेदेखि लखतरान भएर राति नसुतुन्जेल हामी असङ्ख्य सामाजिक, मनोवैज्ञानिक, वातावरणीय र आर्थिक चुनौतीसँग जुझिरहेका हुन्छौं । समकालीन विश्व अर्थतन्त्रको विद्यमान कठिनाइ, विश्वव्यापी मौसम परिवर्तनको हानिकारक परिणाम, प्राकृतिक विपत्ति र रोगका प्रकोपहरु, व्यक्ति तथा समूहहरुबाट निरन्तर भइरहेका हिंसाहरु... यस्तो लाग्छ, हामी बाँचिरहेको सिङ्गै विश्व नै एउटा टाइम बम हो जो टिकटिक गरिरहेको छ र विस्फोट हुन केही क्षण मात्र बाँकी छ । 

हाम्रो आन्तरिक जीवनमा पनि यो बाहिरी विश्वका सबै गञ्जागोल प्रतिविम्बित भइरहेका छन् । विपत्तिका सम्भावनाहरुलाई निम्त्याउने ‘बहुकर्म’ का विशेषज्ञ भएका छौं हामी । हाम्रा मनहरु अविरल चलिरहने टेलिभिजनका च्यानेल झैं बनेका छन् । पर्दाको मूल भागमा तत्क्षणको मूल कथा चलिरहेको छ, छेउको सानो ‘विन्डो’ मा मौसम वा ‘स्टक–एक्स्चेन्ज’ को कुनै खबर हुन्छ, अनि तलतिर भने कमिला दगुरे झैं हिंडिरहेका अक्षरहरुले ‘ब्रेकिङ न्यूज’ मा सनसनिखोज समाचारहरु दिइरहेका हुन्छन् । 

मान्छेले बाह्य रुपमा भोगिरहेका यी घाउहरु हाम्रो आन्तरिक जगत्को गहिरो चोटका प्रतिबिम्ब हुन् । विरोधाभास छ हामीभित्र— एकातिर सुस्वास्थ्य र समृद्धिको तीव्र चाहना छ, आफूलाई हानि–नोक्सानी गर्न सक्ने कुनै पनि कुराको विरुद्ध जुझ्ने आग्रह छ । तर, अर्कोतिर कुनै व्यक्ति वा परिस्थितिले हाम्रो हृदयभित्र पारेका घाउका कारण सृजना भएको डर, एक्लोपन र निराशा छ— ती घाउहरु कहिल्यै निको नहुने जस्ता लाग्छन् हामीलाई ।

हामी आफूलाई असजिलो परिस्थितिमा पाउँछौं  । एकातिर आफ्नो सचेत नियन्त्रणमा रहेको विचार, भावना र कर्म छन् । अनि अर्कोतिर चेतनाको नियन्त्रण बाहिरका तत्वहरुले सृजना गरेका अनेक बानी । यी बानीहरुले पनि हाम्रा विचार, भावना र कर्मलाई बेस्सरी प्रभावित गर्छन् तर आफैं भने सामान्यतया नियन्त्रण बाहिर हुन्छन् । यी दुईका बीचमा सन्तुलन कायम गर्न सहज हुँदैन । यो असहजताले गर्दा आफूले द्वैध जीवन बिताइरहे जस्तो अनुभव हुन्छ हामीमध्ये धेरैलाई । एउटा छायाले हामीलाई पछ्याइरहे जस्तो हुन्छ— सचेत रुपमा अरुका अगाडि हामीले प्रस्तुत गर्ने गरेको आफ्नो व्यक्तित्वभन्दा बिल्कुल फरक अर्को ‘म’ ले । यो छायालाई चिन्न र ऊसँग सहमतिमा आउनु भनेको अत्यन्त असहज हुन्छ हाम्रा निम्ति । तर, यसको सकारात्मक पक्ष पनि छ । त्यो के भने छाया त  प्रकाशले जन्माउने हो नि ! त्यसैले, छायाको अन्तर्यलाई बुझ्दा र त्यसलाई स्वीकार गर्दा प्रकाशको दिशा पनि पहिल्याउन सकिन्छ ।

म सानो बच्चा हुँदा जबजब मेरा बाजे ध्यान गर्नुहुन्थ्यो म थपक्क उहाँको काखमा बस्ने गर्थें । दुई–तीन वर्षको उमेरमा ध्यान भनेको के हो बुझ्ने कुरा  भएन । बाजेले मलाई न यसो गर उसो गर भन्नुहुन्थ्यो, न आफ्ना अनुभूतिका बारे नै केही सुनाउनुहुन्थ्यो । तर पनि उहाँको काखमा बस्दा आफूभित्र र आफ्नो वरिपरि के भइरहेको छ भन्नेबारे बालसुलभ कल्पनाशीलतासँगै मलाई अपार सहजताको अनुभूति हुन्थ्यो । मेरो शरीरमा, मनमा र हृदयमा कुनै चीज झन्झन् उज्यालो, झन् स्पष्ट हुँदै आएको अनुभूत हुन्थ्यो ।

अलि ठूलो भएपछि मात्र बुझें, शैशवकालमा अनुभूत गरेको ‘त्यो चीज’ सबै प्राणीभित्र रहेको जीवनज्योतिलाई प्रकाशित गराउने प्रकाशबीज रहेछ । विभिन्न सम्प्रदायमा यसलाई फरक–फरक नाम दिइएको छ । र, यसको नैसर्गिक स्वभावका बारेमा शताब्दीयौंदेखि धेरै शास्त्रार्थ हुने गरेका छन् । बौद्ध शिक्षामा भने यसलाई सुगतगर्भ वा तथागतगर्भ  भनिन्छ । पश्चिमाहरुले अनुवाद गर्दा यसलाई ‘बुद्ध नेचर’ (बुद्ध स्वभाव) भन्ने गरेका छन् । बुद्ध स्वभाव भनेपछि ‘यसको अर्थ भिक्षुको जस्तो चीवर धारण गरेर गाउँगाउँमा भिक्षाटन गर्दै र धर्मप्रवचन दिँदै हिंड्नु त होइन’ भन्ने पनि लाग्न सक्ला कसैलाई । तर, त्यस्तो होइन । सुगत शब्द ‘सु’ (असल, राम्रो, आनन्द, कल्याण... आदि) र ‘गत’ (गएको) बाट बनेको छ । जो कल्याणमय, परमानन्द, उत्तम, पवित्र, शाश्वत सत्यमा गयो— त्यो ‘सुगत’ भयो । तथागत  शब्द ‘तथा’ (त्यसरी) र ‘गत’ बाट बनेको छ । यसको अर्थ पनि त्यही हो । बुद्ध जस्तै जो विभिन्न किसिमका सङ्घर्ष, भ्रम र दुःख नाघेर गए, जो ‘त्यसरी’ नै पार भए, ती तथागत भए । यो स्थिति भनेको साँच्चैको आनन्द र कल्याणमय स्थिति भनेर बुझ्न सकिन्छ । गर्भको अर्थ बीज पनि हो । कुनैकुनै बेला ‘मूल’ को जस्तो अर्थ लाग्न पनि सक्छ । तर, यहाँ ‘सार’ बढी उपयुक्त होला । त्यसैले सुगतगर्भ वा तथागतगर्भलाई पश्चिमाहरुले ‘बुद्धस्वभाव’ भनेर अनुवाद गरेका छन् । जो विरोधाभास, भ्रम आदिबाट पार भएर कुनै बादलले नछोपेको पूर्ण अनावृत्त कल्याण र आनन्दमा प्राप्त भएको छ, उसको निसर्गका रुपमा, उसको सद्गुणको सारका रुपमा सुगतगर्भ वा तथागतगर्भलाई बुझ्न सकिन्छ । बौद्ध धर्मको एउटा आधारभूत शिक्षा के हो भने हामी सबैभित्र बुद्धस्वभावको त्यो बीज, त्यो सार, त्यो मूल छ । हामी सबैमा सुगतगर्भ  वा तथागतगर्भ छ ।

बुद्धस्वभावको वर्णन गर्न गाह्रो छ । सीमाविहीन छ यो । तर, वर्णन गर्नका निम्ति हामीले उपयोग गर्ने शब्द र आकृतिका भने सीमा छन् । त्यसैले बुद्धस्वभाव शब्दचित्रभित्र अटाउनै सक्दैन । अन्य आध्यात्मिक परम्पराका गुरूहरुले पनि यो समस्या झेल्नुपरेको छ । आध्यात्मिक गुरूहरु मात्र होइन, समकालीन वैज्ञानिकहरुलाई समेत भौतिक जगत्कै वर्णन गर्दा पनि स्पष्ट, सुन्दर, छोटो शब्दचित्रमा वर्णन गर्न त्यत्तिकै कठिन हुने गरेको छ । बीसौं शताब्दीका महानतम् वैज्ञानिकमध्येका एक अलबर्ट आइन्स्टाइनले समेत ‘क्वान्टम फिजिक्स’लाई टुनामुनाको पैशाचिक विज्ञान (स्पूकी साइन्स) भनेर उडाएका थिए । हामी भने अचेल त्यही ‘क्वान्टम फिजिक्स’का कारण स्मार्टफोनका एप्स चलाएर यति धेरै काम गरिरहेका छाैं ।

बुद्ध स्वभावको कुरा पनि कतिलाई त्यस्तै तिलस्मी, काल्पनिक लाग्न सक्छ । तर, दुई हजार वर्षभन्दा लामो परीक्षण र अनुभवले सिद्ध गरेको यथार्थ हो यो ।

हामीभित्रको त्यो जाग्रत निसर्गको साँच्चैको अनुभूति शब्दमा चित्रण गर्न सम्भव नभए तापनि विगत दुई सहस्राब्दीदेखि विभिन्न व्यक्तिहरुले शब्दकै माध्यमबाट त्यो अनुभूतितर्फको यात्राको मार्गलाई भने प्रकाशित गर्ने प्रयत्न गरेका छन् ।

मेरो आफ्नै जीवनको एउटा उदाहरण सुनाउँछु । धेरै वर्षअघि आदेउ रिन्पोचेले मलाई एउटा काम लगाउनुभयो— ड्रुग्पा काग्यु परम्पराका सकेसम्म धेरै धर्मग्रन्थहरु जम्मा गर्ने । यी ग्रन्थहरु तिब्बत, नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा छरिएर रहेका थिए । तीमध्ये कति अपूर्ण थिए, अरु कति भने हस्तलिखित प्रतिलिपिबाट फेरि अर्को प्रतिलिपि, फेरि अर्को... गर्दै कैयौं चोटि नक्कल उतार्ने क्रममा प्रशस्त त्रुटि र अस्पष्टताले भरिएका थिए । ती सबै त्रुटिलाई सच्याएर यथा सान्दर्भिक स्थानमा पुनःस्थापित गर्नुपर्ने जिम्मा मलाई आइपरेको थियो । ३०० पेज जति मोटा ११३ वटा ग्रन्थलाई क्रमबद्ध पार्ने, पुनर्विन्यास गर्ने अनि पुनःसंयोजन गर्ने काम चानचुने थिएन ।

म दिनदिनै आफ्नो घरबाट बौद्धनाथको त्यो थोत्रो घरसम्म ड्राइभ गरेर जान्थेँ जहाँ मेरो अफिस थियो— प्रायः ट्रक, कार, रिक्सा र मानिस अनि सँगसँगै खसी–बोका र गाई–गोरूले समेत जाम गराएको कतै साँघुरो, कतै कच्ची सडक हुँदै त्यहाँसम्म पुग्न पैंतालीस मिनेट लाग्थ्यो ।

त्यो प्रोजेक्ट नसकियुन्जेल मलाई निकै तनाव भइरह्यो । मेरो ‘सामजिक म’ ले नै सबै अन्तरक्रियाको जिम्मा लिन थाल्यो । धर्मपरम्पराको रक्षाका निम्ति मात्रै नभएर म गुरूका आँखामा राम्रो देखिनका निम्ति पनि यो प्रोजेक्ट सिध्याउन चाहन्थेँ, सम्भवतः केही हदसम्म ‘आत्मश्लाघी म’ को समेत भूमिका रहन थाल्यो होला— त्यो प्रोजेक्ट सम्पन्न हुँदा व्यक्तिगत तहमा समेत आत्मसन्तुष्टि प्राप्त हुने थियो ।

तर, बिस्तारै–बिस्तारै मलाई आफूले लिएको यो जिम्मा धानिनसक्नु हुँदै गएको लाग्न थाल्यो । आफ्नो गुम्बामा मैले नै गर्नुपर्ने काम होस्, कि मेरै जिम्मामा भएका तिब्बत र नेपालमा छरिएका कैयन आनी–गुम्बाहरुको पुनर्निर्माणको काम होस्, सबै नै प्रभावित हुन थाले । अनि परिवारसँग बिताउनुपर्ने समयको त झन् कुरै नगरौं । ती ग्रन्थहरुमाथि काम गर्ने सिलसिलामा मबाट बेलाबेलामा गल्ती पनि हुन्थे, त्यसो हुँदा एकसरो गरिसकेको काम फेरि गर्नुपथ्र्यो— फेरि सार्नु, पुनर्लेखन गर्नु, पुनर्मुद्रण गर्नु...

एक दिन गाडी चलाएर बौद्धनाथ गइरहँदा चाल पाए— मेरो आन्तरिक वेग कति बढिरहेको रहेछ भन्ने कुरा । बौद्धनाथ पुगुन्जेल त म थाकेर लखतरान भइसकेको हुन्थेँ । अनि आफैँसँग भन्न थालेँ, ‘तँ गाडी चलाइरहेको छस् । त्यहाँ पुग्न जति बेर लागोस्— पैंतालीस मिनेट, एक घण्टा, दुई घण्टा, जतिसुकै लागोस् न, आफूभित्रको वेग किन बढाउनुपर्‍यो र ! आफ्नै स्वाभाविक गतिमा अघि बढ्ने हो— बाटोको ट्राफिक जाम, सडक छेकेर बसेका गाई–गोरू र खसी–बोकाका बारेमा किन धेरै चिन्ता लिने !’ अनि त्यसपछि भने जतिसुकै बेर लागोस्, छिटो पुग्नुपर्छ भन्ने कुरा मनमा नलिईकन आनन्दले गाडी चलाउन थालें । भरे भन्दा त सधैं झैं ठीक बेलामै अफिस पनि पुग्थें– फरक के मात्र भयो भने हतारो र दबावको अनुभूति भने हुन छोड्यो ।

यसरी आफैंसँग कुरा गर्नु नै वास्तवमा एउटा ‘बुद्ध क्षण’ थियो । मलाई बोध भयो— मेरो जीवनऊर्जालाई निचोरिरहेको कामको बोझ वा समयसीमाले होइन रहेछ, आफ्नै आन्तरिक ‘गतिसीमा’ लाई वास्ता नगर्ने बानीले पो रहेछ । यसको अर्थ मैले गाडी चलाउँदा बिस्तारै चलाउनुपथ्र्यो वा समयसीमाको वास्ता नगरी ढिलो काम गर्नुपथ्र्यो भन्ने होइन, न त बाह्य परिस्थितिलाई परिवर्तन गर्नुपथ्र्यो भन्ने नै हो । जीवनका चुनौतीहरुको मागका कारण सूक्ष्म शरीरका ढाँचामा आउने उतारचढावको व्यवस्थापन गर्न सिक्नु मात्र थियो ।

 

पेशाले चिकित्सक रहनुभएका डा. धितालले वौद्ध गुरुको पुस्तक नेपाली भाषामा रुपान्तरण गर्नु भएको छ  । आउँदो बुधबार २९ गते पुस्तकको लोेकापर्ण हुँदैछ । प्रस्तुत यसै पुस्तकको केही अंश