लोकसंवाद संवाददाता | विदेश | जेठ २५, २०७७
काठमाडौं । पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गर्नु भएको छ ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उहाँको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ । ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि आवश्यक एक हजार ९९१ जना प्रतिनिधि संख्या आफूलाई प्राप्त हुने सुनिश्चित भएको बताउनुभयो ।
मंगलबार सम्पन्न डेमोक्र्याटिक पार्टीको चुनावमा आफूलाई पार्टीका तर्फबाट मनोनयनमा पर्न आवश्यक संख्या प्राप्त भएको बताउँदै उहाँले अब मुलुकको सर्वोत्तम हितका लागि राष्ट्रपति पदको औपचारिक चुनावी यात्रामा निस्कने बताउनुभयो ।
गत अप्रिलमै राष्ट्रपति पदको दौडमा रहनु भएका अर्का प्रत्यासी भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले चुनावी दौड परित्याग गर्नु भएको थियो । उहाँले पनि जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ । अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्योयडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि देशव्यापी प्रदर्शन र हिंसाबीच नै डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव सम्पन्न भएको थियो । फ्योयडको निधनप्रति बाइडेनले अहिले अमेरिकी इतिहासमै कठिन मोडमा उभिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको विभाजनकारी, क्रोधी राजनीतिको कुनै जवाफ नभएको प्रतिक्रिया दिनु भएको छ ।
उहाँले भन्नुभएको छ, संयुक्तराज्य अमेरिका अहिले वैकल्पिक नेतृत्व खोजिरहेको छ, त्यस्तो नेतृत्व जसले हामीलाई एकताबद्ध गर्न सकोस् । प्रदर्शनकारीका सम्बन्धमा बाइडेनको प्रतिक्रिया ट्रम्पको भन्दा विल्कुलै भिन्न छ । ट्रम्पले प्रदर्शन नियन्त्रणका लागि अमेरिकी नागरिक विरुद्ध नै सैनिक परिचालन गर्ने धम्की दिनुभएको थियो ।
कोरोनाभाइरसका कारण मध्य मार्चदेखि आफूखुशी एकान्तबासमा रहनु भएका ७७ वर्षीय बाइडेनले आफू ह्वाइट हाउसमा निर्वाचित भए 'प्रणालीगत नश्लियवाद' मा व्यापक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।