अभिभावक स्वयंको अग्रसरता : लकडाउनमा शिक्षण सिकाइका ६ विकल्पहरू

अभिभावक स्वयंको अग्रसरता : लकडाउनमा  शिक्षण सिकाइका  ६  विकल्पहरू

राजकुमार महर्जन  |  शिक्षा  |  जेठ २६, २०७७

आज ७७ औँ दिन पुगेछ, कोविड–१९ बाट बच्न सरकाले लकडाउन घोषणा गरेको । सरकारी तथ्याङ्कमा कोरोना सङ्क्रमितको सङ्ख्या भर्खर उकालो लाग्न थालेको छ सङ्क्रमितको सङ्ख्या पहिलो १०० जना पुग्न लकडाउन सुरु भएको ५५ दिन लागेको थियो । त्यसको १५ दिन पछि अर्थात् ६९ औँ दिनमा कूल ६०२ पुग्यो । त्यसको एक हप्ता पछि अर्थात्, हिजो सम्ममा कूल सङ्क्रमित सङ्ख्या ३४४८ र मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । एकै हप्तामा ६ गुणा भन्दा धेरै बढेको यो तथ्याङ्कले के जनाउँछ भने नेपालमा सङ्क्रमण भर्खर उकालो लाग्न थालेको छ ।  

विश्वका अन्य देशहरूमा पनि कोरोना सङ्क्रमणको प्रवृत्तिलाई नियाल्ने हो भने पहिलो र दोस्रो महिनामा खासै नबढ्ने, तेस्रो महिना महामारीको रूप लिने, चौथो र पाँचौँ महिनादेखि मात्र कम हुँदै गएको भेटिन्छ । यसैलाई आधार मान्ने हो भने हाम्रा लागि अबको महिना अझै जोखिमपूर्ण छ । अर्कोतर्फ नेपालमा अधिकांश कोरोना सङ्क्रमितमा लक्षण नदेखिनु र मृतकहरू पनि मृत्युपर्यन्त मात्र सङ्क्रमित घोषणा गरिनुले समाजमा यसको वास्तविकता र विश्वसनीयता माथि पनि प्रश्न उठ्न थालेको छ । सरकारका कतिपय विवादास्पद गतिविधिका कारण सबै कुरालाई आँखा चिम्लेर विश्वास गर्न सक्ने ठाउँ पनि छैन । 

ज्येष्ठ २० गतेसम्ममा सङ्क्रमितको सङ्ख्या २ हजार मात्र छोएको थियो । त्यतिन्जेल कोरोना नियन्त्रणका लागि नेपाल सरकारले कूल ९ अरब ८७ करोड खर्च गरिसकेको तथ्य बाहिर ल्यायो । जस मध्ये केन्द्रबाट ६ अरब ३ करोड, प्रदेश तहबाट १ अरब ८ करोड र स्थानीय तहबाट २ अरब ७६ करोड खर्च भएको भनियो । कोषमा स्व–स्फूर्त रूपले २ अरब ३२ करोड रुपैंया जम्मा भएको छ, अरू पनि तपाई हामीले तिरेको करको रकम नै हो । 

सरकारले गरेको भनिएको यो खर्चमा निकै प्रश्नहरू उठेका छन् । उठ्नु पनि पर्छ । यदि सोही रकम श्रमिकको न्यूनतम पारिश्रमिक ८ हजार ५०० का दरले सिधै बैङ्क खातामा जम्मा गरिदिएको थियो भने पनि ११ लाख ६१ हजार १ सय ७६ जना जनताले प्रत्यक्ष राहत पाउँथे । सरकारले आफूले गरेको खर्चको विस्तृत विवरण सार्वजनिक गर्न सकेन भने यो विषय त्यत्तिकै सेलाउने देखिँदैन । यस सम्बन्धी थप व्याख्या र विश्लेषण गर्ने जिम्मा आदरणीय पाठक वर्गमै छोडेको छु ।

यस आलेखको प्रमुख चासो भनेको कोरोना नियन्त्रणको नाममा सरकारले अनियन्त्रित ढङ्गले खर्च गरिरहँदा इसिडि देखि १२ सम्मका करिब ८१ लाख २७  हजार २ सय ६३ जना बिद्यार्थीहरुको मानसिक स्वास्थ्य र शैक्षिक भविष्य के हुने भन्ने हो । लकडाउनको यत्रो दिनसम्ममा हरेक विषयमा बहस र समाधानका उपायहरू अवलम्बन गरिए तर यी विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको बारेमा खासै चासो दिएको पाइँदैन । उनीहरू सधैँ सरकार र सरोकारवालाहरू बिचको हानथाप र तानातानमा परिरहेका छन् । 

उल्लेखित के तर महत्त्वपूर्ण विकल्पहरू हुन् । यी बाहेक पनि अन्य थुप्रै विकल्पहरू हुन सक्छन् । स्व–स्फूर्त क्रियाशील बनेर लागिपर्ने व्यक्तिहरूले एक नभए हजार विकल्पहरू निकाल्न सक्छन् । त्यसैले अन्त्यमा यति मात्र भन्न चाहन्छु, ‘खाने मुखलाई मास्कले छेक्दैन । खानै नचाहनेलाई आफ्नै जिब्रो पनि भारी हुन्छ ।’

सरोकारवालाहरूको चरम असन्तुष्टि र दबाब पछि बल्ल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गते देखि लागू हुने गरी शिक्षण सिकाइका बैकल्पिक उपाय सहित शिक्षण सिकाइलाई निरन्तरता दिन निर्देशिका जारी गर्‍यो । त्यसको कार्यान्वयनको चुनौतीको बाबजुद पनि कतिले जिम्मेवारी बोध गरेर अघि बढ्छ, त्यो कुरा हेर्न बाँकी नै छ । हुँदैन, सम्भव छैन भनेर पन्छिन कसैले पनि मिल्दैन । अब पनि बहाना बाजी र दोषारोपणमा अल्झिरहने हो भने सम्पूर्ण बालबालिकाहरूको श्राप लाग्दछ । जति सकिन्छ, जसरी सकिन्छ, त्यसको थालनी गर्ने बेला होइन ढिला भइसक्यो । 

निरोगी हुनुको अर्थ बिरामी नपर्नु मात्र होइन । हाँस्ने, खेल्ने, कुद्ने, उफ्रने, डुल्ने, घुम्ने बालबालिकाहरूको नैसर्गिक अधिकार हो । यसको मतलब जथाभाबी बजार घुमाउनु वा स्कुल पठाइहाल्नु भन्न खोजेको होइन । चासो यो हो कि साना केटाकेटीहरूलाई घर भित्रै सीमित गर्ने तर हामी ठुलाहरू चाहिँ काम विशेषले होस या अरू नै कुनै पनि बहानाले बाहिर घुमिरहेका हुन्छौ । यस्तो अवस्थामा घर भित्रै गुम्सिएका केटाकेटीहरू पनि कुन हदसम्म सुरक्षित होलान् ? यो सोचनीय विषय हो । हामी ठुलाहरू बाहिर हिड्डुल गर्दा कुनै अनजान सङ्क्रमितको समीपमा आई भाइरस बोकेर घर फर्कियौँ भने के हुन्छ ?  

माथि नै उल्लेख गरिसकिएको छ, बन्दाबन्दी खुलेपछि पनि केटाकेटीहरू भौतिक रूपमै स्कुल गएर पढ्ने वातावरण बन्न समय लाग्छ । त्यतिन्जेल के गर्ने त ? यति बेला अभिभावकको भूमिका झन् बढेको छ । अब पनि अभिभावकले हात बाँधेर बस्न मिल्दैन । अभिभावकले एउटा उपयुक्त विकल्प रोज्नै पर्छ । 

सोच र आचरणको हिसाबले तीन प्रकारका मानिस हुन्छन् । पहिलो केही बितेको छैन भनेर अझै चुप लागेर बस्ने । दोश्रोः सरकार वा सम्बन्धित स्कुलले केही गरिदिएन भनी गाली गर्दै बस्ने । तेश्रोः आफै क्रियाशील भएर कुनै न कुनै उपाय खोज्ने । तपाईँको नानी आज जुन अवस्थामा छन् हिजो तपाईँले गर्नु भएको निर्णयको प्रतिफल हो । आज तपाई जुन निर्णय लिनुहुन्छ, त्यसले तपाईँका छोराछोरीहरूको भोलिको भविष्यको निर्धारण गर्दछ । रोजाई तपाईँको । 

पहिलो समूहमा पर्नेहरू सुतेका हुन् । ब्युँझाउन सकियो भने केही गर्न तत्पर हुन्छन् । दोस्रो समूहका मान्छेहरू खतरनाक हुन्छन् । ब्युँझिए जस्तो देखिन्छ तर मन र मस्तिष्क कहिल्यै नब्युँझिने गरी निदाएको हुन्छ । सकारात्मकता नै मरिसकेको हुन्छ । तेस्रो समूहका व्यक्तिहरू सधैँ जागा रहन्छन् । विभिन्न विकल्पहरूको खोजी र प्रयोग गरिरहन्छन् । निरुत्साहित उत्साह थप्छन् । निर्जीवलाई पनि सजीव बनाउने क्षमता राख्छन् । आज तपाईँलाई म तेस्रो र सर्वोत्कृष्ट समूहमा पर्ने अभिभावकको रूपमा सम्मान गर्ने अवसर पाएको छु । 

माथि नै उल्लेख गरिसकियो, भौतिक रूपमै स्कुल गई पठनपाठन गर्ने दिन अलि टाढै छ । त्यतिन्जेल केटाकेटीहरूलाई यत्तिकै राखियो भने उनीहरूमा पनि विभिन्न प्रकारका मानसिक समस्याहरू आउँछन् । त्यस्तो समस्या निर्मूल हुन धेरै वर्ष लाग्न सक्छ । स्कुलमा साथीहरूसँग हाँस्ने, खेल्ने, हल्ला गर्ने, झगडा गर्ने आदि गर्दा पनि उनीहरूमा सामाजिकीकरण भइरहेको हुन्थ्यो । अप्रत्याशित रूपमा उनीहरू त्यो अवसरबाट वञ्चित हुनु परेको छ । तसर्थ अभिभावक स्वयंको अग्रसरतामा केही विकल्पहरूको प्रयोग गर्न सकिन्छ जसको बारेमा तल उल्लेख गर्न चाहन्छु ।

 घरमै राखी पढाउने (होम स्कुलिङ)

होम स्कुलिङ, अर्थात् होम एजुकेसन भनेको केटाकेटीहरूलाई घरमै राखी अध्यापन गराउने हो । यो विधि स–साना कक्षाका बालबालिकाहरूलाई बढी प्रभावकारी हुनसक्छ । यस माध्यममा अभिभावक आफै वा निजी शिक्षकको सहायता लिने गरिन्छ । अभिभावक आफैमा विषय र व्यवाहरीक ज्ञानको निपुणता छ भने लकडाउनको समयमा यो विधि निकै सुरक्षित, सुलभ र भरपर्दो हुन्छ । निजी शिक्षकको सहायता लिनुपरेको अवस्थामा शिक्षक आफै कोरोना भाइरसबाट कतिको सुरक्षित छन् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । ठुला विद्यार्थीहरूको हकमा अभिभावक, निजी शिक्षक, विभिन्न निःशुल्क वा स–शुल्क अनलाइन पोर्टलहरूबाट प्राप्त हुने शैक्षिक सामाग्रीहरू आदिको प्रयोग गर्न सकिन्छ । 

अनलाइन कक्षामा सहभागी गराउने

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन क्रियाकलाप सञ्चालनका लागि अनलाइन कक्षालाई  प्रमुख विकल्पको रूपमा निर्देशिका समेत जारी गरिसकेको छ । तसर्थ अलिक दुःख सहेरै भए पनि अनलाइन कक्षामा सहभागी गराउनु राम्रो हुन्छ । बरु अनलाइन कक्षालाई प्रभावकारी र व्यवस्थित गर्न विद्यालयले के गर्ने, अभिभावकको तर्फबाट के कति योगदान दिने त्यसको बारेमा अभिभावकहरूले सम्बन्धित विद्यालयसँग सम्पर्क गर्नु उचित हुन्छ । भौतिक रूपमै विद्यालयमा पुरेर अध्ययन अध्यापन गरेजस्तो हुन नसके पनि अनलाइन कक्षामा निरन्तर रूपमा सहभागी भइरहने विद्र्याीहरुले पछि कक्षाकोठामा सोही पाठ दोहर्‍याउँदा छिटो र सजिलै बुझ्न सक्छन् ।

 भर्चुअल कक्षाको उपयोग गर्ने

निजी शिक्षकको खर्च व्यहोर्न नसक्ने र अनलाइन कक्षामा पनि जोडिन नसक्ने हो भने भर्चुअल कक्षालाई रोज्नुपर्ने हुन्छ । जसमा रेडियो, टेलिभिजन आदि पर्दछन् । यदि घर वरिपरि इन्टरनेट जोडिएको ठाउँ छ भने त्यहाँ पुगेर युट्युबमा पाइने भिडियोहरु डाउनलोड गरी पनि हेर्न सकिन्छ ।   बजारमा पाइने विभिन्न शैक्षिक सिडी, डिभिडीहरूलाई समेत शिक्षण सिकाइमा प्रयोग गर्न सकिन्छ । भर्चुअल कक्षामा जोडिन चाहने विद्यार्थीहरूले एन.सी.इ.डिकोभर्चुअल कक्षामाका भिडियोहरु हेर्न सक्छन् । म आफै संलग्न विद्यालयले अनलाइन कक्षा मार्फत बिद्यार्थीहरुलाई शिक्षण गरिएका कक्षा ६ देखि माथिका सयौँ भिडयोहरुको लिङ्क राखेको छु ।

https://www.youtube.com/channel/UCuC4JuXG7f5tpyMXwdewGxg?view_as=subscriber

 डिजिटल प्रविधिको उपयोग गर्नेः

यति बेला नेपालमा मिदास, कारखाना, कुलल्याब्स आदिले सिडिसीको पाठ्यक्रमको आधारमा रही विभिन्न डिजिटल सामाग्री तथा अनलाइन कक्षाका सामाग्रीहरू सुपथ मूल्यमा बजारमा ल्याएका छन् । पुस्तकै नभए पनि फरक नपर्ने ती सामाग्रीहरूको अधिकतम उपयोग गरेर अभिभावकहरूले आफ्ना बालबालिकाहरूको अध्ययनलाई निरन्तरता दिन सकिन्छ ।

 समुदाय शिक्षणमा सहभागी गराउने

समुदाय शिक्षण सुरक्षाका हिसाबले त्यति राम्रो मानिन्न । तर पनि यदि कुनै समुदायमा ५÷७ जना मात्र बालबालिकाहरु छन्, त्यहाँ शिक्षक पनि छन् र ती सबै कोरोना मुक्त छन् भन्ने प्रमाणि छ भने सावधानी अपनाई भौतिक दुरी कायम गर्दै शिक्षण गर्न सकिन्छ । सम्बन्धित अभिभावकहरूले दामासाहीमा वा स्थानीय निकायले पारिश्रमिकको व्यवस्था गरिदिँदा शिक्षकको चुलोमा आगो पनि बल्ने र बालबालिकाहरूले शिक्षण सिकाइमा सहभागी पनि बन्न पाउने हुन्छ ।  

 एफएम रेडियोहरू मार्फत सिक्ने, सिकाउने

कोरोना सङ्कट र लकडाउनले गर्दा बिद्यार्थीहरुको दैनिकी र पठनपाठनमा अवरुद्ध भइरहेको अवस्थामा उनीहरूलाई सहयोग पुगोस् भन्नाका खातिर विभिन्न स्थानीय एफएम रेडियोहरूले विभिन्न शैक्षिक कार्यक्रम तथा शिक्षण कार्यक्रमहरू सञ्चालन गरिरहेका हुन्छन् । यदि कुनै अभिभावकमा माथिका कुनै पनि बैकल्पिक उपायहरूमा जान सकिँदैन भने यो उपायलाई भए नि रोज्नु श्रेयस्कर हुन्छ ।

माथि उल्लेखित के तर महत्त्वपूर्ण विकल्पहरू हुन् । यी बाहेक पनि अन्य थुप्रै विकल्पहरू हुन सक्छन् । स्व–स्फूर्त क्रियाशील बनेर लागिपर्ने व्यक्तिहरूले एक नभए हजार विकल्पहरू निकाल्न सक्छन् । त्यसैले अन्त्यमा यति मात्र भन्न चाहन्छु, ‘खाने मुखलाई मास्कले छेक्दैन । खानै नचाहनेलाई आफ्नै जिब्रो पनि भारी हुन्छ ।’