खानेपानीको स्रोत संरक्षणमा सराेकारवालाहरुकाे चासाे

खानेपानीको स्रोत संरक्षणमा सराेकारवालाहरुकाे चासाे

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २८, २०७७

काठमाडाैँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी वर्षको बजेटमा खानेपानीको स्रोत संरक्षण र पानी पुनःभरणमा जोड दिने गरी बजेट विनियोजन गरेको जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा खानेपानी, सरसफाइ र स्वच्छताको लागि छुट्टाएको रकमसम्बन्धी विषयमा यस क्षेत्रमा क्रियाशिल संस्थाले आयोजना गरेको अनलाइन गोष्ठीमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले मन्त्रालयले खानेपानीको स्रोत संरक्षण, नागरिकमा पहुँच विस्तारसँगै सरसफाइलाई अघि बढाइरहेको बताउनुभयो ।

मन्त्रालयले अहिलेसम्म ९४ प्रतिशतमा आधारभुत खानेपानीको पहुँच विस्तार गरेको उहाँले बताउनुभयो । प्रदेश नम्बर २ मा देखिएको आर्सेनिकको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना रहेको उहाँले बताउनुभयो ।

कीर्तिपुर नगपालिकाका उपप्रमुख सरस्वती खड्काले नगरपालिकामा खानेपानीको स्रोत पर्याप्त भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण तथा व्यवस्थापकीय पक्ष कमजोर भएको हुँदा नगरवासीले पानीको अभाव भोग्नुपरेको बताउनुभयो । खानेपानीतथा ढल निकास व्यवस्थापन विभागका उपमहानिर्देशक अनिलभद्र खनालले तिनै तहको सरकारसँग संयोजन गरेर काम गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले यस आर्थिक वषर् मेलम्चीको लागि पर्याप्त बजेट रहेको बताउनुभयो । उहाँले भन्न् भयो, 'आगामी दिनमा धाराबाट खानेपानी सहजरुपमा पुर्‍याउने लक्ष्यअन्तर्गत न्यून आय उपभोक्तहरुलाई महसुलमा अनुदान दिन सकिनेछ ।'

 महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नेपालको कूल बजेटको ११५ प्रदेश र स्थानीय सरकारमा आएको र स्थानीय सरकारका लागि पर्याप्त नभएको बताउनुभयो । पूर्वअर्थ सचिव सुमनप्रसाद शर्माले खानेपानी क्षेत्रमा आगामी आवको बजेट राम्रो आएको तर बजेट शतप्रतिशत खर्च हुने कुरामा शङ्का रहेको बताउनुभयो ।