युवा सङ्घद्वारा सांसद सरिता गिरीलाई कारवाही गर्न माग (विज्ञप्तिसहित)

युवा सङ्घद्वारा सांसद सरिता गिरीलाई कारवाही गर्न माग (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २८, २०७७

काठमाडाैँ ।राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ ।  सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले २०७७ जेठ २८ गते बुधबार  विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गर्नुभएको हो  ।

'संविधानको संरक्षण र पालना गर्ने सपथ खानुभएका सांसद गिरीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्ध संसद्मा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्यूत गर्नुभएको हाम्रो सङ्गठनको ठहर रहेको छ', विज्ञप्तिमा भनिएको छ ।

सङ्घले गिरीजस्तो गैरजिम्मेवार व्यक्तिलाई संसद् सदस्यबाट अविलम्ब फिर्ता बोलाउनसमेत उनको पार्टीलाई अनुरोध गरेको छ । सङ्घले सांसद गिरीको सङ्घीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए आफ्नो सङ्गठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा उल्लेख छ ।
 
यस्तै युवासङ्घले रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाकोे निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीउपर कारवाही गर्नसमेत माग गरेको छ । यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणमा अस्पतालको असंवेदनशीलता र राज्यको उत्तरदायित्वमाथि प्रश्न उठेको सङ्घले जनाएको छ । सङ्घले अस्पताल प्रशासनमाथि छानबिन गर्न र आउजीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरेको छ ।

जारी विज्ञप्ति यस्ताे छ ।