प्रा.डा.सुदर्शन नरसिंह प्रधान | जीवनशैली | फागुन २७, २०७५
नेपाल मनोचिकित्सक संघका नवनिर्वाचित अध्यक्ष प्रा.डा. सुदर्शन नरसिंह प्रधानले स्किजोफ्रेनियाबारे खोजमूलक आलेख तयार गर्नुभएको छ । यसअघि उहाँको स्किजोफ्रेनियाको लक्षण, पहिचान र निदान शीर्षकको आलेख प्रकाशित भइसकेको छ । यसपछि स्किजोफ्रेनियाको उपचार नहुँदा हुने गम्भीर परिणामबारे आलेख प्रकाशन गरिनेछ ।
स्किजोफ्रेनियाबारे केही अन्धविश्वास
अन्धविश्वास १
बहुलाउने वा पागलपन पूर्वजन्मको पापको फल हो र यसको उपचार हुँदैन । वास्तविकता मस्तिष्कमा हुने विभिन्न रासायनिक तत्वहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनिया लाग्छ । र, यसको उपचार हुन्छ ।
अन्धविश्वास २
स्किजोफ्रेनियालाई धामी–झाँक्रीले मात्र निको पार्न सक्छन्, किनकि यो रोग भूत, प्रेत वा मसान लागेर हुने हो ।
वास्तविकता
स्किजोफ्रेनिया पूर्वजन्मको पाप वा भूतप्रेत लागेर हुँदैन । यो मानसिक रोग हो । त्यसकारण बिरामीको सम्बन्धित विशेषज्ञ चिकित्सकहरूबाट उपचार गराउनु पर्छ । धामी–झाँक्रीबाट यसको उपचार हुन सक्दैन ।
अन्धविश्वास ३
स्किजोफ्रेनियाका बिरामीलाई घरमा वा जेलमा थुनेर राख्नुपर्छ किनकि यी मानिसहरू ज्यादै खतरनाक हुन्छन् ।
वास्तविकता
यसका बिरामी खतरनाक हुँदैनन् । यिनीहरू एक्लै बस्न मन पराउँछन् । उनीहरू आफूलाई के भएको हो बुझ्न सकिरहेका हुँदैनन्, कसैलाई मिथ्याभास भएको हुन्छ, कसैलाई काल्पनिक डरले सताएको हुन्छ वा आफू डराइरहेका हुन्छन् । ज्यादै डराउँदा बिरालाले समेत मानिसलाई झम्टन आउँछ भनेजस्तै समस्याले च्याप्दा, मिथ्याभास आदिले एकदम डराउँदा यिनीहरू उत्तेजित हुन सक्छन् । थुनेर राख्दा अरू डर थपिने हुँदा झन् अनर्थ हुन जान्छ । माया, ममता तथा अप्ठ्यारो अवस्थामा होशियारीपूर्ण व्यवहारबाटै यिनीहरूलाई उचित सहयोग मिल्छ । बिरामीलाई जेलमा थुनेर राख्नु हुँदैन र उपचार पाउनुपर्ने हकको हरण गर्नु हुँदैन ।
अन्धविश्वास ४
स्किजोफ्रेनिया पूरा निको हुँदैन र उपचार गर्नु व्यर्थ छ ।
वास्तविकता
स्किजोफ्रेनिया दीर्घ प्रकारको र लामो समयसम्म औषधी सेवन गर्नुपर्ने मानसिक असन्तुलन हो । राम्रोसँग उपचार गरेमा यसलाई निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ । बेलाबेलामा रोगले च्याप्ने क्रमलाई पनि नियन्त्रणमा राख्न वा रोक्न सकिन्छ । यसमा लागि परिवार तथा समाजको सहयोग र राम्रो व्यवहार अति जरुरी हुन्छ । रोग चाँडै नै पत्ता लगाएर औषधी गरी उचित पारिवारिक सहयोग तथा मनोसामाजिक उपचार समेत प्राप्त भएमा रोग पूर्ण निको हुन सक्छ । औषधी सेवन गरी रोग नियन्त्रणमा ल्याउँदा मात्र पनि बिरामी र परिवारलाई पर्ने असर र कष्टलाई धेरै कम गर्न सकिन्छ ।
बिरामीको उपचार कसरी गराउने ?
स्किजोफ्रेनिया भएको शंका लागे बिरामीका लक्षण र बानी व्यवहारमा भएको परिवर्तन एक–एक गरेर लेख्नुस् । बिरामीलाई यससम्बन्धी विशेषज्ञकहाँ लैजानुस् । तपार्इँले बिरामीमा देखेको वा पाएको परिवर्तनलाई राम्रोसँग बताउनुस् । अभिभावकले दिएको जानकारीले चिकित्सकलाई रोगको पहिचान र उपचार गर्न निकै सहयोग पुग्छ । स्किजोफ्रेनिया हो कि होइन भनी निक्र्योल गर्न चिकित्सकलाई समय लाग्छ । एकपटक जाँच्नेबित्तिकै सबै कुरा पत्ता लाग्छ वा अब औषधी खान थालेपछि बिरामी केही दिनमै पहिलाको जस्तै भइहाल्छ भन्ठान्नु हुँदैन । बरु चिकित्सकसँग आफ्ना जिज्ञासा राम्रोसँग सोध्नुपर्छ । स्किजोफ्रेनियाका बिरामीले पहिले के कस्तो उपचार गर्यो, औषधी नियमित खायो÷खाएन, कति लामो समयसम्म औषधी सेवन गर्यो, फाइदा भयो वा भएन र औषधीले कुनै नराम्रो असर पर्यो/परेन आदिबारे चिकित्सकलाई बताउनुस् । बिरामीको उपचारबारे राम्रो जानकारीले उपचार गर्न सहयोग मिल्छ । स्किजोफ्रेनियाका धैरै बिरामीले धेरै वर्षसम्म र केहीले जीवनभर नै औषधी खानुपर्ने हुन सक्छ । तसर्थ, परिवारको कुनै सदस्य यसबाट पीडित भएमा चिन्ता लाग्नु स्वाभाविक हो । तर, सम्झनुस् यस्तो समस्या भएका अरू पनि धेरै परिवार छन् । तिनीहरूसँगको सम्पर्कमा रहनुभयो भने तपाईँभित्रको तनाव कम गर्न सहयोग मिल्छ भने तपाईँले आफ्नो बिरामीलाई कसरी सहयोग गर्ने भन्नेबारे पनि प्रशस्त जानकारी लिन सक्नुहुन्छ । तपाईँलाई उपचारका हरेक पक्षको जानकारी भएमा ठूलो सहयोग मिल्न सक्छ ।
बिरामीलाई अस्पताल भर्ना गर्नेबारे
यदि बिरामीको व्यवहार र लक्षण हेर्दा बिरामीलाई र उनको परिवारलाई खतरा छ भने तुरुन्त अस्पतालमा भर्ना गर्नुपर्छ ।
औषधी उपचार
औषधीका नकरात्मक असर (Side-effects of Medicine)
स्किजोफ्रेनिया तथा अन्य साइकोसिसका बिरामीलाई प्रयोग गरिने औषधीलाई एन्टिसाइकोटिक्स (Anti Psychotics) भनिन्छ । एन्टिसाइकोटिक्स औषधी खान थालेपछि कतिपय बिरामीलाई साइड इफेक्ट त्यति देखिँदैन । तर, कुनैलाई यति बढी देखिन्छ कि बिरामी औषधी खान नमान्ने हुन्छ । प्रायः देखिने असर निम्नअनुसार छन् ः
यी साइड इफेक्ट छोटो अवधिभर रहने खालका हुन्छन् र खतरनाक हुँदैनन् । यिनीहरू केही समयपछि हराउँछन् । तर, हराएनन् भने डाक्टरले औषधी परिवर्तन गरिदिन्छिन् । यसबारे सम्बन्धित चिकित्सकसँग सल्लाह गर्नुपर्छ । लामो समयसम्म वा धेरै वर्षसम्म एन्टिसाइकोटिक औषधी प्रयोग गर्दा कसै–कसैलाई टारडिव डिसकाइनेसिया (Tardive Dyskinesia)को लक्षण देखिन्छ । सम्बन्धित औषधी छाडे पनि यी असर जाँदैनन् । यसमा बिरामीको मुख, जिब्रो, ओठ चलिराख्ने हुन्छ । बिरामीलाई कुनै अप्ठ्यारो हुँदैन । तर, हेर्नेलाई अप्ठ्यारो लाग्छ । यसले नराम्रो देखिनेबाहेक अन्य खराबी गर्दैन ।
न्यूरोलेप्टिक म्यालिगन्यान्ट सिन्ड्रोम (Neuroleptic Malignat Syndrme)
एन्टिसाइकोटिक्स औषधी प्रयोग गरेको केही दिन वा महिनामा बिरामीलाई धेरै ज्वरो आउने, पसिना आउने, शरीर अररो हुने र राम्रो होस् नभएको जस्ता लक्षण देखिए भने औषधी खुवाउन बन्द गरेर तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । औषधीको मात्रा अलि बढी हुँदा, औषधीको मात्रा छिटो–छिटो बढाउँदा वा शरीरले औषधी नसहँदा यस्तो हुने गर्छ । यो समस्या बढ्दै गए जटिल समस्या निम्तिन सक्छ, त्यसैले तुरुन्त अर्को प्रकारले उपचार थाल्नुपर्ने हुन्छ । तर, सधैं सम्झिनुस्, बहुसङ्ख्यक बिरामीको लागि एन्टिसाइकोटिक्स औषधी ज्यादै उपयोगी र कुनै हानी नगर्ने हुन्छन् । साइड इफेक्ट देखिएमा कमी गर्ने औषधी दिन सकिन्छ । आजकल यस्तो असर ज्यादा नहुने औषधी पनि विकसित भएका छन् । तसर्थ, औषधी खुवाउन हिच्किच्याउनु पर्दैन, बरु साइड इफेक्टबारे राम्रो जानकारी राख्नुपर्छ ।
याे पनि
स्किजोफ्रेनियाको लक्षण, पहिचान र निदान