नजरराम महर्जन | साहित्य | जेठ ३१, २०७७
भद्र बन्दी गृहको ३२औँ दिन २०६७/०७/२१ आइतवार (७ नोवेम्बर २०१०)
आज भाइटिकाको दिन । दशैँमा जस्तै बाहिर चउरमा राखेर टिका लगाउन दिइएको छन् । दिदी बहिनी हुनेहरू दाइ–भाइलाई टिका लगाउन आइरहेका थिए ।
१२ बजेदेखि मेरो प्रतीक्षाको घडी सुरु भयो । माइकबाट मेरो नाम बोलाउँछ कि भनेर अस्पतालको आँगनमा बसेर साथीहरूसँग गफ गरिरहेँ । दिनेश बस्नेत पनि म जस्तै छटपटाइरहेको छ । उसको छोराहरू आउँछु भनेको थियो । आएन भनेर दुखेसो पोख्यो ।
१ बज्यो । तैपनि हाम्रो नाम बोलाएन । एकछिन पछि थाहा पाएँ । आज केटाहरूलाई भेटघाटमा पठाएको छैन । यो सुनेर दिनेश आफ्नो बाटो लाग्यो । मेरो त श्रीमती आउँछु भनेकी थिइन् । छोरालाई नपठाए पनि श्रीमतीलाई त पठाउँछ होला भनेर मेरो नामको बोलाहट हुने प्रतीक्षामा थिएँ । बाह्रबिसेका नरवहादुर दाइ माला लगाएर आउनुभयो । उहाँसँग गफ भयो । उहाँको दिदी आउनु भएको रहेछ । बहिनी पनि बाहिर लाइनमा छिन् । बाहिर लाइन धेरै लामो छ । चाइना टाउन मार्केटसम्म छ रे । त्यसैले आउन अलि ढिला हुन्छ भन्यो । एकछिन पछि नै उहाँको नाम बोलाइयो । उहाँ बहिनी आइ होली भनेर जानुभयो । मलाई साह्रै नरमाइलो लाग्यो । भोक पनि लागेको जस्तो भयो । आज घरबाट तरकारी ल्याएन भने के खाने ? होटलमा के पकाएको छ हेर्न गएँ । मिठाई र दही बाहेक केही पनि पकाएको थिएन । बिना चिनीको दूध चिया एक कप पिएँ । त्यही बेला राजकुमार आयो । उसले मलाई भन्यो, 'बुबा तपाईंको छोरा आउनु भएको रहेछ । यता पठाएन त्यसैले मेरो श्रीमतीलाई दिएर ल्यायो । भान्सा कोठाको दराजमा टिफिन क्यारियर राखेको छु । लिनु होला ।’
मेरो प्रतीक्षाको घडी समाप्त भयो । श्रीमती, छोरा र म बाहिरसँगै बसेर खाने मेरो इच्छा र आकांक्षा वालुवामा बनाएको घरझै भताभुंग भयो ।
३३औँ दिन
ओम शान्तिबाट आएर डायरी लेख्न थालेँ । कार्तिक २५ गते पुनरावेदनमा मेरो पेशी छ । वकिल मदन रेग्मी र छोराले म धरौटीमा छुट्न सक्छ भनेका थिए । त्यसबेलादेखि मेरो मन गोलमाल भयो । यहाँ धेरैजनाले पुनरावेदनले जिल्लाको फैसलालाई नै सदर गर्छ भन्थे । कोही कोहीले मात्र धरोटीमा छुट्न सक्छ भन्थे । के हुने हो त्यो भविष्यले बताउनेछ ।
आज बाबुराम दाइ भेट्न आउनु भयो भेट्ने बितिक्कै उहाँले भन्नुभयो, 'काठमाडौंमा काम भएर आएको थिएँ । तपाईलाई एकचोटि भेटेर जाउँ भनेर आएको । परिवन्दले गर्दा तपाईं यहाँ आउनु पर्यो । मन दह्रो बनाउनुहोस् । अबको पेशीमा तपाई बाहिर निस्कन पाउनुहुन्छ ।'
उहाँसँग निकैबेर कुराकानी भयो । उहाँले एक झोला केरा ल्याउनु भएको थियो । मैले केरा खानु हुँदैन । अरूलाई खुवाउन किन लिने भनेर फिर्ता पठाई दिएँ । आज नेवारहरूको भाइटिकाको दिन हो । अरूहरूले हिजो भाइटिका मनाइसकेका थिए । हिजो मलाई भाइटिका गर्न कोही आउनु भएन । आज पनि खोइ कोही पनि आउनुभएको छैन । मलाई साह्रै नियास्रो लाग्यो । म कोठामा आउँदा बाटोमा नरवहादुर दाइसित भेट भयो । मेरो निधार खाली देखेर उहाँले सोध्नुभयो, 'भेटघाटमा आएनन् ?'
उहाँको आश्रय बुझेर मैले भनेँ, 'साढुदाइ आउनुभएको ।'
'तपाईको दिदी बहिनीहरू छैनन् ? 'उहाँले उत्सुक भएर सोध्नुभयो ।
'दुईजना दिदीहरू र एउटी बहिनी छन् । ठूली दिदी हेटौंडामा हुनुहुन्छ । उहाँ आउनुहुन्न । माइली दिदी र बहिनी आउन सक्छन् ।'
यति भनी कोठामा आएँ । मेरो मन गोलमाल भयो । बहिनी आउँछ कि आउँदैन के थाहा ? उहाँहरू कोही नआए पनि छोरा त आउनु पर्ने । आज कोही आएन भने यहाँ मेरो इज्जत जानेछ । साथीहरूको अगाडि के मुख देखाउँ ? यस्तै सोचेर कोठामा बसिरहेको थिएँ ।
माइकबाट मेरो नाम बोलायो । मेरो मन ढुक्क भयो । अहिले त पक्का पनि छोरा या दिदी–बहिनी आएको हुनुपर्छ भनेर ढोकामा गएँ । ढोकामा पुगेर बाहिर हेरेको त साँच्चीकै दुर्कुमारी दिदी र बहिनी कमलालाई देखेँ र भान्जा सुनिल पनि आएका रहेछन् । उनीहरू तीनैजनालाई स्टाफ भेटघाट गर्ने ठाउँमा पठायो । मलाई एउटा कार्ड भिडाएर त्यहाँ पठायो । मेरो बायाँ दिदी र दायाँ बहिनी बसिन् । कुराकानी गर्दै पूजाको सामान मिलाउन लागे । पानी छैन । दिलेशलाई लिन पठाएको छु बहिनीले भनिन् तैपनि पानी ल्याउन दिन्छ कि दिंदैन भनेर मैले भित्रबाट एक बोटल पानी किनेँ ।
मेरो अगाडि दिदी र बहिनी बसेर नेवाः परम्परा अनुसार भाइटिका गर्नुभयो । दिदीले दही सगून दिनुभयो । बहिनीले फलफूल थाली दिइन् । दिदीले अण्डा, मासु र माछा अनि दूध एक गिलास दिएर सगून दिनुभयो । मैले भित्रबाट दुधवाला चिया चारकप मगाएँ । चारैजनालाई अण्डा सहित दिएँ । खानपिन गर्दै हामी गफ गर्न थाल्यौं ।
'माफ गर्नुहोस् मलाई थाहा छैन ।' मैले माफी माग्दै भनेँ । हत्तपत्त दाँत माझ्न वन्द गरेर मुख धोएँ । डाँडामा गएर चुरोट पिउन थालेँ । चुरोट पिउँदै सोच्न लागेँ । मानिसले जानी जानी अपराध गर्दैनन् । अन्जानमा पनि हुनसक्छ । नम्बर खुल्नुभन्दा अगाडि दाँत माझ्नु हुँदैन भनेर मलाई थाहा थिएन । मैले थाहा नपाइकन गरेको अपराधलाई माफी दिनुभयो । डरले मेरो शरीरै जिरिंग भएको थियो । अब पनि मैले जानीजानी त्यस्तो काम गरेँ भने मलाई जुनसुकै सजाय दिए पनि हुन्छ । त्यसलाई अन्याय भन्नु मिल्दैन ।
'त्यहाँ र यहाँ नर्क र स्वर्गजस्तै फरक छ । त्यहाँ सुत्नै पाउँदैनथ्यो । उडुसको डुंगुरमा बस्नुपथ्र्यो । यहाँ त्यस्तो छैन ।' मैले भनेँ ।'अस्ति हनुमान ढोकामा हुँदाभन्दा अहिले यहाँ राम्रो र मोटो देखिन्छ ।' दिदीले भन्नुभयो ।
'तिमी जेल परेर चिन्ताले कति रात सुतिनँ, विरामी नै भएँ । सुनिलले हनुमान ढोकामा भेटाउन लगेपछि बल्ल मन राखेँ । जे भए पनि पीर नलिनु । तिमीलाई झुटो आरोप लगाएको छ भन्ने हामीलाई विश्वास छ ।'
'तपाईंलाई तपाईंकै पार्टीका साथीहरूले फसाएको भन्ने हल्ला छ । तपाईलाई पार्टीका साथीहरूले भेट्न आएका छन् ?' बहिनीले सोधिन् ।
'पार्टीगत रूपमा कीर्तिपुरका कोही पनि साथीहरूले भेट्न आएका छैनन् । बरु बारा, पर्साका एमाले नेता तथा कार्यकर्ताहरूले भेट्न आएका छन् ।'
'मामाघरबाट कोही भेट्न आएका छन् ?'
'बुद्धिबहादुर दाइ बाहेक कोही पनि आएका छैनन् ।'
'हाम्रा धुसिटोलका दाजुभाइहरू आएका छन् ?'
'धुसिटोलका दाजुभाइहरू पनि आएका छन् । म जेलमा परेकोले हाम्रा दाजुभाइहरूले यसपाली दशैँमा सिखाः भू नै गर्नु भएन रे ।'
'अलि ढिलो चाँडो तिमी निस्किहाल्छौं । धन्दा नमान राम्ररी खानपिन गर । आफ्नो स्वास्थ्यको ख्याल राख्नु ।' दुर्कुमारी दिदीले भन्नुभयो ।
त्यतिकैमा समय सकियो भनेर हामीलाई उठायो । दिदी–बहिनीसँग विदा भएर आएँ । दिदी बहिनीको माया कस्तो हुँदोरहेछ । मेरो मनै आनन्दित भयो । साँझसम्म माला लगाएरै घुमिरहेँ । हामी नेवारहरूको भाइटिका आज भनेर सबैलाई भन्दै हिंडेँ ।
३४औँ दिन
आज विहान ४ बजे धारामा दाँत माझीरहेको बेला रमनमा घुमिरहनु भएका एकजना भाइनाईके आएर विस्तारै भन्यो, 'अंकल नम्बर नखुलेसम्म ब्रस गर्नु हुँदैन भन्ने थाहा छैन ?'
'माफ गर्नुहोस् मलाई थाहा छैन ।' मैले माफी माग्दै भनेँ । हत्तपत्त दाँत माझ्न वन्द गरेर मुख धोएँ । डाँडामा गएर चुरोट पिउन थालेँ । चुरोट पिउँदै सोच्न लागेँ । मानिसले जानी जानी अपराध गर्दैनन् । अन्जानमा पनि हुनसक्छ । नम्बर खुल्नुभन्दा अगाडि दाँत माझ्नु हुँदैन भनेर मलाई थाहा थिएन । मैले थाहा नपाइकन गरेको अपराधलाई माफी दिनुभयो । डरले मेरो शरीरै जिरिंग भएको थियो । अब पनि मैले जानीजानी त्यस्तो काम गरेँ भने मलाई जुनसुकै सजाय दिए पनि हुन्छ । त्यसलाई अन्याय भन्नु मिल्दैन ।
दिउँसो एक बजे पिशाव फेर्न बाहिर आएँ । त्यहीबेला माइकबाट मेरो नाम बोलायो । छोरा आएको होला भनेर सामान लिएर गएँ । ढोकामा पुगेर बाहिर हेरेको त नन्दकुमारी र माधवलाल आएका रहेछन् । उनीहरूलाई भेटेर मन हर्षित भयो । भेटघाट भयो । आराम विरामको कुराकानी भयो ।
'दाइ मैले कवितालाई भेटेर कुरा गरिसकेँ । संस्थाका मान्छेहरूले दवाव दिएर कागजमा सही गराएको थियो । नत्र हाम्रो सरले हामीलाई आफ्नै छोरी जस्तै व्यवहार गर्नुहुन्छ भनिन् । त्यस्तै गोरखनाथका शिक्षकहरूले पनि भन्दै नभनेको लेखेर प्रहरीले झुक्याएर सही गरायो । अब अदालतमा साँचो कुरा बोल्छु भन्नु भएको छ ।' नन्दकुमारीले भनिन् ।
'त्यत्रो पढेलेखेका शिक्षकहरूले त्यसरी पढ्दै नपढी सही गर्नु हुन्छ ? कविता त बच्चा भयो । उनीहरूले त्यसरी वयान नदिएको भए म जेलमा आउनै पर्ने थिएन ।' मैले भनें ।
'यी बाहिर जिल्लाबाट आएकाहरूलाई प्राथमिकता दिनु नै नजररामको ठूलो भूल भयो । पन्ध्र वर्ष पहिले मैले हर्षरत्न पुरस्कार घोषणा गर्दा यहींका स्थायी वासिन्दा हुनुपर्ने प्रावधान राखेको ठिक छ कि छैन ? यो वाहिरबाट आएकाहरूमा न इज्जत हुन्छ, न दया माया नै हुन्छ । उनीहरू केवल आफ्नो स्वार्थ हेर्छन् ।'
धेरैबेरसम्म कुराकानी भयो । त्यहीबेला बुहारी सरू र नीम्ता आएको देखेर नन्दकुमारी र माधव मसँग विदा भए । बुहारी र नीम्ता भेट्न आए । उनीहरू दुवैजना डा. डंगोललाई भेटेर आएको रे ।
डा. डंगोलले भन्यो रे, 'मैले त यस्तै हुनसक्छ भनेर पोहोर साल नै होस्टेल वन्द गर । केटीहरू तरुनी भइसक्यो । केही घटना भयो भने हाम्रो इज्जत जान्छ । उनीहरूलाई घर पठाई देउ भन्दा एसएलसी पास गराएर मात्र पठाउँछु भनेर पाली राख्यो । अहिले यस्तो भयो । बाहिर देशमा बस्ने मान्छे म के मद्दत गर्न सक्छु र ? नजरराम निरपराध छ भन्ने मलाई थाहा छ ।'
'निरज किन नआएको ?' मैले सरूसँग सोधेँ ।
'हिजो पाँगामा भाइटिका गरेर फर्कदा अवेर भयो । जिउ सञ्चो नभएर नआएको ।'
नीम्ता र बुहारी पनि गए । आज बुहारीले घरबाट केही पनि ल्याएको छैन । म कति आशाकुति भएको छु । घरको मान्छे आयो कि खानेकुरा ल्यायो कि भन्ने आशा जाग्छ ।
याे पनि
थुनुवाको डायरीः साहित्य सम्मेलनमा दोस्रो पुरस्कार पाउँदा पनि मन चाहिँ खिस्रिक्क !
थुनुवाको डायरीः कोही छोरीका बलिन्द्र धारा आँसु ! कोही छोरीद्वारा यौन दुराचारको आरोप !!
थुनुवाको डायरी: मेरी प्यारी कृष्ण ! तिमीले मलाई जिउने साहस, प्रेरणा र हिम्मत देऊ !!
जबरजस्ती करणी उद्योगः महिलाको अस्मिता बचाउन ल्याइएको कानुन बदला लिने साधनको रूपमा उपयोग !