जानु काम्बाङ लिम्बू | साहित्य | जेठ ३१, २०७७
बुझेर हो कि नबुझेर हो
ताली बजाइरहेका छन्
एक हुल मान्छेहरू
सिंहदरबारको पश्चिमगेट अगाडि !
सिंहदरबारभित्र
सुन्दर र विशाल चउर छ
त्यही भव्य चउरको बिचमा
पानीका आकर्षक फोहराहरू
स्वर्गका परीहरूझैँ नृत्यमग्न छन् ।
मेलम्चीको चिसो पानी पिउन
हिमालदेखि ओर्लेका छन्
एकल हुल छायाँहरू
र, पानीभित्र नाचिरहेका
ती हिमाली छायाँहरूलाई
बल्छीले माछा तानेझैँ
क्यामेराको थुतुनो तन्काई तन्काई
टिपिरहेछन् असङ्ख्य पर्यटकहरू !
स्वच्छ र हराभरा काठमान्डू उपत्यका
सिनित्त र चिल्ला धुलोरहित सडकहरू
खुलेको विशाल आकाश
आकाशमा कावा खाइरहेका चराहरू
सडकमा उभिरहेछ शहीदगेट
र, गेटमाथि उभिएर ठुल्ठुलो स्वरमा
जय नेपाल ! जय नेपाल !
नारा लगाइरहेछन् अमर सहिदहरू !
आहा !
धुवाँ धुलोरहित काठमान्डू
प्रदूषणरहित शीतल बतास
बतासको लय पछ्याउँदै
लहराइरहेको सुन्दर रानीपोखरी
पोखरीमाथि पखेटा जुधाउँदै
जलनृत्य गरिरहेका राजहाँसका जोडीहरू
पोखरीवरिपरि फन्को मार्दै
पालाम गाइरहेका
लिम्बुवानी मेंछ्या–थाङ्ग्बेनहरू !
सम्झिन्छु म !
प्रकृतिको अनुपम सुन्दरताले युक्त
नेपालजस्तो वैभवशाली देश
अन्त कहाँ होला यो संसारमा ?
कहाँ होला झरनाहरू नाचिरहने देश ?
कहाँ होला चराहरू गीत गाइरहने देश ?
कहाँ होला स्वतन्त्राको गीत गाउँदै
डाँडापाखा उफ्रिहिँड्न पाइने देश ?
मानवअधिकार, महिला अधिकार
शान्ति सुरक्षाले परिपूर्ण देश ?
शहीदगेटमाथि उभिएको मान्छे
खुल्लामञ्चमा उभिएर
भाषण गर्ने नेताजस्तै
बर्बराइरहन्छ—
ए, बलात्कारपछि हत्या बन्द गर
बलात्कारीलाई फाँसी दे
भ्रष्टाचारीलाई कारबाही गर
चेलीबेटी बेचविखन बन्द गर
युवाहरूलाई स्वेशमै रोजगारी दे
सीमा मिचाहा छिमेकीबाट
सीमाको रक्षा गर
जातीय विभेद अन्त्य गर....
उसका हजार आक्रोेशहरूले
लखेटिरहे मलाई
तथापि मैले सकनिँ सोध्न
को हो ऊ ?
सायद ऊ थियो एक अमर शहीद
जसले तमाम मानवअधिकार
सामाजिक न्याय र स्वतन्त्रताका लागि
यस्तै सुन्दर देश निर्माणका खातिर
बलिदानी दिएको थियो आफूलाई !
नवनिर्मित धराहराको शिखरबाट नियाल्दै
काठमान्डू उपत्यकाका सुन्दर दृश्यहरू
मनन् गरिहेको छु म-
आहा !
हेर्दाहेर्दै हाम्रो देश स्वीट्जरल्यान्ड भइसक्यो
बलात्कारी, भ्रष्ट्राचारी र देशद्रोहीहरू
सबै सबै चढिसके फाँसीको तख्तामा
सर्वत्र छाइरहेको छ शान्ति र स्वतन्त्रता
गुञ्जिरहेको छ केवल शान्तिको धुन
अफसोस !
किन भड्किरहेको छ अझै शहीदको आत्मा !