बाबुहरि ज्ञवाली | जीवनदर्शन | जेठ ३२, २०७७
श्री अर्जुन उवाच –
किं तद् ब्रम्ह किमध्यात्मं किं कर्म पुरुषोत्तम ।
अभिधूतं च किं प्रोक्तमधिदैवं किमुच्यते ।। १ ।।
अधियज्ञः कथं कोऽत्र देहेऽस्मिन्मधुसूदन ।
प्रयाणकाले च कथं ज्ञेयोऽसि नियतात्मभिः ।। २ ।।
अन्वय र अर्थ – अर्जुन उवाच = अर्जुनले भने, पुरुषोत्तम = हे पुरुषोत्तम ! तद्ब्रम्ह=त्यो ब्रम्ह, किं = के हो ? अध्यात्मं = अध्यात्म, किं = के हो ? कर्म = कर्म, किं = के हो ? अधिभूतं च = अधिभूतं पनि, किंप्रोक्तं = के लाई भनियो ? अधिदैवं च = अधिदैव पनि, किं उच्यते = कसलाई भनिन्छ ?
मधुसूदन = हे मधुसूदन ? अत्र देहे = यस देहमा, अधियज्ञः = अधियज्ञ, कः = को हो ? कथं = कुन रूपले, अस्मिन् = यस देहमा रहेको छ ? प्रयाणकाले = मरणको बेला, च = पनि, नियतात्मभिः = संयत चित्त योगीहरूद्वारा, कथं = कुन उपायले, त्वं = तपाई, ज्ञेयः = जान्नयोग्य, असि = हुनुहुन्छ ?
भावार्थ – अर्जुन भन्दछन् । हे पुरुषोत्तम ! त्यो ब्रम्हतत्व के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत केलाई भन्दछन् ? अधिदैव पनि कसलार्य भन्दछन् ? अनि देहभित्र अधियज्ञ को हो ? कसरी यहाँ रहन्छ ? हे मधुसूदन ! संयत चित्त योगीगणभरणकालमा तपाईलाई कुन उपायले जान्न सक्छन् ?
विशिष्टार्थ – भगवान् श्रीकृष्णले पूर्व अध्यायमा अन्तिम दुई श्लोकमा जुन सात पदार्थको कुरा बताउनु भयो, अर्जुन (साधक) ती सबैलाई बुझेर आफ्नो आयत्तमा गर्नका लागि आत्मजिज्ञासामा सात प्रश्नहरू गर्दछन् – (१) हे गुरुदेव ! तपाईले यो जुन ब्रम्हको कुरा बताउनु भयो त्यो ब्रम्ह के हो ? (२) अध्यात्म के हो ? (३) कर्म के हो ? (४) अधिभूत कसलाई भन्दछन् ? (५) अधिदैव कसलाई भन्दछन् ? (६) यस देहमा अधियज्ञ को हो ? कसरी त्यो यहां रहन्छ ? (७) प्रयाणकाल (मर्ने बेलामा देह छोडेर जाँदा) मा कुन उपायले तपाईलाई जान्न सकिन्छ ? यी सबै प्रश्न गर्दा साधक अर्जुन भगवान्लाई पुरुषोत्तम र मधुसूदन दुई भावले प्रत्यक्ष गर्दछन् अर्थात् साधक अब क्षरब्रम्ह (पञ्चतत्व) देखि सम्बन्ध विहीन भएर कूटस्थमा अक्षरब्रम्हको समीपवर्ती भएर देख्दछन् – कूटस्थ चैतन्य श्री भगवान् नै अक्षरातीत निरञ्जन पुरुष – पुरुषोत्तम हुनुहुन्छ, फेरि यो पुरुष नै पञ्चतत्वमा विषय भेगाकांक्षा रूप मधु (मीठोपन) का नाशक मधुसूदन हुनुहुन्छ । अतः यी दुई श्लोकमा साधकले भगवान्लाई पुरुषोत्तम र मधुसूदन नामले सम्बोधन गरेका छन् । यस्तै विपत्कालमा गभवान् मधुसूदन रूपले नै आश्रय हुनुहुन्छ । जीवको प्रयाणकाल (मृत्यु समय) भन्दा ठूलो विपद् अरू के हुन्छ ? अतएव अर्जुनले प्रयाणकालको कथा (कुरा) बताउने बेला मधुसूदन नाम लिएका छन् ।
बुद्धिले जब बहिर्मुखीवृत्ति परित्याग गरेर यस पुरुषलाई लिएर खेलिरहन्छ, आलोचना गरिरहन्छ अनि संझिरहन्छ तव अधिदैव अवस्था भनिन्छ । अधि अर्थमा बुद्धि भनेर पहिलेनै भनिसकिएको छ । अव 'दैव' को वारेमा भनिन्छ –द+एव= दैव 'द शब्दमा स्थितिको स्थान अर्थात् योनि हो अनि एव शब्दमा इदं (यो) हो । बुद्धिले जब' मेरो स्थितिको स्थान यो हो भनेर त्यस ईश्वर स्वरूपमा मिल्नका लागि चेष्टा गर्छ या मिल्दछ, त्यस अवस्थालाई नै अधिदैव भन्दछन् ।
श्री भगवानुवाच –
अक्षरं परमं ब्रम्ह स्वाभावो ऽध्यात्ममुच्यते ।
भूतभावोद्भवकरो विसर्गः कर्मसंज्ञितः ।। ३ ।।
अधिभूतं क्षरो भावः पुरुष श्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतांवर ।। ४ ।।
अन्वय र अर्थ – श्री भगवानुवाच = श्री भगवानले भन्नु भयो । (यत् = जुन), परमं = सर्वोत्तम, अक्षरं = कहिल्यै नाश नहुने, (तत् = त्यो), ब्रम्ह = ब्रम्ह हो, स्वभावः = प्रत्येक शरीरमा परब्रम्हको अन्तरात्मभाव, अध्यात्मं = शरीरलाई आश्रय बनाएर त्यसमा अन्तरात्म भावले रहने परमार्थ तत्व (स्वभाव), उच्यते = कहिन्छ, भूतभावो्दभवकरः = भूत (प्राणी) हरूको सत्तालाई उत्पन्न गर्ने, विसर्गः = त्याग रूप यज्ञ, कर्म संज्ञितः = कर्म नामले कहिन्छ ।
देहभृताम्वर= हे देहधारीमा श्रेष्ठ ! क्षरः भावः = विनाशशील (उत्पत्तिशील) भाव भएको, अधिभूतं = प्राणीमात्रलाई आश्रित गरेर रहको, पुरुषः = जसद्वारा यो सम्पूर्ण जगत् परिपूर्ण छ, अधिदैवतं = सम्पूर्ण प्राणीहरूका इन्द्रियादि करणहरूको अनुग्राहक (सूर्यलोकमा रहने हिरण्य गर्भ), अत्र = यस, देहे = शरीरमा, अहं एव = म नै, अधियज्ञः च = देहरूप यज्ञको विष्णुरूप अधिष्ठाता पनि हुँ ।
भावार्थ – श्री भगवाने भन्नु हुन्छ – परम जुन अक्षर हो त्यही ब्रम्ह हो, स्वभाव नै अध्यात्म नामले कहिन्छ, जो विसर्ग (यज्ञ) भूत भावको उत्पत्ति कारक हो त्यसैको नाम कर्म हो । हे देह धारीमा श्रेष्ठ ! जसको क्षय हुन्छ त्यसलाई अधिभूत भन्दछन् । पुरुष नै अधिदैवत हो, यस देहभित्र 'म' नै अधियज्ञ हुँ ।
विशिष्टार्थ – भगवान् – 'ऐश्वर्यस्य समग्रस्य वीर्यस्य यशसः श्रियः । ज्ञानवैराग्ययो श्चैव षण्णां भग इतीरिता' । – जसमा यी छवटै गुण विद्यमान छन् ऊ नै भगवान् हो । यी जुन सात प्रश्नहरू उठेका छन् यिनीहरूको मीमांसा श्रीमुख विना अरू कुनै मुखबाट बाहिर आउन सक्दैन । अतः मुक्तात्मा निजबोध रूप भगवान् साधकको प्रश्नको मीमांसा गर्नु हुन्छ – अर्थात् साधकले कूटस्थ श्री विन्दिुमा चित्त संयम गरेर स्वयं आफै मनै मनमा आफ्नोप्रश्नको उत्तर दिन्छन् –
(१) 'अक्षरं परमं ब्रम्ह' जसमा परिणाम हुँदैन, परिवर्तन हुँदैन, चिर नित्यत्व विद्यमान छ सोही ब्रम्ह हो ।
'अक्षर' – जसमा परिणाम हुँदैन – कूटस्थोऽक्षर उच्यते – कूटमा परेर जुन एक भएर पनि अनेक आकार धारण गर्छ । कूट भन्नाले सुनारेको मिही पनि बुझिन्छ । सुनलाई कूटमा राखेर घनले पिटेर अनेकौं गहनाहरूको रूप दिइन्छ, परन्तु ती गहनाहरू गलाउंदा नाम र रूप हराएर मात्र सुन रहन्छ । त्यस्तै एक चैतन्यधनले कूट (प्रकृतिपट) मा प्रतिबिम्वित भएर नाना रूप धारण गर्छ । जस्तै–विहानमा दूवाको पातमा रहेका सीतका थोपाहरूमा सूर्यको प्रभातीकिरण पर्दा अनेकौं रंगहरू देखिन्छन् परन्तु सीत जस्ताको तस्तै रहन्छ । यो विविध रंग देखिने क्रिया सूर्यको गतिको महिमाले हो, त्यस्तै प्रकृतिको कार्यकारिणी शक्तिले एउटै 'चैतन्य' लाई विश्विरूपले सजाएको छ, यसैलाई कूटस्थ भन्दछन् । जस्तै–बाहिरके सुनारले बाहिरको कूटमा सुनलाई कुट्छ, भित्र पनि एउटा त्यस्तै कूट स्थान छ ,जहां एकटक लगाएर हेरिरहंदा एउटै पदार्थले एउटै स्थानमा अनेक आकार धारण गर्दछ । त्यो कसरी कहाँबाट ? के गरेर हुन्छ ? यो कसले गर्छ ? बुझन सकिन्न । त्यही कूट अनि कूटस्थ हो – त्यसैलाई 'तत्' भन्दछन् । यो तत् कस्तो छ ? यथा – 'तद् विष्णो परमं पदं सदा पश्यवित सूरयः । दिवि च चक्षुराततम्' यस तद्ब्रम्हलाई अन्धो बनेर हेर्नुपर्छ । जसले देख्छन् तिनीहरूले आकाशमा एक विस्तारित हेरिरहको आँखा जस्तो देख्छन् । जस्तै–आँखाको चारैतिर सेतो र वीचमा कालो हुन्छ, त्यस्तै यस तद्पदमा पनि चन्द्र, सूर्य अग्निको प्रकाश विना एक अनिर्वचनीय प्रकाश चारै दिशामा फैलिएर ठीक वीचमा प्रकाशले घेरिएको गाढा वैगनी चम्किलो कालो गोलक प्रत्यक्ष हुन्छ, त्यसैलाई विष्णुको परमपद भन्दछन् । यस परमपदको अरू पनि विवरण यस्तो छ – 'को दण्डद्वयमध्यस्थं पश्यन्ति ज्ञानचक्षुषा । कदम्बगोलकाकारं ब्रम्हलोकं ब्रजन्ति ते' अर्थात् तांदो लगाइएका दुई धनुषका मुख मिलाएर हेर्दा जुन प्रकारको (अण्डाकार) आकार हुन्छ, त्यसैको वीचमा स्थित कमलको फूल जस्तो एक गोलक छ, जसले ज्ञानचक्षुले त्यस गोलकलाई देखेका छन्, तिनीहरू ब्रम्हलोकमा गमन गर्दछन् । अतः यसको नाम विष्णुको 'परम पद' हो । त्यो जुन डिम्बाकारको भित्र कदम्बाकार गोलक देखिन्छ ती दुबै नै सीमाशून्य र एक हो । मस्तकको माथि आकाशजस्तै सीमाबद्ध गोलक देखिन्छ अथवा आँखाको दृष्टिमा सानो देखिए ता पनि महान् छ असीम छ, त्यो पनि त्यस्तै सीमाशून्य अवधि रहित महान् छ, त्यसकारण यसलाई तद्ब्रम्ह भनिन्छ ।
(२) 'स्वभाव' – स्व शब्दमा आफ्नो र भाव शब्दमा के छ भन्न सकिन्न । किन्तु जुन व्यक्तिले भनेका छन् त्यो यस प्रकार छ – जगत्मा जीव स्त्री र पुरुष रूपमा छ । यस स्त्री–स्त्रीमा वा पुरुष–पुरुषमा भाव हुँदैन, किन कि जबसम्म आकांक्षा रहन्छ तबसम्म यस शान्तिमय अवस्थाको प्रकाश हुँदैन । जब स्त्रीले पुरुषलाई र पुरुषले स्त्रीलाईप्राप्त गरेर दुबैको आकांक्षा निवृत्ति हुन्छ,दुई मिलेर एक हुन्छन्, यो जुन उद्वेगशून्य विश्राम अवस्था वा चरितार्थ अवस्था हो,यो नै भाव भनिन्छ । गुरुवाक्यमा अटल विश्वासको असक्ति पर्यन्त पनि जुन अवस्थामा लय हुन्छ, कुनै वृत्तिको पनि क्षयोदय रहदैन, यस अकम्पन अवस्थालाई भावावस्था भन्दछन् ।
अहिलेसम्म जुन बुद्धिले मनको किंकरी जस्तो बनेर एउटै शब्द–स्पर्श–रूप–रस–गन्धको निश्चयता बारंबार गराएर नवीन आकारमा ती सबैलाई मनसंग लगेर मन मोहक मूर्ति वनाई दिन्थ्यो, आज त्यही बुद्धिले बहिर्मुखी वृत्तिलाई छोडेर आफ्नो प्राणको प्राण 'अहं' को आश्रय लिइसकेको छ, अतः स्वभावको अर्को एक नाम 'अध्यात्म' हो । अधि–प्रधान, जसको प्राधान्य हुन्छ त्यही प्रधान हो । यस जगत् व्यापारको असल खराबलाई जसले निश्चय गर्छ सोही प्रधान हो । जगत् अनित्य छ र आत्मस्वरूप नै नित्य छ – यसलाई निश्चय गर्दछ, त्यसकारण नै 'अधि' अर्थमा निश्चयात्मिका बुद्धि र आत्म अर्थमा 'अहं' छ, अर्थात् बुद्धिको आत्ममुखी दृष्टिको नाम अध्यात्म हो । मेरो बुद्धि 'अहं' हुनुको नाम अध्यात्म हो ।
(३) 'भूतभावोम्दवकरो विसर्गः कर्मसंज्ञितः' – कालका भूत, भविष्यत्, वर्तमान यी तीन अवस्थाभित्र भूत अतिस्थूल, वर्तमान अति सूक्ष्म र भविष्यत् अपरिज्ञात छ । परन्तु यी तीन अवस्थामा नै कालको परिणमनता ज्ञात हुन्छ । जसले जन्म लिएको छैन त्यो कुन रूपले कसरी कुन स्थानमा छ, केही थाहा हुँदैन, थाहा पाउने कुनै उपाय पनि छैन, परन्तु जसै जन्म लियो तत्क्षणमा वर्तमान भयो । पुनः जन्मका साथ साथै कला, काष्ठा क्षण जसरी हुँदै गए त्यसरी नै त्यो भूतको गर्भमा परेर भूत हुनथाल्यो । अतः भनिन्छ कालको जुन अवस्था अपरिज्ञात छ त्यही भविष्यत् हो, कालको जुन अति सूक्ष्म वा व्यक्त अवस्था हो त्यही वर्तमान हो । कालको जुन अतिस्थूल अवस्था हो त्यही भूत हो । यो जुन कर्मभुक्र कालको गर्भस्थ प्रलीन अवस्था, लय अवस्था वा परिणाम अवस्था हो, यस अवस्थालाई भूत भन्दछन्, अर्थात् जो जन्मन्छ, जन्म लिएर केही दिन रहन्छ, फेरि जन्म लिनुभन्दा पहिले जस्तो अपरिज्ञात थियो त्यस्तै परिणामको कृपाले अपरिज्ञात हुन्छ । यो भूत सत्व, रज र तम गुणहरूको विकार लिएर पाँच आकार धारण गर्दछ, ती सबैको नाम आकाश, वायु, तेज, जल र पृथ्वी हो । यी सबैको एक एक गुण पनि छ । आकाशमा – शब्द गुण; वायुमा– शब्द र स्पर्श गुण, तेजमा – शब्द, स्पर्श र रूप गुण, जलमा शब्द, स्पर्श, रूप र रस गुण; पृथ्वीमा – शब्द, स्पर्श, रूप, रस र गन्ध गुण छ । यस दृश्यमान जगत्मा तिमीले जे देख्नेछौ त्यो सबै नै यी भूतहरू भित्र छन् । जब यो सबै केही पनि उत्पन्न भएको थिएन, त्यस अवस्थामा पनि अपरिणामी अखण्ड ब्रम्ह भनिन्थ्यो । यसै सर्वसमष्टिमा जब व्यष्टि भावको प्रारम्भ हुन्छ, तब नै दुई विन्दु हुन्छन् – पहिलो अपरिणामी र दोस्रो परिणामी, एउटै ब्रम्हको सत् र असत् रूपले यी दुई विन्दुमा परिणत हुनु नेै विसर्ग (वि= विशेष+सर्ग= सृष्टि) हो । यसै विसर्गद्वारा अपरिणामीबाट परिणामीको विस्तार प्रारम्भ हुन्छ । यो प्रारम्भ नै भूतभाव हो; र यस प्रारम्भको बृद्धिको नाम उद्भव हो । यस उद्भवले संसारमुखमा सृष्टि वृद्धि गर्दछ र ब्रम्हमुखमा सृष्टिलाई लय गर्दछ, अर्थात् संसारमुखमा तीदुबै विन्दुबाट बहुत्वको सृष्टि हुन्छ र ब्रम्हमुखमा ती दुबै विन्दु मिलेर एक हुन्छ । यो सृष्टि र लय गर्ने विसर्ग नै कर्म हो ।
(४) अधिभूत – त्यो जुन कालत्रयद्वारा खण्डित, षट्विकार (अस्ति, जायते, बद्र्धते, विपरिणमते, अपक्षीयते, बिनश्यति इति षट् विकाराः) सम्पन्न मत्र्य, नाशबान् वा क्षरभाव हो, बुद्धि जब आत्मालाई परित्याग गरेर यी सबैलाई लिएर खेलिरहन्छ, तब अभिभूत अवस्था भनिन्छ ।
(५) 'पुरुष' – पुरमा जो सुतेको छ त्यसैलाई पुरुष भन्दछन् । पुर भनेको घर हो । चारै तिर गारो लगाएर आकाशलाई घेर्नाले भित्र जुन स्थान रहन्छ त्यसैलाई पुर भन्दछन् । यस देहरूप पुर भित्र चैतन्यरूपले जुन सुतिरहेको छ त्यही पुरुष हो, अर्थात् चित्तपटमा प्रतिविम्बित जुन 'चिच्छाया' वा अभिव्यङ्ग चैतन्य छ, त्यही पुरुष हो , त्यो नै चित्तरूप परमा व्याप्त भएर सुतिरहेको छ, अर्थात् चित्तपटमा प्रतिविम्बित जुन चिच्छाया वा अभिव्यङ्ग (देहहीन) चैतन्य हो, त्यही नै पुरुष हो,सोही चित्तरूप पुरमा व्याप्त भएर सुतिरहेको छ ।
बुद्धिले जब बहिर्मुखीवृत्ति परित्याग गरेर यस पुरुषलाई लिएर खेलिरहन्छ, आलोचना गरिरहन्छ अनि संझिरहन्छ तव अधिदैव अवस्था भनिन्छ । अधि अर्थमा बुद्धि भनेर पहिलेनै भनिसकिएको छ । अव 'दैव' को वारेमा भनिन्छ –द+एव= दैव 'द शब्दमा स्थितिको स्थान अर्थात् योनि हो अनि एव शब्दमा इदं (यो) हो । बुद्धिले जब' मेरो स्थितिको स्थान यो हो भनेर त्यस ईश्वर स्वरूपमा मिल्नका लागि चेष्टा गर्छ या मिल्दछ, त्यस अवस्थालाई नै अधिदैव भन्दछन् ।
(६) अधियज्ञ – अधि = बुद्धि, यज्ञ = ग्रहण र त्याग हो । यो जुन बहिराकाशमाअमृतमय वायु विचरण गरिरहन्छ, त्यो वायु जब शरीरभित्र प्रवेश गर्दछ तब त्यो शरीरको तातोले जलेर विष बदछ । विष हुनासाथ त्यसको बहिर्मुखी गतिको प्रारम्भ हुन्छ र विस्तारै विस्तारै त्यो विष बाहिर निस्कन्छ । यो जुन अमृतमय वायुको आकर्षण र विषको निकर्षण हो यो आपैm भइरहन्छ । नारयारन्ध्रका भित्र गलगहरको तल पुग्दा धान कुट्ने ढिकी जस्तो एक यन्त्र हुन्छ, यसमा दुई नली हुन्छन् – एक वायु नली अर्को खाद्य नली । खाद्य पानीय आदि सबै द्रव्य मुखद्वारा शरीर भित्र प्रवेश गराइन्छ, त्यसलाई त्यो ढिकी यनत्रले वायु नलीलाई बन्द गरेर पानी तथा खाद्यवस्तुलाई खाद्य नलीमा पठाउँछ, अनि जब केवल निश्वास प्रश्वास प्रवाहित हुन्छ तब त्यस ढिकी यन्त्रले जल तथा खाद्य नलीको मुख बन्द गरेर वायु नलीमा वायुलाई पठाउँछ । त्यो वायु बराबर तल मेरुदण्ड संलग्न सुषुम्नाको ठीक मुखमा पुगेर सुषुम्नाभित्र प्रवेश गरेर मूलाधारलाई भेद गरेर, बज्राको भित्र प्रवेश गरेर, स्वाधिष्ठानलाई भेद गरेर अनि पछि चित्राकोभित्र प्रवेश गरेर, मणिपुरलाई भेद गरेर क्रमानुसार अनाहत, विशुद्ध, आज्ञालाई भेद गर्दै सहस्रारको मूल त्रिकोणमा पुग्दछ,फेरि ठीक सोही बाटोमा घुमेर बहिराकाशमा विश्राम लिन्छ । यो जुन वायुको गति ग्रहण र त्याग हो (गुरूपदिष्ट क्रियाद्वारा बुद्धिले जब यो आकर्षण र विकर्षण यथारीति सम्पादन गर्दछ) त्यसै अवस्थालाई अधियज्ञ भन्दछन् । यस शरीरभित्र 'अहं' नै यो अधियज्ञ हो । 'अहं' शब्दमा आत्मा हो र 'अत्र' -अं ब्रम्हणे स्थूल शरीराय, रजोगुणाय, संकल्पविकल्पात्मक मनोधर्मरूपसृष्टिक्रियाय) अर्थात् अ शब्दको अर्थमा सृष्टिकर्ता ब्रम्हालाई संझिन्छ, स्थूल शरीर जाग्रत अवस्था रजोगुण, संकल्प विकल्पात्मक मन नभइकन ब्रम्हा बनिदैन, अतएव ब्रम्हामा यी सबै विद्यमान रहन्छन् । अनि त्र – (तृ= तारणे) अर्थात् ती अवस्थाको त्राण वा विश्राम जहां हुन्छ । (गरूपदिष्ट क्रिया गर्ने साधकहरू यस अवस्थालाई जान्दछन् र त्यो स्थान पनि जान्छन्) अतएव, हे देहभृताम्वर = हे देही श्रेष्ठ ? जे जस्तो तिमीले प्रश्न गरेका थियौं त्यो सबै तिम्रो यस देह भित्र छ, हेर, प्रत्यक्षका लागि प्रमाणको आवश्यकता हुँदैन ।
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् ।
यः प्रयाति समद्भावं याति नास्त्यत्र संशयः ।। ५ ।।
क्रमश:
उपासनामा अपरोक्ष ज्ञान लाभ प्राप्तीका पाँच श्लोक र सोह्र विभूति
सात्विक, राजसिक र तामसिकः त्रिगुणमय भावले मोहित समस्त जीवहरूकाे यथार्थ
सबै जीवहरूका अभ्यन्तरमा रहेको 'म' रूपी विद्यमान अवस्था
'योगमाया' अर्थात वासनाः इछाशक्तिको नियन्त्रण र शक्ति त्रिगुणको संयोग
अक्षर ब्रम्ह अर्थात पानीका तीन अवस्था तरल, ठोस र वाष्प