काठमाडौं प्रवेशमा स्थानीय तहकाे अनुमति अनिवार्य

काठमाडौं प्रवेशमा स्थानीय तहकाे अनुमति अनिवार्य

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३२, २०७७

काठमाडौं । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौं प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार काठमाडौं आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । उक्त अनुमति प्राप्तसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रशासनमा पठाउनु पर्नेछ । 

 उक्त निवेदनमाथि काठमाडौं प्रशासनले सङ्क्रमणको जोखिम विष्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ । 

काठमाडौंबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । 

   काठमाडौं जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ ।