छतमा राखेको पानी कहाँ गयो ?

छतमा राखेको पानी कहाँ गयो ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फागुन २८, २०७५

जीवनको अन्तिम ‘गेम’ खेलिरहेको खेलाडीको मनोदशा विश्लेषण गर्न सक्नु निश्चय पनि जटिल हुन्छ । त्यो त धन्यवाद छ मृृत्युलाई जसले जीवनको ‘गेम’मा अल्झिएको मानिसलाई खबर हुन दिन्न, ‘भाइ आजको दिन अन्तिम हो’ । यसैले गर्दा त मानिस अन्तिम दिनसम्म जीवनरूपी खेलमा रमिरहन्छ । 

कल्पना गर्नुस्, कसैलाई फलानो दिन आफ्नो अन्तिम दिन हो भन्ने ज्ञात हुन आयो भने ५५% सम्भावना त्यो मानिस फलानो दिनसम्म प्रतीक्षा गर्न लायक रहन्न । 
म जीवनको ‘अन्तिम खेल’ ‘पपुलर साइन्स’ लेखनमा रमाइरहेको छु अचेल । झण्डै डेढ वर्षको अवधिमा विज्ञानमा आधारित ५० भन्दा बढी लेख पत्रपत्रिकामा छापिए । शरतचन्द्र वस्ती, राममणि पोखेरल, गुरुप्रकाश लगायतका अन्य कैयन बुद्धिजीवीबाट समयसमयमा प्रतिक्रिया र उत्साह प्रदान गर्ने सुझाव आलोचना पाउनु कुनै पुरस्कारभन्दा कम्ती होइन । 

अचेल त मेरा कफी गफ पनि विज्ञानमय बनेका छन् । मोहन दाहाल, सरोज ज्ञवाली, तारा रेग्मी, राम थपलिया, मनोज दाहालसँग भेट होस् वा जिवेन्द्र सिम्खडा, चन्द्र खाकी, आशीष पौडेल लगायतका साथीसँग । हामीबीच चर्चाको विषय विज्ञान नै बन्ने गर्छ । 

रामबहादुर बम्जन, स्वामी अरूण लगायतका आध्यात्मिक पुरुषका बारेमा समाचार पढ्दा मलाई बडो आत्मसन्तुष्टि हुन्छ । १५ वर्ष आध्यात्मिक यात्रामा बिताए पनि मैले जीवनको अन्तिम पडावमा आएर आध्यात्मिकतालाई जीवनको ‘खेल’ बनाइनँ । वरन् निपट अनभिज्ञ रहेको विज्ञानलाई रोजें । 

विज्ञान लेखकले के वाहियातको गन्थन लेखेर समय बिताइरहेको होला, पक्कै तपाईँहरूलाई यस्तै ‘फिलिङ’ भइरहेको होला । यो वाहियात गन्थन म पाठशाला स्कुलका एक जना विद्यार्थी विकेश ज्ञवालीसँग संवाद गर्ने प्रयास स्वरूप गरिरहेको छु । कक्षा ४ मा पढ्ने यी विद्यार्थीको मलाई एउटा ‘फोटो पत्र’ प्राप्त भएको छ । फोटो पत्रमा लेखिएका प्रश्नको जवाफ दिने पूर्वतयारी स्वरूप मस्तिष्कलाई ‘वार्मअप’ र ‘सेन्ट्रिलाइज्ड’ गर्ने ‘अल्केमी’ हो यो गन्थन मन्थन । 
 


प्रश्न : हकिन्स रेडियसन भनेको के हो ?
तिम्रो प्रश्नले के म यो बुझौं कि तिमीलाई स्टिफन हकिन्सबारे थाहा छ ? अनि रेडियसनबारे पनि तिमीलाई अलिअलि थाहा होला । तिम्रो उमेरको हुँदा मलाई कथा सुन्न तथा पढ्न बडो मजा आउथ्यो । तिमीलाई पनि मन पर्छ होला । तिमीले यो कथा सुनेकै हुनुपर्छ, म यही कथा दोहोर्याएर तिमीलाई बुझाउने प्रयास गर्छु । 

कोही एउटा अति विशालकाय राक्षस थियो । उसलाई कसैले मार्न सकेन, अनेकौं प्रयास गर्दा पनि उसलाई मार्न सकिएन । कथाका अनुसार उसको प्राण उसको शरीरमा नभएर अन्त कतै थियो । प्राणलाई क्षति नपुगेसम्म उसलाई मार्ने उपाय भएन । कुनै राजकुमारले उसको प्राण भएको ठाउँ पत्ता लगाएर प्राणलाई नष्ट गरी दियो र त्यो दानव मर्यो । 

‘हकिन्स रेडियसन’ पनि कुनै अति ‘भीमकाय दानव’को मर्ने प्रक्रिया हो, जसलाई विज्ञानको भाषामा ‘ब्ल्याक होल’ भनिन्छ । के बुझेनौं ?
त्यसो भए अब कथा होइन, तिमी आफै एउटा प्रयोग गर ।

कुनै एउटा बाल्टिनमा ५ लिटर पानी लिएर त्यसलाई आफ्नो घरको छतमा राखिदेउ । व्यवस्था यस्तो गर कि पानी न पोखियोस्, न त कुनै चराचुरुङ्गीले पिउन सकुन् । अब प्रतिदिन त्यो पानीको मात्रा ‘चेक’ गर । तिमी पाउँछौं– पानीको मात्रा घट्दै गइरहेको छ । व्यवस्था तिमीले आफै गरेको हो, पानी कसैले झिकेको वा चलाएको होइन । केही दिनपश्चात त्यो बाल्टिनमा एक थोपा पनि पानी रहन्न । के तिमी भन्न सक्छौ, पानी कहाँ गयो ?  पानी वाष्प बनेर उडेर गयो । भएको पानी सिद्धियो, रूप परिवर्तित भएर गयो, एकदमै सहज बुझाईमा पानी ‘मर्यो’, लोप भयो ।

सामान्य बुझाइ र हाम्रा आँखाको सत्य यही नै हो । तर, विज्ञानको उन्नत बुझाइ र दूरदृष्टिले अब हामीलाई थाहा छ पानीको रूप परिवर्तन भयो, पानी वाष्पमा बदलियो । तिमीले बाल्टिनमा राखेको पानीको रूप परिवर्तन दुई–तीन दिनमै (तापक्रम अनुसार) हुन सक्छ । के तिमीलाई थाहा छ, समय हजारौं वर्षको लागे पनि कुनै न कुनै दिन त्यो बाल्टिन पनि लोप हुन्छ । 
यो बेग्लै कुरा हो, बाल्टिन लोप हुञ्जेल हामी साक्षी बन्न सक्दैनौं । बाल्टिन लोप हुनुभन्दा धेरै पहिला हामी नै लोप हुनेछौं । 

विज्ञानले भन्छ– सबै कुरा ‘एनर्जी’ले बनेका हुन् र फेरि ‘एनर्जी’मै बदलिन्छन् । 

तिमीलाई ‘एनर्जी’को सबैभन्दा ठूलो स्रोत सूर्यबारे थाहा होला । हाइड्रोजनको विशाल भन्डार हो सूर्य । हाइड्रोजन बलेर ‘एनर्जी’मा बदलिन्छ सूर्यमा । कुनै दिन (५ अर्ब वर्ष लागे पनि) त्यहाँ हाइड्रोजन सकिन्छ, सूर्यको पनि रूप फेरिने प्रक्रिया आरम्भ हुन्छ । 

वैज्ञानिकका अनुसार हाम्रो सूर्य अन्तिम अवस्थामा ‘ब्ल्याक होल’ बन्दैन । हाम्रो सूर्यभन्दा तीन गुना ठूलो तारा अन्तिम अवस्थामा ‘ब्ल्याक होल’ बन्न सक्छ । 
अब बुझ, ‘हकिन्स रेडियसन’ के हो । ब्ल्याक होल यस्तो संरचना हो, जसबाट प्रकाश पनि परावर्तित हुन्न । ‘ब्ल्याक होल’मा जे पस्छ त्यो बाहिर आउन्न । त्यसो भए त ‘ब्ल्याक होल’ कहिल्यै नमर्ने दानवझैं हुन गयो । 

महान वैज्ञानिक स्टिफन हकिन्सले ‘ब्ल्याक होल’ पनि ‘मर्छ’ भन्ने पत्ता लगाए । ‘ब्ल्याक होल’मा पसेको केही कुरा पनि (प्रकाशसम्म) बाहिर आउन नसके पनि ‘ब्ल्याक होल’मा तिमीले बाल्टिनमा राखेको पानी वाष्पीकृत भएजस्तै एक किसिमको वाष्पीकरण हुन्छ । हकिन्सले यही पत्ता लगाए र यही प्रक्रिया वा वाष्पीकरणलाई ‘हकिन्स’ रेडियसन भनिन्छ ।

आशा छ, अब तिमीले ‘हकिन्स रेसिडयसन’बारे बुझ्यौं होला । तिम्रा अरु प्रश्नको जवाफ विस्तारै दिनेछु ।