प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पर्यटकीय क्षेत्र विस्तारका लागि पदमार्ग निर्माण

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  पर्यटकीय क्षेत्र विस्तारका लागि पदमार्ग निर्माण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०१, २०७७

चितवन । पर्यटकीय क्षेत्रको विस्तार गर्दै पर्यटकलाई आकर्षित गर्न नवलपरासीको कावासोती नगरपालिकामा रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा पदमार्ग निर्माण गरिएको छ । वन्यजन्तुको अवलोकनका लागि आउने पर्यटकलाई पैदलयात्राको माध्यमबाट वन र वन्यजन्तुको अवलोकन गराउने उद्देश्यले पदमार्ग निर्माण गरिएको हो । अमलटारी घरवाससँगै रहेको यस वन क्षेत्रमा पाँच किलोमिटर नयाँ पदमार्ग निर्माण गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । 

 प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कावासोती नगरपालिका–१७ को बजेटबाट पदमार्ग निर्माण गरिएको हो । सो कार्यक्रममार्फत रु तीन लाखको बजेटमा वन क्षेत्रमा १५ दिन लगाएर २४ जनाले पदमार्ग निर्माण गरेको कावासोती–१७ का वडाध्यक्ष छविलाल महतोले बताउनुभयो ।
 'चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, नारायणी किनार र अमलटारी घरवाससँगै रहेकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्”, वडाध्यक्ष महतोले भन्नुभयो, 'उनीहरुलाई जिप सफारीसँगै पैदलयात्राको समेत अनुभूति दिनका लागि पदमार्ग निर्माण गरिएको हो '

अमलटारी क्षेत्र पर्यटकका लागि गैँडा अवलोकनको गन्तव्य बन्दै गएको छ । यस क्षेत्रमा थप पर्यटकलाई आकर्षित गर्न नयाँ योजना निर्माण गरिरहेको वनका अध्यक्ष नरबहादुरले बताउनुभयो । वनभित्र पैदलयात्रा गर्न चाहने पर्यटकलाई सुरक्षाको उचित प्रबन्ध गरी सोहीअनुसार पैदल सफारी गराइने उहाँले बताउनुभयो । 

 बन्दाबन्दीको अवस्थाले कतिपयले रोजगारसमेत गुमाएका हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस क्षेत्रमा पदमार्ग विस्तार र वन्यजन्तुका लागि जलाधार क्षेत्रको संरक्षण, सरसफाइका कार्यक्रम सञ्चालन गरिएको छ । गुन्द्रही ढकाहासँगै, शान्ति कुञ्ज, कृष्णसार र नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा पदमार्ग विस्तार तथा वन्यजन्तुको संरक्षण र पर्यटक लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको कावासोती–१५ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो ।
 
  कावासोतीको मध्यवर्ती क्षेत्र पर्यटकीय गन्तव्य भएकाले यसलाई लक्षित गरी काम गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम कावासोतीका संयोजक मुकुन्द सापकोटाले बताउनुभयो । वडा नं ७, १०, १२, १३, १५ र १७ को बजेटबाट वन क्षेत्रमा पदमार्ग निर्माणको काम गरिएको छ । करिब २० किलोमिटर क्षेत्रमा पदमार्ग निर्माण हुनेछ । हाल केही वन क्षेत्रमा पदमार्ग निर्माणको काम सञ्चालन भइरहेको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार प्रणालीमा सूचीकृत १८८ जनालाई १५ दिनका दरले रोजगार प्रदान गरेको संयोजक सापकोटाले बताउनुभयो । 

 बन्दाबन्दीको समयमा विपन्न नागरिकलाई केही भए पनि राहत मिलोस् भनेर १५ दिनका लागि रोजगार प्रदान गरिएको उहाँले बताउनुभयो । कोभिड–१९ का कारण बन्दाबन्दी हुँदा प्रभावित भई राहत लिइरहेका र प्रधानमन्त्री रोजगार प्रणालीमा सूचीकृतलाई प्राथमिकता दिएर रोजगार प्रदान गरिएको संयोजक सापकोटाले बताउनुभयो । उहाँका अनुसार अन्य वडामा समेत बाटो र नाला निर्माण, सिँचाइ कूलो निर्माणलगायतका काम सञ्चालन गरिएको छ । 'अहिले बन्दाबन्दीको समयमा रोजगार गुमेकालाई प्राथमिकता दिएर काम दिएका छाँै”, संयोजक सापकोटाले भन्नुभयो, 'यसले विपन्नलाई केही भए पनि राहत हुनेछ '