सेबिका सुवेदी | दृष्टिकोण | असार ०२, २०७७
वाह्य प्रकृतिसँग हाम्रो शरीरको तालमेल हुन नसक्दा वा प्रकृतिको लयमा हिँड्न नजान्दा या प्रकृति विपरीत चल्न खोज्दा हाम्रो शरीरमा रोग उत्पन्न हुन्छ । प्रकृतिले नै मान्छेलाई खाने, सुत्ने,उठ्ने अन्य क्रियाकलाप गर्नका लागि समय निर्धारण गरिदिएको हुन्छ तर आजभोलि हामी विपरीत गतिविधि गर्न थालेका छौ । यही प्रकृति विपरीत समयमा गरिने खानपान,उठबसकै कारण अधिकांश मानिस रोगको सिकार हुनु परिरहेको छ ।
मानिसको शरीरलाई शक्ति अर्थात् इनर्जी प्रदान गर्न भोजनको आवश्यकता पर्दछ । जीवलाई जीवन्त राख्न, शरीरलाई स्वस्थ र ऊर्जावान् गराउन नियमित भोजनको जरुरी हुन्छ । हामीले आ–आफ्नो इच्छा अनुरूप भोजनबाट स्वाद र सन्तुष्टि प्राप्त गरी रहेका हुन्छौ । तर त्यो भोजनले शरीरमा कस्तो प्रभाव पारेको छ हामी धेरै जना अनभिज्ञ नै रहेका हुन्छौ मनले चाहेका सबै भोजन शरीरको लागि हितकारी हुँदैनन् केवल मनको तृप्ति, जिब्रोको स्वाद र भोक मेटाउने बहाना मात्र हुन्छन् ।
मानव जीवनमा भोजनको अत्यन्तै ठुलो भूमिका रहेको हुन्छ तर भोजन के ? कति ? कसरी र किन ? गर्ने भन्ने ज्ञान नहुँदा त्यही भोजन हाम्रो शरीरमा रोगको कारण बन्नी रहेको हुन सक्छ । यसर्थ भोजन र यसको प्रभावको राम्रो ज्ञान हुनु सबैको लागी अति आवश्यक छ । जसरी प्रकृतिमा सत, रज, तम गुण हुन्छन् त्यसै गरी हामीले गर्ने भोजनमा पनि तीन प्रकारका गुण विद्यमान हुने गरेको देखाइएको छ । खाशगरी हामीले खाने खानालाई सात्त्विक, राजसिक र तामसिक गुण भनेर वर्गीकरण गरिएको छ ।
भौतिक शरीर भोजनको एक रूपान्तरित स्वरूप हो । हरेक व्यक्तिको बल, बुद्धि, विवेक भौतिक चेतना सूक्ष्म रूपमा भोजनले निर्धारण गर्दछ । भोजनसँग हाम्रो मन र इन्द्रियको सम्बन्ध रहन्छ । मन अदृश्य छ तर बहुत शक्तिशाली छ । मनले नै शरीर र इन्द्रियलाई दास बनाएको हुन्छ । इन्द्रियहरू मात्र सूचना संवाहक हुन शरीर कर्ता हो यी सबैमा राज मनले गरेको हुन्छ । दूषित मनले जे माग्छ हामी त्यही खान्छौ पछि दुःख पाउँछ शरीरले त्यसैले मनलाई शुद्ध पवित्र राख्न सधैँ शुद्ध सफा पोसिलो खाना शुद्ध भावले खानु पर्दछ ।
सात्त्विक भोजन
ताजा, सुपाच्य र हल्का प्रकृतिका हुन्छन् । शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज प्रशस्त मात्रामा पाइने अन्न गेडागुडी, ताजा सागसब्जी, फलफूल आदी पर्दछ । सात्त्विक भोजनले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ, मनलाई शान्त राख्ने गर्दछ, विवेकको सिर्जना गरी चित्त प्रसन्न हुन्छ प्रसन्न चित्तद्वारा गरिएका कर्मले कसैलाई हानी गर्दैन ।
राजसिक
मनको तृप्ति र जिब्रोको स्वादको लागी गरिने भोजनलाई राजसिक भोजन भनेर भनिन्छ । अत्यधिक चिल्लो, पिरो, अमिलो, मसलादार, बढी सुख्खा प्रकृतिका भोजन यो वर्गमा पर्दछन् । यस्तो भोजनले क्षणिक ऊर्जा प्रदान गरेता पनि दीर्घकालमा शरीरलाई हानी पु¥याउँछ, स्वादिलो भएका कारण शरीरको आवश्यकता भन्दा बढी भोजन गरिन्छ । यस्तो भोजन ढिलो पच्ने हुँदा कब्जियतको समस्या तत्कालै आउँछ । शरीरमा देखिने अधिकांश रोगको मूल कब्जियत नै हो । शरीरमा आलसयता, अल्छीपना ल्याउँछ ।
तामसिक
शरीरको प्रकृति विरुद्धका खानालाई तामसिक प्रवृत्तिका खाना भनेर परिभाषित गर्ने गरिन्छ । सडे गलेको, न्यून पौष्टिक तत्त्व भएको, मिसावट युक्त, आलोकाँचो, जाँड, रक्सी, चुरोट, अन्य नसालु पदार्थ, आदी तामसिक भोजनको समूहमा पर्दछन् । । यस्ता भोजनले मानिसको मन, बुद्धि विवेकलाई समेत भ्रष्ट गराउँछ । जस्तो आहार त्यस्तै विचार भने झैँ तामसिक भोजनले हाम्रो भाव विचार ह्रिंसक प्रवृत्तिको बनाउने गर्दछ । । प्रतिफल स्वरूप व्यक्तिले नकारात्मक कर्म गर्न पुग्छ ।
अध्यात्म विज्ञानले भोजन केवल भोक मेटाउनको लागि मात्र नभई यसमा सृष्टिको रहस्य रहेको समेत उल्लेख गरेको पाइन्छ । भोजन रूपान्तरण प्रक्रियामा भौतिक रूपमा रस, रगत, हुँदै रज/वीर्यमामा पुगेर टुङ्गिन्छ । जो भावी सन्तानको बीज पनि हो । यसर्थ हामीले जस्तो भोजन गर्छौ हाम्रो बीजको गुण त्यही अनुरूप निमार्ण हुन्छ । रज/वीर्य पश्चात् सूक्ष्म रूपमा भोजनबाट ओज तेज हुँदै भाव विचारको निर्माण हुने गर्छ । अब जस्तो चिन्तन विचार हुन्छ । हामीले त्यस्तै कर्म गर्ने हो । हाम्रो कर्मले चरित्रको निर्माण गर्छ त्यसैले भोजनलाई चरित्रको निर्माता हाे भनेर भन्न सकिन्छ ।
यस्तै अध्यात्म विज्ञानले भोजन र भाव बिच समेत निकट सम्बन्ध रहेको बताएको छ । भोजनका लागि कमाई गर्ने समयको भाव, भोजन तयार गर्दाको भाव, भोजन ग्रहण गर्दाको भावले समेत भोजनको गुणमा परिवर्तन गराउँछ । अरूलाई दुःख दिएर गरेको आर्जनबाट प्राप्त भोजन, अरूको रिस, डाह, ईर्ष्या, जलनका साथ बनाइएको भोजन र यस्तै नकारात्मक भावका साथ ग्रहण गरिने भोजनको गुण समेत तामसिक बन्दछ । यसर्थ सकारात्मक सोच, सत्कर्मद्वारा आर्जन गरी भोजन गरौँ । कसैको आस, बास र गाँस नखोसौँ । भोजन राम्रो भएर मात्र हुँदैन सही मात्रा, सही समय र सही ढङ्गले गर्न जान्नु पर्दछ ।
हेर्दा सुन्दा सामान्य तर शरीरको लागी अति उपयोगी केही नियमलाई पालन गर्न सके भोजनले औषधीको रूपमा कार्य गर्दछ ।
मानव जीवनमा भोजनको महत्त्वपूर्ण स्थान रहन्छ । हाम्रो भौतिक शरीर भोजनको एक रूपान्तरित स्वरूप हो । हरेक व्यक्तिको बल, बुद्धि, विवेक भौतिक चेतना सूक्ष्म रूपमा भोजनले निर्धारण गर्दछ । भोजनसँग हाम्रो मन र इन्द्रियको सम्बन्ध रहन्छ । मन अदृश्य छ तर बहुत शक्तिशाली छ । मनले नै शरीर र इन्द्रियलाई दास बनाएको हुन्छ । इन्द्रियहरू मात्र सूचना संवाहक हुन शरीर कर्ता हो यी सबैमा राज मनले गरेको हुन्छ । दूषित मनले जे माग्छ हामी त्यही खान्छौ पछि दुःख पाउँछ शरीरले त्यसैले मनलाई शुद्ध पवित्र राख्न सधैँ शुद्ध सफा पोसिलो खाना शुद्ध भावले खानु पर्दछ ।
हामी के खान्छौ भन्दा पनि कसरी खान्छौ बढी महत्त्वपूर्ण हुन्छ । खान जानेमा औषधी त खान नजाने त्यही भोजन शरीरका लागी विष साबित हुन सक्छ । भोजनमा उचित सुधार गरे मात्र पनि अनेक रोगहरूबाट बच्न सकिन्छ । हालको यस्तो विषम परिस्थितिमा सबैले भोजनमा धेरै ध्यान दिनु आवश्यक छ । अझ दिर्घरोगीहरुले त भोजनलाई नै औषधीको रूपमा ग्रहण गर्न जान्नु पर्छ । आफ्नो शरीरको प्रकृति हेरी के ? कति ? कसरी ? खाने भन्ने उचित ज्ञान ग्रहण गरी नियमित, सन्तुलित भोजन अनुशासन पूर्वक गर्नुपर्छ । स्वस्थ, सुखी र दीर्घ जीवनका लागी सबैमा आहार विज्ञानको ज्ञान हुनु जरुरी हुन्छ ।
sebikasubedi73@gmail.com