लोकसंवाद संवाददाता | कारोबार | फागुन २९, २०७५
तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ ।
केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।
साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।
वितरण केन्द्रले चालू आर्थिक वर्षमा ६१६ ग्राहकको लाइन काटेकामा ५०३ ग्राहकले विद्युत् महसुल बक्यौता तिरेको गोशलीले जानकारी दिनुभयो । ती ग्राहकबाट एक करोड ६३ हजार ८६१ रूपैयाँ बक्यौता असुल भएको छ । बक्यौता रकम बुझाएपछि ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ ।
विद्युत् महसुल सङ्कलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई दुई प्रतिशत छुट दिइन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।
त्यस्तै, मिटर रिडिङ गरेको २३ औं दिनदेखि ३० औं दिनसम्म विद्युत् महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर लाग्नेछ । विनियमावलीमा उल्लेख भएअनुसार मिटर रिडिङ गरेको ३१ औं दिनदेखि ४०औं दिनसम्म विद्युत् महसुल नबुझाएमा १० प्रतिशत थप दस्तुर लाग्छ भने ४१ औं दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ ।
विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६० औं दिनसम्म पनि विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सक्ने व्यवस्था रहेको गोशलीले जानकारी दिनुभयो ।
अस्पतालले तिर्यो बाँकी बक्यौता
विद्युत् उपयोग गरेवापत सबैभन्दा बढी बक्यौता रहेको दमौली अस्पतालले समेत बाँकी बक्यौता तिरेको छ । केन्द्रले पटक–पटक विद्युत् महसुल तिर्न अस्पताललाई ताकेता गरेपछि अस्पतालले रु ३४ लाख ५६ हजार ४३५ तिरेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अस्पतालले पुसमा १५ लाख ७२ हजार ४३५ रूपैयाँ र फागुनमा दुई किस्ता गरी चार लाख ३६ हजार ९३५ रूपैयाँ र १४ लाख ५७ हजार ६५ रूपैयाँ चुक्ता गरेको छ । उक्त रकम तिरेपछि अस्पतालको नाममा कुनै बाँकी बक्यौता नरहेको केन्द्रले जनाएको खबर राससमा छ ।