भिम राई (माक्पाली कान्छा) | साहित्य | असार ०६, २०७७
अम्बोटे
अलिकती ढुँगा
बलौटे माटो
दम्साईलो बाटो
माथी बेहेरे, उता विन्दा,
यता चिउरीखर्क, तल तापखोला
पारी पट्टि लाप्चा, साब्रु
खेत खेत, बारी बारी परेको
भिरालो भिरालोको बिचमा
अलिकती उब्रिएको मैदान
गुजुक्क परेका १८, १९ घर
रमिते, टारी र सिरान
यति हो अम्बोटे
पानीको प्रशस्त मुहान छ
तर खानेपानी धारा छैन
नजिकै तापखोला सुतिरहन्छ
अम्बोटे अँध्यारोमा बस्छ
विजुली त छ
तर छैन जस्तो गर्छ
सडक छ
तर नुन तेल किन्न बाक्सिला पुग्छ
गाडी कुद्छ हैन घिस्रिन्छ
बर्षामा हिलो, हिउँदमा धुलो
उसको भागमा पर्छ
भान्सामा कराई बसाउँछ
उ फुर्लुङ बोकेर
तापखोला झर्छ
कराई तातिदै गर्दा
एक छाक माछाको भुरा
हाजिर गराउँछ
ढिडोलाई धेरै तिहुन चाहिदैन
बिहान उठ्छ
अर्म पर्म जान्छ
एकदिनलाई दुईदिन बनाउँछ
हिसाब लगाउँछ
६ देखि १२ र १ देखि ६
याने कि बिहान, दिउँसो
बच्चा, स्कुल, होमवर्क,पढाइ
बिर्सन्छ यसबेला
उकालो बाटो
टाढा बेहेरेको स्कुल
कलिला बच्चाहरुको खुट्टा
बेँसीको चर्को घाम
जान्दछ उस्ले
जाँदैनन बच्चाहरु स्कुल
पुग्दैनन् समयमा उनिहरु
पढ्दैनन् उनिहरुले कख
जान्दैनन ए बि सि डि
आउँदैन १ र १ एघार
रिसाउँछ बाल बच्चासँग
स्कुल भर्ना गरेको ५ बर्ष भयो
जान्दैन क ख
भन्दैन ए बि सि डि
गन्दैन १र १ एघार
खत्तम छ यस्को दिमाग
पढाउन जान्दैन यस्का मास्टर
बेकारमा समय बर्वाद गर्दैछ यो
भोलीदेखि हिँड बाख्रा गोठाला
छैन याद
बिहान ६ बजे छाडेको बच्चा
दिउँसो १२ बजे आउँदा
के खाएर गयो होला स्कुल
के लाएर गयो होला उ
कति बेला हिँड्यो होला घरबाट
कसरी गर्यो होला घरको कामसँगै होमवर्क
मनमा के लिएर पुग्यो होला स्कुल
घरमा दिएको गाली ठुलो कि स्कुलको पढाइरु
के सोच्दो हो बालक
अनि कसरी जान्दो हो उसले
क ख, एबिसिडि र १ र १ एघार
अब सुध्रनु पर्छ
आँखा उघ्रनु पर्छ
अगाडि हिँडने होईन दौडनु पर्छ
शिक्षाको क्षेत्रमा हेलिने होईन पौडनु पर्छ
अनिमात्र
अगाडि हुन्छ अम्बोटे
चुनावको बेला मात्र होईन
अरुबेला पनि
नेताको आँखामा रहनेछ अम्बोटे