खेतमै उखु सुकेपछि किसान बिचल्लीमा

खेतमै उखु सुकेपछि किसान बिचल्लीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  फागुन २९, २०७५

नवलपुर । लगाएको उखु बाली खेतमै सुक्दै गएपछि यहाँका   किसान बिचल्लीमा परेका छन् ।

समयभन्दा करिब दुई महिना ढिलो सञ्चालनमा आएका चिनी उद्योगले किसानको सहजै रूपमा सबै उखु खरिद नगरेपछि किसान बिचल्लीमा परेका हुन् । 

अहिले जिल्लामा इन्दिरा, लुम्बिनी र बाग्मती गरी तीन ठूला उद्योग सञ्चालनमा छन् भने मोहिनी चिनी उद्योग स्थापना भएको वर्षबाहेक पूर्ण रूपमा बन्द रहँदै आएको छ । 

सञ्चालनमा रहेका चिनी उद्योग पनि बीच–बीचमा विभिन्न प्राविधिक कारणले अवरुद्ध हुनु र लुम्बिनी चिनी उद्योगले सूचना टाँस गरेर केही दिनमात्रै उद्योग सञ्चालनमा आउने जनाएपछि यस वर्ष उत्पादन भएका सबै उखु पेलिने सम्भावना निकै कम छ । 

सबै चिनी उद्योग समयभरि सञ्चालनमा आएका किसानले उत्पादन गरेका सबै उखु पेलिने वाग्मती चिनी उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्ले बताउनुहुन्छ । सञ्चालनमा आएका चिनी उद्योगले पनि उखु किसानसँग पर्याप्त मात्रामा उखु खरिद  नगरेपछि किसान चिन्तित बनेको उखु किसानका अगुवा प्रतापपुर–६ गुठीप्रसौनीका धीरज त्रिपाठीको भनाइ छ । 

त्रिपाठीका अनुसार यसपटक चिनी उद्योगले  आवश्यकताअनुसार मात्र उखु खरिद गर्ने गरेका छन् । किसानले उत्पादन गरेको सबै उखु यस वर्ष खपत नहुने निश्चित देखिन्छ । इन्दीरा सुगर मिलबाट अघिल्लो वर्षको करिब चार करोड उखु खरिद गरेबापतको बाँकी रकम हालसम्म पनि किसानले पाएका छैनन् । अझ चिनी उद्योगले उखु किसानले उत्पादन गरेको सबै उखु खरिद नगर्ने अवस्था देखिएपछि किसान मर्कामा परेका हुन् । 

जिल्लामा यसवर्ष करिब १८ उखु लाख क्विन्टल उखु उत्पादन भएको अनुमान छ । चिनी उद्योगले यस यामभर उद्योग सञ्चालन गरे पनि करिब १२ लाख क्विन्टल मात्र उखु पेलिने अवस्था देखिन्छ । 

किसानको सबै उखु पेलानी हुन नसक्ने अवस्था आएपछि किसान निकै समस्यामा परेका छन् । अघिल्लो वर्षको रकम नपाउने र यस वर्ष सबै उखु उद्योगले खरिद नगर्ने भएपछि किसान दोहोरो मारमा परेको उखु किसानका अगुवा प्रतापपुर–६ गुठीप्रसौनीका दिनेश त्रिपाठी बताउनुहुन्छ । 

यसवर्ष समयमै उखु पेलानी नहुनु र ढिलै भए पनि सबै उखु पेलानी नहुने भएपछि लगाएको उखु खेतमै सुक्दै जाँदा किसानमा निराशा बढेको छ । 

केही मात्रमा भारतीय उखुसमेत नेपाल भित्रिएकाले किसान झन् समस्यामा परेको उखु कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादव बताउनुहुन्छ । राज्यले उखु बालीलाई राष्ट्रिय बालीको रूपमा घोषणा गरे पनि उखु किसानको समस्या समाधान हुन सकेको छैन । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६.५६ पैसा निर्धारण गरिसकेको छ । 

जिल्लाको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ । जिल्लामा वार्षिक १८–२० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको खबर राससमा छ ।