होम स्कुलिङ लकडाउनको शैक्षिक विकल्प : शिक्षण योजना र कार्यान्वयनका चुनौती

होम स्कुलिङ लकडाउनको  शैक्षिक विकल्प : शिक्षण योजना र कार्यान्वयनका चुनौती

राजकुमार महर्जन  |  शिक्षा  |  असार ०८, २०७७

लकडाउन भएको ९१ दिन लाग्यो । गएको ९० दिनमा कूल सङ्क्रमितको सङ्ख्या ९०२६, निको भएर घर फर्किनेको सङ्ख्या १७७२ र मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो अवस्थामा छ । स्कुल खुल्ने छाँटकाँट छैन । कोरोनाको चिन्ता त छँदैछ । छोराछोरीहरूको पढाई लेखाइको चिन्ताले सताउन थालेको छ । हुन त स्कुलले अनलाइन, भर्चुअल कक्षाहरू प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको छ । प्याव्सनले पनि टेलिभिजन मार्फत दैनिक कक्षाहरू संचलन गरिरहेको छ । यी बाहेक अनगिन्ती रुपमा रेडियो, टेलिभिजन, युट्युब र एपहरु मार्फत शिक्षण क्रियाकलापहरु संचालित छन् । अभिभावकको मन त हो, अरु पनि कुनै उपाय पो छ कि ?

माथिका कुराहरू प्रायः धेरैजसो अभिभावकहरूको मनमा खेलिरहेको हुन्छ । मैले दुई हप्ता अघि प्रकाशित लेख मार्फत अभिभावकको सक्रियतामा लकडाउनका ६ शैक्षिक विकल्पहरूको बारेमा चर्चा गरेको थिएँ । ती मध्ये एक होम स्कुलिङ भन्नेको बारेमा चर्चा गर्ने जमर्को गर्दै छु ।

गृह शिक्षा खासमा नौलो विषय होइन । परापूर्व कालदेखि नै वेद, पुराण, उपनिषद्, वैदिक पूजा–पाठ सम्बन्धी विधिहरू, भाषा, साहित्य, कला संस्कृति सम्बन्धी ज्ञान तथा जीविकोपार्जनका लागि नभई नहुने सीपहरू समेत घरमै सिकाइन्थ्यो । विशेष गरी सन् १८३५ ताका इन्डियाका अङ्ग्रेज प्रशासक लर्ड मेकाले इण्डियनहरुको सम्पूर्ण कला, संस्कृति र भाइचाराको भावना नै नष्ट गराउने उद्देश्यले पश्चिमा शिक्षा प्रणाली लागू गरे पश्चात् सम्पूर्ण दक्षिण एसिया क्षेत्रमै त्यसको नकारात्मक प्रभाव पर्न थालेको हो भन्दा फरक नपर्ला । नेपालमा विसं १९१० असोज २७ गते जङ्गबहादुर राणाले पहिलो औपचारिक स्कुल दरबार हाइ स्कुलको स्थापना पश्चात् नेपालमा पनि पश्चिमा प्रभावको औपचारिक शिक्षाले जग हालेको हो ।

विश्व जगतमा प्रथम विश्व युद्ध (सन् १९१४–१९१९), १९१८ नोभेम्बर महिनामा सुरु भएको स्पेनिस स्वाइन फ्लु, दोस्रो विश्व युद्ध (सन् १९३९– १९४५) आदि समयमा लामो अवधि सम्म विद्यालयहरू सुचारु हुन सकेन । त्यति बेला बालबालिकाहरूको पठन पाठनमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न उनीहरुलई घरमै राखी पठनपाठन गराउने प्रचलन थियो । दोस्रो विश्व युद्ध पश्चात् कसले छिटो आर्थिक विकास गर्ने भन्ने होडबाजीमा युरोप, अमेरिका लगायत केही मुलुकहरूले औद्योगिकरणमा जोड दिए । औपचारिक शिक्षाको मूल धार पनि कल कारखाना र तिनलाई आवश्यक कामदार उत्पादनसँग बढी जोडिन पुग्यो ।

कोभिड १९ जस्तो महामारीको अवस्थामा विद्यालयहरूले सञ्चालन गरिरहेको अनलाइन, भर्चुअल वा दूर शिक्षाका कुनै पनि माध्यमलाई विश्वास नगर्ने अभिभावकका निम्ति होम स्कुलिङ एक विकल्प हुन सक्छ । तर होम स्कुलिङको नाममा उपयुक्त वातावरण सहित छोराछोरीहरूको उमेर, सिकाइको शैली र सिकाइको मापनलाई ध्यान दिएर निरन्तर शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गर्न सकिएन भने उल्टो परिणाम उत्पन्न गर्दछ । होम स्कूलिङका लागि पूर्वाधार, श्रोत, साधन र समय व्यवस्थापन गर्न नसक्ने अभिभावकहरूले आफ्नो नानी पढ्ने स्कुलसँग समन्वय गरी अघि बढ्नु मै बुद्धिमानी हुन्छ । 

विशेषतः दोस्रो विश्वयुद्ध पछिको औपचाकि शिक्षाको पाठ्यक्रम कारखानाका मजदुर र सर्लक्क उत्पादन गर्ने उद्देश्यले केन्द्रित थिए । उद्योगहरूलाई आफै दिमाग नचलाउने, केबल आज्ञा पालक कामदार चाहिन्थ्यो । त्यसैले शिक्षण सिकाइमा बिद्यार्थीहरुको मौलिकता र रचनात्मक क्षमताको कुनै स्थान थिएन । सन् १९७० को दशकमा भने यसले नयाँ मोड लियो । कारखानाका लागि कामदार र तल्लो तहका कर्मचारी मात्र उत्पादन गर्ने गर्ने खालको शिक्षाबाट असटुष्ट अभिभावकहरूले छोराछोरीहहरुलाई घरमै राखेर फरक धारमा अध्ययन अध्यापन गराउने अभियानले व्यापकता लियो । अमेरिकी शिक्षाविद् जोन काल्डबेल हल्टले आफ्नो पुस्तक 'अन्डर अचिभिङ स्कूल्स' मार्फत यो अभियानलाई व्यापक बनाए । उनलाई आधुनिक होम स्कुलिङ पद्धतिको प्रणेयता मानिन्छ ।

अमेरिकामा होम स्कुलिङ नामले परिचित यो विधिलाई बेलायतमा होम एडुकेशन भन्ने गरिन्छ, जसको अर्थ केटाकेटीहरूलाई घरमै राखी अध्यापन गराउने हो । यो विधि स–साना कक्षाका बालबालिकाहरूलाई बढी प्रभावकारी हुनसक्छ । यस माध्यममा अभिभावक आफै वा निजी शिक्षकको सहायता लिने गरिन्छ । अभिभावक आफैमा विषय र व्यवाहरीक ज्ञानको निपुणता छ भने लकडाउनको समयमा यो विधि निकै सुरक्षित, सुलभ र भरपर्दो हुन्छ । निजी शिक्षकको सहायता लिनुपरेको अवस्थामा हरेक विषयमा दक्षता हासिल गरेको शिक्षक पाउन मुस्किलै पर्छ । यदि पाइहाले पनि अत्यन्त महँगो पर्न जान्छ । 

हेर्दा सुन्दा होम स्कुलिङ कार्यक्रम सजिलो जस्तो लाग्छ, तर त्यसको लागि धेरै तयारी गर्नुपर्ने हुन्छ । त्यसका केही बुँदाहरूको चर्चा गर्ने कोसिस गर्दैछु ।

छोराछोरीको उमेर र कक्षा अनुसारको शिक्षण योजना र कार्यान्वयन

घरमा छोरा वा छोरी एक जना मात्र छ भने त्यति साह्रो गाह्रो नहोला । यदि फरक उमेर र फरक कक्षाका बालबालिकाहरु छन् भने तयारी पनि भिन्न भिन्नै हुनुपर्छ । आफ्नो सन्तानलाई होम स्कुलिङमा राख्न चाहने अभिभावकले उनीहरूको उमेर, र कक्षा अनुरूपको शिक्षण सिकाई योजना बनाई लागू गर्नु पर्दछ । जुनसुकै कक्षाका भए ता पनि केही आधारभूत कुराहरू भने समान हुन्छन् । योजना बनाउँदा मुख्यतः तपसिलका बुँदाहरूमा विशेष ध्यान पुर्‍याउनु पर्दछ ।

क) शारीरिक बिकास

शिक्षण सिकाइका हरेक क्रियाकलापले बालबालिकाहरूको शारीरिक विकासको ग्यारेन्टी गर्ने खालको हुनुपर्छ । झन् माथि लकडाउनको अवस्थामा बालबालिकाहरु घरभन्दा बाहिर हिँडडुल गर्न, उफ्रिन–कुद्न पाएका हुन्नन् । यस्तो अवस्थामा उनीहरूको शारीरिक विकासमा समेत धक्का पुगेको हुन्छ । घरमै पढाउने सिकाउने हुँदा छोरछोरीहरुले खेल्दै सिक्ने र सिक्दै खेल्ने खालका क्रियाकलापहरु योजनामा समावेश गर्नुपर्दछ ।

ख) मानसिक बिकास

मानसिक विकास अन्तर्गत विषयगत ज्ञान मात्र पर्दैन । उमेर अनुसार ज्ञानसँगै विवेकको प्रयोग, चेतना शक्ति, कल्पना शक्ति, मौलिकता तथा सिर्जनात्मक क्षमता आदिलाई बढवा दिने क्रियाकलापहरु समावेश गरिएको हुनुपर्छ । जसले गर्दा हरेक कुराको समालोचनात्मक ढङ्गले विश्लेषण गर्न सक्ने बन्छन् ।

ग) सामाजिक व्यवहार र बिकास 

यति बेला केटाकेटीहरू स्कुल, साथी र शिक्षकहरूबाट टाढा छन् । साथीहरूसँग हाँस खेल गर्ने, रिसाउने, कराउने गर्दा पनि उनीहरूको सामाजिकीकरण भइरहेको हुन्थ्यो । लकडाउनले उनीहरूको यो अधिकारलाई वञ्चित बनाएको छ । बालबालिकाको सर्वाङ्गीण विकासको अर्को पाटो भनेको सामाजिक विकास हो । आफू, घर परिवारको स–साना जिम्मेवारी लिन सक्ने, समाज र देशप्रति उत्तरदायी बनाउन विविध क्रियाकलापहरूमा समेत सहभागी बनाउने खालको योजना बन्न जरुरी हुन्छ । कोभिड-१९ को महामारीको अवस्थामा एक नागरिकको हैसियतले निर्वाह गर्नुपर्ने दायित्व व्यवहारिक रूपमै निर्वाह गर्न सिकाइयो भने पनि उनको लागि ठुलो शिक्षा हुन्छ । यसको अलावा उनीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय तहसम्मका कुराहरू बुझ्न र सिक्न जरुरी हुन्छ । शिक्षण योजनामा यी कुराहरूलाई समेत ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

घ) संवेगात्मक बिकास 

लकडाउनले गर्दा बालबालिका देखि बृद्धबृद्धा सम्मले भोगिरहनु परेको अर्को ठुलो चुनौति भनेको मानसिक वा संवेगात्मक समस्या हो  । यो अवधिमा १३०० भन्दा बढिले आत्महत्या गर्नुले पनि यसको भयावहतालाई पुष्टि गर्छ । एउटा भनाइ छ, सफलता दुई कुरामा निर्भर हुन्छ । पहिलो, तपाई सर्वसम्पन्न हुँदा कस्तो व्यवहार देखाउनु हुन्छ ? र अर्को तपाई रित्तो हुँदा आफूलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? यी दुबै कुरा मानसिक वा संवेगात्मक अवस्था सँगै सम्वन्धित छ । त्यसैले बालबालिकाहरूको लकडाउनको सिकाई पनि सुखमा नमात्तिने र दुःखमा नआँत्तिने बनाउनलाई हुनुपर्छ । संवेग नियन्त्रण गर्न आध्यात्मिक ज्ञान र अभ्यास अत्यन्त सहयोगी बन्न सक्छ ।  

ङ) जीवनोपयोगी सीप र कला

मानिस ज्ञान, स्वास्थ्य स्थिति, सामाजिक व्यवहार आदि हर तरहले पूर्ण छ तर हातमा सीप छैन भने गरी खान सक्दैन । होम स्कूलिङका  लागि शैक्षणिक योजना बनाउँदा बिर्सनु नहुने कुरा जीवन जीउने कला वा सीप हो । यसको लागि घर घरायसी स–साना सीपहरुबाट शुरुवात गर्न सकिन्छ । जसको कारण बालबालिकाहरु कामलाई ठुलो वा सानो हो भन्ने भावनाबाट मुक्त हुन सहयोग मिल्छ । 

च) बालकको सिकाई शैली वा क्षमता

भूल्न नहुने कुरा, बालबालिकाहरूको सिकाई भिन्नता । हरेक बालकले एकै प्रकारले सिक्न सक्दैन । उसको भिन्न व्यक्तित्वको कारण सोच्ने शैली, कार्य शैली र सिकाइ शैलीमा फरक हुन्छ । जसलाई हार्वर्ड र्गानरले सन् १९८२ मा मल्टिपल इन्टेलिजेन्सको नाम दिएर बालबालिकाका विभिन्न व्यक्तित्व र सिकाई क्षमताका बारेमा संसार सामु प्रस्तुत गरिसकेका छन् । अभिभावकले आफ्नो सन्तानको व्यक्तित्व र सिकाई क्षमतालाई बुझेर सोही अनुरूपको माध्यम अपनाउनु पर्ने हुन्छ ।

छ) तोकिएको पाठ्यक्रम

हरेक राष्ट्रमा शिक्षाका निश्चित उद्देश्य सहित पाठ्यक्रम निर्माण गरिएको हुन्छ । त्यसको साथै स्थानीय परिवेश र आवश्यकतालाई हेरेर स्थानीय सरकारले पाठ्यक्रम समेत लागू गरेको हुन्छ । होम स्कूलिङका लागि पाठ योजना बनाउँदा पाठ्यक्रमलाई आधार मानेर माथि उल्लेखित हर प्रकारको सीप, क्षमता र व्यक्तित्व निर्माण हुने गरी क्रियाकलापहरु तय गरिनुपर्छ ।

ज) अध्ययन अध्यापनको निश्चित तालिका

योजना निर्माण पछिको अर्को तह भनेको कार्यान्वयन हो । यो अलि चुनौतीपूर्ण पनि हुन सक्छ किनकि यसमा बालबालिकाहरु  भन्दा बढी अभिभावक स्वयं जिम्मेवार र अनुशासित हुन जरुरी छ । मन लागे दिनभरि सिकाउने पढाउने, मन नलागे आज छुट्टी भने जस्तो गर्ने सम्भावना बढी हुन्छ । यदि यस्तो भयो भने केटाकेटीहरूले अभिभावकलाई विश्वास गर्न छोड्छन् । हरेक क्रियाकलापको निश्चित समय तोकिएको छैन र सोही अनुरूप क्रियाकलाप गराइएन भने सुरुका दुई चार दिन त के के न गरौँला जस्तो गरी अध्ययन, अध्यापन र सिकाई क्रियाकलापमा सहभागी होलान् तर पछि बिस्तारै छोडिँदै जान्छन् ।

झ) अध्ययनको लागि सामाग्री सहितको स्थान व्यवस्थापन

हामी नेपालीहरूमा प्रायजसो छुट्टै कार्यकक्षको व्यवस्थापन गर्ने चलन हुन्न । जसको कारण जहाँ मन लाग्यो त्यहीँ बसेर लेखपढ गर्ने वा काम गर्ने चलन हुन्छ । अझ धेरैजसो त बैठक कोठालाई कार्यस्थल बनाउने चलन हुन्छ । जहाँ कि थुप्रै प्रकारका मान्छे भेला हुन्छन् । एकातिर टिभी बजिरहने, अर्कोतिर कोठामा भेला भएका मानिसहरू गफ गरिरहने  अदिले गर्दा निकै नै वाधा उत्पन्न हुन जान्छ । छोराछोरीहरूलाई होम स्कुलिङको व्यवस्थापन गर्नुहुने अभिभावकले यो कुरालाई ध्यान पुर्‍याउन सक्नु भएन भने छोराछोरीको  सिकाइलाई प्रभावकारी बनाउन सक्नुहुन्न । यसर्थ केटाकेटीहरूलाई शिक्षण सिकाई क्रियाकलापका लागि हरेका सामाग्रीहरूले भरिपूर्ण छुट्टै अध्ययन कक्षकोे व्यवस्था गर्नु अनिवार्य हुन्छ ।

ञ) मूल्याङ्कन व्यवस्थापन
हरेक सिकाई क्रियाकलाप पछि त्यसको उपव्धि मापन गर्न जरुरी हुन्छ । उपलब्धि मापन वा मूल्याङ्कन दुई प्रकारले गर्न सकिन्छ, पहिलो निर्माणत्मक र अर्को निर्णयात्मक । निर्माण मूल्याङ्कन विशेष गरी अनौपचारिक हुन्छ भने निर्णयात्मक मूल्याङ्कन औपचारिक खालको हुन्छ । पहिलो प्रकारको मूल्याङ्कन हरेक क्रियाकलाप, दिन, हप्ता वा महिनामा निरन्तर रुपमा गरी तुरुन्त त्यसको पृष्ठपोषण दिइन्छ । दोस्रो प्रकारको मूल्याङ्कनले बालबालिकाहरूको वर्ग, तह र क्षमता मापन गर्ने गर्दछ । यसका लागि निरन्तर मूल्याङ्कन पद्दती र कुनै निश्चित समयावधिमा गरिने परीक्षा वा मूल्याङ्कन लाई आधार मानिएको हुन्छ । जसको अधिकार विद्यालयमा निहित हुने भएकोले विद्यालयसँग अनिवार्य रुपमा समन्वय गर्नुपर्ने हुन्छ ।  

अन्तमा,

कोभिड १९ जस्तो महामारीको अवस्थामा विद्यालयहरूले सञ्चालन गरिरहेको अनलाइन, भर्चुअल वा दूर शिक्षाका कुनै पनि माध्यमलाई विश्वास नगर्ने अभिभावकका निम्ति होम स्कुलिङ एक विकल्प हुन सक्छ । तर होम स्कुलिङको नाममा उपयुक्त वातावरण सहित छोराछोरीहरूको उमेर, सिकाइको शैली र सिकाइको मापनलाई ध्यान दिएर निरन्तर शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गर्न सकिएन भने उल्टो परिणाम उत्पन्न गर्दछ । होम स्कूलिङका लागि पूर्वाधार, श्रोत, साधन र समय व्यवस्थापन गर्न नसक्ने अभिभावकहरूले आफ्नो नानी पढ्ने स्कुलसँग समन्वय गरी अघि बढ्नु मै बुद्धिमानी हुन्छ ।