दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञामा राेक लगायाे

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञामा राेक लगायाे

लोकसंवाद संवाददाता  |  विदेश  |  असार ०९, २०७७

दक्षिण कोरिया ।  दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ ।

दक्षिण कोरियाको समाचार समिति योनहापले २०७७ असार ८ गते सोमबार सो समाचार दिएको हाे ।

योनहाप समाचार समितिले ०७७ असार ९ गते मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको समाचारमा जनाएको छ । दक्षिण कोरियाले तर पाकिस्तान र बंगलादेशका कूटनीतिक क्षेत्रका कर्मचारीहरुका साथै अत्यावश्यक व्यापारिक प्रयोजनका लागि प्रवेशाज्ञा आवश्यक परेकोमा भने दिने पनि जनाएको छ ।

दक्षिण कोरियामा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले ती संक्रमितहरु पछिल्ला केही दिनमा पाकिस्तान र अफगानिस्तानबाट गएका नागरिकमा देखिएको बताएका छन् ।

सोही कारणले ती देशबाट हुने आवागमनलाई सरकारले रोक्ने जनाएको छ । साथै सरकारले ती देशबाट दक्षिण कोरियामा भइरहेका उडानहरुमध्ये नियमित बाहेकका अरु उडानलाई पनि हालका लागि रोक्ने जनाएको हो । शनिबारदेखि यहाँ ठूलो संख्यामा नयाँ संक्रमित भेटिएका बताइएको छ । निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले गत शनिबारमात्र ६७ जना संक्रमित भेटिएको बताएका थिए ।

गत मे २८ पछि यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ । प्राप्त समाचारमा यहाँ गत शनिबारको तथ्यांकमा १२ हजार ३७३ जना संक्रमित छन् । साथै यहाँका २८० जना नागरिकको यो भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।