बूढीगण्डकी डुबान क्षेत्रमा तथ्यांक संकलन सुरु

बूढीगण्डकी डुबान क्षेत्रमा तथ्यांक संकलन सुरु
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  फागुन ३०, २०७५

गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्यांक संकलन सुरु भएको छ ।  

आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुबान क्षेत्रमा तथ्यांक संकलन सुरु गरेको हो । 

तथ्यांक संकलनका लागि दुवै जिल्लाका कषि ज्ञान केन्द्र, भवन डिभिजन कार्यालय र वन कार्यालयका प्राविधिक परिचालन गरिएको आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइ सिउरेनीटार कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । ‘बुधबारदेखि गोरखातर्फ गण्डकी गाउँपालिकाको ध्याल्चोक बसेरी र धादिङतर्फ सलाङबाट तथ्यांक संकलन सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘दुई महिनामा सक्ने गरी प्राविधिक परिचालन गरेका छौँ ।’ 

डुबान क्षेत्रमा पुगेर प्राविधिकले घरगोठ, फलफूल, रुख र अन्य संरचनाको लगत संकलन गर्ने उहाँले बताउनुभयो । लगत संकलनमा जाने प्राविधिकलाई आयोजनाले दुई पटकसम्म तालिमसमेत प्रदान गरेको एकाइ प्रमुख कार्कीले जानकारी दिनुभयो । ‘मोबाइल एप्लिकेसनमार्फत् डुबान क्षेत्रमा प्राविधिकले तथ्यांक संकलन गर्ने व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि मोबाइल एप्स कसरी चलाउने भनेर प्राविधिकलाई विशेष तालिम दिएर ‘फिल्ड’मा खटाएका छौँ ।’ 

आयोजनाले भवन डिभिजन कार्यालय, वन कार्यालय र कृषि कार्यालयबाट चार÷चार प्राविधिकलाई तालिम दिएको एकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । भवनबाट खटिएका प्राविधिकले घरगोठको संरचनाको   तथा वन कार्यालयबाट खटिएका प्राविधिकले रुख तथा बोटबिरुवाको तथ्यांक संकलन गर्ने उहाँले बताउनुभयो । 

त्यस्तै, कृषिज्ञान केन्द्रबाट खटिएका प्राविधिकहरुले डुबान क्षेत्रमा पर्ने फलफूलको तथ्यांक संकलन गरेर ल्याउने एकाइ प्रमुख कार्कीको भनाइ छ । छिटो र विश्वसनीय ढंगले तथ्यांक संकलनका लागि सजिलो होस् भनेर आयोजनाले विशेष प्रविधियुक्त मोबाइल एप्लिकेसनको निर्माण गरेको उहाँले बताउनुभयोे । मोबाइल एप्लिकेसनबाट तथ्यांक संकलन गर्दा सही गणना निकाल्न सहज हुने एकाइ प्रमुख कार्कीले बताउनुभयो । 

‘फिल्डमा खटिने प्राविधिकले डुबान क्षेत्रका प्रभावितको घरघरमै पुगेर तथ्यांक संकलन गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘प्राविधिकले प्रत्येक घरगोठ, फलफूल, निजी जग्गामा पर्ने बोटबिरुवाको तस्बिरसहित तथ्यांक संकलन गरी कार्यालयमा ल्याएलगत्तै मुआब्जा निर्धारण गरी रकम वितरण सुरु हुनेछ ।’ आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा वितरणको काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो । 

चालू आर्थिक वर्षको चैतसम्म जग्गाको मुआब्जा वितरण सकेर चालू आर्थिक वर्षभित्र घरगोठ फलफूलको पनि मुआब्जा वितरण सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको एकाइका प्रमुख कार्कीको भनाइ छ । आयोजनाबाट गोरखातर्फ गण्डकी गाउँपालिका, सहिदलखन गाउँपालिका, आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी कुल ३० हजार रोपनी क्षेत्रफल जमिन डुबानमा पर्ने आयोजनाले जनाएको खबर राससमा छ ।