लोकसंवाद संवाददाता | कारोबार | असार १२, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २२औंँ बैठक २०७७ असार ११ गते बिहीबार पनि नि चल्न सकेन ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो । सभामुख राजबहादुर शाहीले बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय तथा आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालयका शीर्षकमाथिको छलफल प्रारम्भ गरेलगत्तै काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसहित प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गर्नुभएको थियो ।
दलका नेता शाहीले नागरिकले स्पष्ट बुझ्ने गरी आव २०७७/ ०७८ का वार्षिक विकास कार्यक्रमको किताब सरकारले नल्याए एवं विनियोजन विधेयकको मर्म र भावनानुरुप अगाडि नबढेसम्म बैठक चल्न नदिइने चेतावनी दिनुभयो ।
सभामुख शाहीले बैठकमा हुने छलफलमा सरकारको धारणा सुनेर प्रश्न गर्न आग्रह गर्नुभएको थियो । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले अडान कायम राखेपछि सभामुख शाहीले यही असार १२ गते अपराह्न ३ः०० बजेसम्मका लागि बैठक स्थगन गरिएको सूचना गर्नुभएको थियो ।