लोकसंवाद संवाददाता | कारोबार | असार १२, २०७७
बर्दिया । धान खेतीका लागि आवश्यक रासायनिक मल पाउन नसक्दा बर्दियाका किसानले मल प्रयोग नगरिकनै धान रोप्नुपरेको छ । देशकै अन्न भण्डारका रुपमा चिनिने बर्दियामा खेतीका समयमा मलको अभावले किसानले मल प्रयोग नगरी रोपाइँ गर्दैछन् । वर्षा शुरु भएसंँगै धान रोपाइँका लागि किसानले डिएपी, पोटास र युरिया मलको खोजीमा भौँतारिएर पनि पाउन सकेका छैनन् ।
कोभिड –१९ का कारण भएको लामो बन्दाबन्दीले विभिन्न समस्या खेपेका किसान रासायनिक मलको अभावमा चिन्तित बनेका छन् । धानको बीउ राखेर मलको खोजीमा स्थानीय कृषि सहकारी, एग्रोभेटलगायत मल बिक्री गर्ने केन्द्रमा प्रत्येक दिन धाए पनि पाउन नसकेको कृषकको गुनासो छ । गुलरिया नगरपालिका –२ का कृषक कृष्णप्रसााद आचार्यले मल बिक्री गर्ने केन्द्रमा प्रत्येक दिन धाउँदा पनि खाली हात फर्कनुुपरेको गुनासो पोख्नुभयो । उहाँका अनुसार उत्पादन वृद्धिका लागि रासायनिक मल अत्यावश्यक छ । रासायनिक मल पाउन सहज छैन । पाइहाले पनि किसान महँगोमा किन्न बाध्य छन् ।
राजापुर नगरपालिकाका ताराप्रसाद चौधरीले धेरै ठाउँ दौडधुप गरेपछि पाएको थोरै मल पनि महँगो मूूल्यमा खरिद गर्नुपरेको गुुनासो गर्नुभयो । जिल्लाका आठ पालिकामध्ये राजापुर र गेरुवा गाउँपालिकामा यतिखेर ८० प्रतिशत धान रोपाइँ सकिएको छ । राजापुर क्षेत्रमा सिँचाइको सहजता रहेका कारण अन्यत्रको भन्दा चाँडै रोपाइँ हुने गर्छ । धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नपाउँदा यस क्षेत्रका अधिकांश किसानले मलविनै रोपाइँ गरिरहेका छन् ।
राजापुरका प्रमुख शिवप्रसाद थारुले राजापुर क्षेत्रमा किसानले जेठ महिनामै धान रोपाइँ शुरु गरेर अहिलेसम्म लगभग सकिने बेला भए पनि आवश्यकतानुसार रासायनिक मल नपाउँदा समस्या देखिएको बताउनुभयो । पर्याप्त मात्रामा किसानलाई मल उपलब्ध गराउन कृषि सामग्री संस्थान र अन्य निकायसँग छलफल चलाइरहेको नगर प्रमुख थारुले जानकारी दिनुभयो ।
यहाँ हरेक वर्ष करीब ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । यसका लागि वार्षिक करीब १२ हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्छ । हालसम्म युुरिया तीन हजार मेट्रिक टन, डिएपी दुई हजार आठ सय मेट्रिक टन र पोटास ३४ मेट्रिक टन आएको छ । थोरै मात्र मल आउँदा आवश्यकतानुसार किसानलाई पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड गुलरियाका प्रमुख मोहनसिंह केसीले बताउनुभयो । उहाँले बन्दाबन्दीका कारण मल ल्याउन समस्या भएको र केही मल आउँदै गरेको बताउँदै बन्दाबन्दीको यही स्थिति रहिरहे मल आइपुग्न अझै समय लाग्ने स्पष्ट गर्नुभयो ।