लोकसंवाद संवाददाता | समाज | असार १४, २०७७
रोल्पा । निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको एउटा सडक अलपत्र परेको छ । जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण आरम्भ गरिएको उक्त सडक निर्माणको काम वर्षौैँ बित्दा पनि सकिएको छैन ।
जलजला पर्यटन मार्ग निर्माण गर्ने जिम्मा रौताह हरिहर निर्माण सेवाले लिएको थियो । रोल्पा नगरपालिका वडा नं ४ का केही भाग र वडा नं १० का अधिकांश भाग छोएर जाने उक्त सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको रोल्पा– १० का वडाध्यक्ष मानबहादुर खत्रीले जानकारी दिनुभयो । पच्चीस किलोमिटर लामो उक्त सडकको हालसम्म पैँतालीस प्रतिशत काम मात्र भएको बताइएको छ ।
उक्त सडक योजना रौताहा हरिहर निर्माण सेवाले करीब रु २१ करोडमा सम्पन्न गर्ने गरी बोलकबोल गरेको थियो । सो निर्माण कम्पनीले दोस्रो निर्माण कम्पनीलाई हस्तान्तरण गरेको थियो । दोस्रो निर्माण कम्पनीले समेत तेस्रो निर्माण कम्पनीलाई उक्त सडक निर्माणको जिम्मा दिएको थियो ।
मूल निर्माण सेवासँग पेटीमा काम गर्ने गरी जिम्मा लिएका खटकबहादुर खत्रीले आफूहरुले काम गरेको रकम भुक्तानी नपाउँदा यस्तो समस्या सिर्जना भएको बताउनुभयो । समस्या समाधानका लागि स्थानीय प्रशासनलगायत विभिन्न निकायमा हारगुहार माग्दासमेत न्याय नपाएपछि निर्माणले गति लिन नसकेको खत्रीले स्वीकार्नुभयो । ‘निर्माण गरिएका संरचना पनि गुणस्तरीय छैनन्’, रोल्पा –१० का मोतीलाल डाँगीले भन्नुभयो । मेसिनरी वालको जग कमसल हुनाका साथै मापदण्ड विपरीत प्रयोग गरिएका निर्माण सामग्रीले ठाउँठाउँमा पहिरो गएको डाँगीको भनाइ छ । निर्माण कम्पनीको लापरवाही र सरकारी निकायको फितलो अनुगमनले यस्तो समस्या आएको डाँगीको आरोप छ ।
आर्थिक वर्ष २०७७/०७८ असोजमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड –१९ का कारण भएको बन्दाबन्दीले चालु आवमा काम हुन नसकेको बताइएको छ । चालु आवका लागि प्रस्तावित करीब रु चार करोड रकम फ्रीज हुने देखिएको स्थानीयवासीको भनाइ छ । कोभिड –१९ को विश्वव्यापी महामारीले निर्माणमा समेत प्रभाव पारेको हुँदा केही समय आयोजनाको म्याद थप गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको रोल्पा–१० का वडाध्यक्ष खत्रीले भन्नुभयो ।
पर्यटकीय दृष्टिकोणले अब्बा मानिएको उक्त सडक दाङ, धौलावाङ, लिवाङ हुँदै थवाङ जोड्ने जिल्लाको मध्यभागको सडकका रुपमा समेत विकास गर्न सकिने छ ।