ज्ञानमित्र | ज्ञानविज्ञान | चैत ०१, २०७५
गत शनिबारको लेखमा ‘लण्डन प्यासेन्ट’ र ‘बर्लिन प्यासेन्ट’लाई कसरी ‘बोन म्यारो ट्रान्सप्लान्ट’ गरेर यिनलाई एच.आई.भी. मुक्त बनाइयो भन्नेबारे चर्चा गरियो ।
‘बोन म्यारो ट्रान्सप्लान्टेसन’ले भाइरस प्रवेश गर्ने ‘सीसीआर ५’ जिनोमको संरचना परिवर्तन हुन गएर उपरोक्त दुवै ‘प्यासेन्ट’ ‘एच.आई.भी.’ मुक्त भएका हुन् ।
केही महिनापहिला तपाईंहरूले एउटा समाचार पढ्नुभएको होला, रातोपाटीमा यसबारे मैले एउटा लेख लेखेको थिएँ । डा. निरन्जन पराजुलीले यसबारे नागरिक दैनिकमा १७ मंसिरमा लेख्नुभएको थियो । चाइनामा ‘जिन एडिटिंग’ गरेर बच्चा जन्माइयो । बच्चाका पिता ‘एच.आई.भी.’ संक्रमित रहेका थिए । जन्मिने बच्चामा जन्मिँदै यो संक्रमण हुने सम्भावना थियो । वैज्ञानिकहरूले भ्रुण अवस्थामै ‘जिन एडिट’ गरेर बच्चालाई ‘एच.आई.भी.’मुक्त बनाइदिएका थिए ।
चिनियाँ डाक्टर जिआनकुइले दुई जना जुम्ल्याहा बालिका लुलु र नानाको भ्रुण अवस्थामै ‘क्रिस्पर क्यास ९’ प्रविधिबाट ‘जीन’ सम्पादित गर्ने सफलता हात पारे । जिआनुकुइले यी बालिकाद्वयको भ्रुण अवस्थामै ‘सीसीआर ५’ जीन संपादित गरेर विश्वमै तहल्का मच्चाएका थिए । वैज्ञानिकहरूको दाबी त कहाँसम्म छ भने यी दुबै बालिकालाई ‘सीसीआर ५’का माध्यमले जीवनभरी ‘एच.आई.भी.’ संक्रमण हुँदैन ।
डा. स्कन्द शुक्ला
गत शनिबारको यसै शृङ्खलाको पहिलो लेखमा डा. स्कन्द शुक्लाले लेख्नुभएको थियो – ‘एच.आई.भी.’ का दुइटा ‘क्याटागोरी’ हुन्छन्, एउटा त्यो जुन ‘सीडी ४’ र ‘सीसीआर ५’का माध्यमले कोशिकामा प्रवेश गर्छ र दोस्रो ‘क्याटागोरी’भित्र ‘सीडी ४’ तथा ‘सीएक्ससीआर ४’ का माध्यमले प्रवेश गर्छ । ‘लण्डन प्यासेन्ट’ र ‘बर्लिन प्यासेन्ट’ एवम् लुलु र नानामा फरक स्टेजमा भए पनि ‘एच.आई.भी.’को ढोका एउटै प्रविधिले बन्द भएको हो ।
‘एच.आई.भी.’का दुइटा ‘क्याटागोरी’ बुझ्न सबैभन्दा पहिला एउटा शब्द बुझ्नुपर्छ, त्यो शब्द हो, ‘सिनसीसियम’ । ‘सिनसीसियम’ भनेको एउटा यस्तो मानव कोशिका हो, जसमा एकभन्दा बढी ‘न्युक्लियस’ हुन्छन् । यसको निर्माण कैयन ‘सिंगल न्युक्लियस’को कोशिकाको ‘फ्युजन’बाट अर्थात् ती कोशिका एक आपसमा मिलेर हुने गर्छ ।
यसै आधारमा वैज्ञानिकले ‘एच.आई.भी.’ विषाणुका दुइ वटा ‘क्याटागोरी’बारे थाहा पाएका छन् । पहिलो ‘क्याटागोरी’मा विषाणुले शरीरमा प्रवेश गरेर ‘सिनसीसियम’ कोशिका निर्माण गर्दैन र दोस्रो त्यो जसले शरीरमा प्रवेश गरेर ‘सिनसीसियम’ कोशिका निर्माण गर्छ । यी विषाणुलाई क्रमशः ‘नान सिनसीसियम इन्डयुसिंग’ (एन.एस.आई.) र ‘सिनसीसियम इन्ड्युसिंग’ (एस.आई.) भन्ने गरिन्छ ।
जब कुनै व्यक्तिले कुनै ‘एच.आई.भी.’ संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्बन्ध बनाउँछ । यस सम्बन्धले उसको शरीरमा (रोगी नभएको व्यक्तिमा) प्रवेश गर्ने विषाणु प्रायः ‘एन.एस.आइ. क्याटोगोरी’का हुन्छन् । यी विषाणु व्यक्तिको ‘मैक्रोफेज’ (अ टाइप अफ ब्लड सेल (MACROPHAGES) कोशिकामा प्रवेश गर्छन् ।
कसरी प्रवेश गर्छन् ?
त्यही ‘सीडी ४’ र ‘सीसीआर ५’ नामक ढोकाको प्रयोग गर्दै । यसै कारणले ‘एन.एस.आई’ ‘एच.आई.भी.’ बिषाणुलाई ‘मैक्रोफेज ट्रपिक’ अथवा संक्षेपमा ‘एम–ट्रपिक’ विषाणु पनि भनिन्छ ।
तर, पछि गएर कैयन व्यक्तिमा यस ‘एन.एस.आई. एच.आई.भी.’ भाइरसले जुन कि ‘एम–ट्रपिक’ हो र जसले ‘मैक्रोफ्रेज’लाई आफ्नो निवास स्थान बनाएको हुन्छ, बिस्तारै यो उग्र, अराजक, आक्रामक हुँदै गएर आफ्नो प्रवृत्ति बदलिन थाल्छ । भनौं यो ‘एस.आइ. एच.आई.भी.’मा रूपान्तरित हुन थाल्छ ।
‘एस.आई.एच.आई.भी’मा रूपान्तरित हुने क्रममा यो भाइरस ‘टी लिम्फोसाइट’ कोशिकामा पसेर तिनलाई नष्ट गर्न थाल्छ र यसले ‘सिनसीसियम’ कोशिका बनाउन थाल्छ । यौन सम्बन्धको प्रारम्भमा प्रवेश गर्दा भाइरसले ‘सिनसीसियम’ बनाएको हुँदैन ।
यो ‘एस.आई.एच.आई.भी.’ भाइरस कोशिकामा पस्न अर्को ढोकाको प्रयोग गर्छ अर्थात् यो भाइरस ‘सीडी ४’ र ‘सीएक्ससीआर ४’का माध्यमले कोशिकामा प्रवेश गर्छ । स्मरण रहोस्, अब यो भाइरस ‘सीडी ४’ र ‘सीसीआर ५’ का माध्यमले प्रवेश गरिरहेको छैन ।
अब एक पटक पुनः ‘लण्डन प्यासेन्ट’लाई डा. रवीन्द्र गुप्ताले गरेको उपचारबारे सम्झाैं । डा. गुप्ताको टोलीले ‘एच.आई.भी.’ र क्यान्सरबाट ग्रस्त ‘लण्डन प्यासेन्ट’को शरीरमा ‘बोन म्यारो ट्रान्सप्लान्ट’ले यस्तो मानिसको ‘बोन म्यारो’ प्रत्यारोपित गरी दिए जुन व्यक्तिमा ‘सीसीआर ५’ जिनोम त्रुटिपूर्ण रहेको थियो । यसका फलस्वरूप नयाँ प्रत्यारोपित ‘बोनम्यारो’ले बनेका नयाँ कोशिकामा ‘सीसीआर ५’बाट भाइरसले प्रवेश गर्न सकेनन् । तर, ‘सीएक्ससीआर ४’ को ढोका त खुलै छ । यस ढोकाका लागि केही उपाय हुन सकेको छैन ।
डा. रवीन्द्र गुप्ता
यहाँ एउटा महत्वपूर्ण ज्ञातव्य कुरा के छ भने मानिस ‘सीसीआर ५’ त्रुटिपूर्ण भएमा त बाँच्न सक्छ । तर, ‘सीएक्ससीआर ४’ त्रुटिपूर्ण भएमा मानिस जीवनको कल्पना गर्नु सम्भव छैन ।
यहाँनिर एउटा अर्को तथ्य पनि बुझी राख्न जरुरी हुन्छ । ‘एस.आई.क्याटोगोरी’को ‘एच.आई.भी’ धेरै आक्रामक र औषधी उपचारले थोरै मात्र निस्तेज हुने एवं व्यक्तिलाई छिट्टै ‘एड्स’तिर लैजाने खाले हुन्छ र यो ‘सीसीआर ५’का माध्यमले नभई ‘सीएक्ससीआर ४’ का माध्यमले कोशिकामा प्रवेश गर्छ ।
यस कारण नै ‘एच.आई.भी.’ विरुद्धको संघर्षमा हामी खुलेर हर्ष मनाउने अवस्थामा पुगेका छैनौं । एकातिर ‘बोन म्यारो’ प्रत्यारोपणका आफ्नै जटिलता छन् र अर्कोतिर ‘एच.आइ.भी.’का लागि प्रवेश गर्ने अर्को ढोका ‘सीएक्ससीआर ४’ खुलै छ ।
(डा. स्कन्द शुक्ला पेशाले चिकित्सक हुनुका साथै स्वास्थ्य, विज्ञान, धर्म, दर्शन र साहित्यमा कलम चलाउनुहुन्छ ।)
याे पनि
कसरी सम्भव भयो एच.आई.भी.ग्रस्त रोगीको सफल उपचार, यस भाइरसको पस्ने ढोका नै बन्द गरियो