दोहोरीमा अपराजित तेजबहादुर, जसको भाग्य गाडी ठक्करले खोसियो

दोहोरीमा अपराजित तेजबहादुर, जसको भाग्य गाडी ठक्करले खोसियो

यमबहादुर दुरा  |  लोकरञ्जन  |  चैत ०१, २०७५

उनी लोकगीतसँग साइनो गाँस्दै हुर्किए । जतिबेला तोतेबोली बोल्दै थिए, त्यतिबेला उनको जन्मस्थानमा थुप्रै मौलिक लोकभाका गाइन्थ्यो । प्रकृतिको काखमा हुर्कँदै जाँदा स्थानीय लोकभाकाप्रति एकपछि अर्को गरी मोहित हुँदै गए । यससँगै उनको साङ्गीतिक चेत पनि मजबुत हुँदै थियो ।

अहिलेका दोहोरी गायक तथा लोकगीत अभियन्ता तेजबहादुर केसी लोकगीतको दुनियाँमा आउनका लागि पाइला उचाल्दै थिए । त्यतिबेला लोकबहादुर क्षेत्री (वि.सं. २०१८—२०५०), शावित्री शाहजस्ता मूर्धन्य कलाकारका सुमधुर र भावप्रधान गीत रेडियोमा बज्थे । नेपाली लोकजीवनको तस्बिर झल्कने ती गीतबाट प्रेरित हुन थाले । उनीभित्र गायक बन्ने चाहना मौलाउँदै गयो ।

उनमा निहित प्रतिभा र इच्छाशक्तिले त्यसलाई मलजल गर्यो । र, उनलाई लोकगीतको क्षेत्रमा निरन्तर अघि बढिरहने शक्ति दिइरह्यो । २०४३ आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोहोरीगीत प्रतियोगितामा उनी पहिलो पटक सामेल भए । यसपछिका दोहोरीगीत प्रतियोगिता र लोकगीतसँग सम्बन्धित जमघटहरूमा उनी निरन्तर देखा पर्न थाले । प्रतियोगितामा प्रतिस्पर्धीलाई ‘पछार्न’ थाले ।

यसपछि उनको साङ्गीतिक यात्रा अविश्रान्त अघि बढिरह्यो । त्यतिबेलाको कलाकारको रूपमा दरिन ‘रेडियो नेपाल’ले लिने स्वर परीक्षामा उत्तीर्ण हुनैपथ्र्यो । अनिमात्र रेडियोमा गीत गाउन पाइन्थ्यो । तत्कालीन परिवेशले एउटा यस्तो मापदण्ड तयार पारेको थियो, रेडियोमा गीत नगाएसम्म कोही पनि कलाकारको श्रेणीमा पर्दैनथ्यो ।

उनी स्वर परीक्षामा सहभागी भए । परीक्षामा उत्तीर्ण भए । लोकबहादुर क्षेत्रीसँग २०४४ सालतिर ‘रेडियो नेपाल’मा स्वराङ्कन गर्ने अवसर पाए । क्षेत्री उनको आदर्श व्यक्ति थिए । आफ्नो आदर्शका धरोहरसँग स्वराङ्कन गर्न पाउँदाको यो घडी उनका लागि अतिशय खुसीको क्षण थियो । उनले त्यतिबेला गाएका गीत काम र मामको खोजीमा मुगलान पस्नुपर्ने आमनेपालीको नियतिसँग जोडिएको थियो । गीतको बोल थियो– कल्लाई रहर होला र सान्दाइ गाउँघर छाडेर जानलाई । 

तेजबहादुर केसी गायनबाट विस्तारै अलग्गिएर प्रतियोगितामा निर्णायकको भूमिका देखापरेका छन् । धेरै ठाउँमा धेरै पटक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । अहिले उनको परिचय दोहोरीगीत प्रतियोगिताका निर्णायकका रूपमा पनि बनेको छ ।

उनले २०४५ सालमा ‘रेडियो नेपाल’मा अर्को गीत गाए । गीतको एउटा हरफ यस्तो थियो– घरबासी साहूलाई बुझाउँदै, झरेँ मधेस बालबच्चा रुवाउँदै ।

यो गीतमा उनको आफ्नै जीवनभोगाइ प्रतिबिम्बित भएको प्रतीत हुन्छ । तत्कालीन समयमा पहाडी गाउँबस्ती खाद्यान्न अभाव र विपन्नताले आक्रान्त थियो । यसबाट पहाडका सयौं परिवार मधेस झर्न बाध्य भए । उनको परिवारले पनि यही नियति भोग्यो ।

२०२८ सालमा उनको परिवार कुम्लो–कुटुरो बोकेर प्यूठानबाट नवलपरासी झर्‍यो । बुबा रुद्रबहादुर केसी र आमा सुमित्रा केसीको साथ लागेर मधेस झर्दा उनी ९ वर्षका थिए । प्रस्तुत गीतमा आन्तरिक बसाइँसराई र त्यसले निम्त्याएको आर्थिक तथा सामाजिक परिवेशको भुक्तभोगी अनुभव झल्कन्छ ।

लोकगीतका विभिन्न विधामा स्वर दिएका उनले भजन पनि गाएका छन् । ‘रेडियो नेपाल’बाट बज्ने ‘कति सुहायो कति सुहायो, नागको माला बाघको छाला कति सुहायो’ धेरै पराइएको भजन हो । धार्मिक तथा सांस्कृतिक परिवेश झल्कने यो भजनमा बमबहादुर कार्की, शिवा आले र बीमाकुमारी दुराको स्वर रहेको छ ।

तेजबहादुर केसीले त्यही समयमा ‘रेडियो नेपाल’मा अर्को गीत स्वराङ्कन गरे– सिम्रिकझैँ सिमलपुलेको, बिर्सेछेउ कि सम्झेइछेउ मायालु रनवनसँगै डुलेको...। जीवनको प्रेमिल क्यानभासमा मायालु रङ पोखिएजस्तो लाग्ने यो शृंगार भावधाराको यो गीतमा उनलाई तारा पुन, कमला राना र टकबहादुर आले दरिलो साथ दिएका छन् । बैंशालु मनहरूबाट निकै प्रशंसा बटुल्न यो गीत सफल रह्याे ।

उनी नेपाली लोकगीतको मूलधारमा छाउँदै गर्दा अडियो अल्बमले बजार पिटेको थियो । उनले पनि अडियो अल्बममा आफ्ना भावना बिसाएका छन् । ‘छेल पर्‍यो कदम छायाले’, ‘सिम्रिकझैँ सिमलपुलेको’, ‘बेचिएकी चेलीको कथा’, ‘औंठी हीराको’, ‘नवलपुरे दाइ’ ‘सुकुम्बासी’, ‘हारेको करिमा’ लगायत ११ वटा अल्बममा प्रतिभा देखाएका छन् । उनले स्वर दिएका अरू कलाकारका अल्बमको समेत हिसाब गर्ने हो भने ५० भन्दा बढी पुग्छ । ‘रेडियो नेपाल’मा दस वटा गीत रेकर्ड भएका छन् ।

लोकबहादुर क्षेत्री, अमरविरही गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरि न्यौपाने, हरिदेवी कोइराला, बमबहादुर कार्की, शिवा आले, बीमाकुमारी दुरा, शिवु गिरी, पुरुषोत्तम न्यौपानेलगायतका थुप्रैसँग मिलेर विभिन्न अल्बममा स्वराङ्कन गरेका छन् ।

उनले स्थानीयदेखि राष्ट्रियस्तरका दोहोरीगीत प्रतियोगितामा भाग लिने क्रममा थुप्रै पटक पुरस्कृत भइसकेका छन् । २०५६ सालमा राजधानीमा आयोजित सार्क दोहोरीगीत प्रतियोगिता उनको टोली पहिलो भयो । टोलीमा शिवु गिरी र केशरबहादुर अधिकारी उनका सहयात्री थिए ।

तेजबहादुर केसी गायनबाट विस्तारै अलग्गिएर प्रतियोगितामा निर्णायकको भूमिका देखापरेका छन् । धेरै ठाउँमा धेरै पटक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । अहिले उनको परिचय दोहोरीगीत प्रतियोगिताका निर्णायकका रूपमा पनि बनेको छ ।

केसी कलाकारका शब्द संयोजन, भाव, सुर, लय, ताल, मध्यानुप्रास, अन्त्यानुप्रास, मौलिकता र प्रस्तुतीकरणको सूक्ष्मतम अवलोकन र परख गर्छन् । यही आधारमा तिनमा अन्तरनिहित प्रतिभाको मूल्याङ्कन गर्छन् ।

उनी केशरबहादुर अधिकारी, बद्री पराजुली, छवि पराजुली, रेवती पौडेल, माया गिरि, शिवु गिरि, सिर्जनाविरही थापा, रमेश बिजी, केशुमाया रामदान, बाबुराम पौडेल, श्रीराम अधिकारीजस्ता प्रतिभाका शब्द चयन र भावधाराबाट अतिशय प्रभावित छन् ।

लोकगीत अनुरागी र लोकगीत अभियन्ता भएका नाताले केसी असंख्य गायक–गायिकासँग घुलमिल भएका छन् । उनी धेरैको कला र गलाबाट प्रभावित छन् । तर, उनी पनि शावित्री शाह, लोकबहादुर क्षेत्री, नारायण रायमाझी, माया गुरुङ, हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, विष्णु माझी, विमल क्षेत्रीजस्ता कलाकारका स्वरमा एक किसिमको पृथकपन पाउँछन् ।

जीवनको गणित लम्बिँदै जाँदा उनको स्मृतिपटलमा अनेकौं तीतामीठा प्रसंग र घटना सञ्चित छन् ।

एकपटक उनी एउटा लोमहर्षक नियतिबाट घेरिए । विगतमा ‘रेडियो नेपाल’ले हरेक वर्ष अधिराज्यव्यापी लोकगीत प्रतियोगिता आयोजना गथ्र्यो । यही क्रममा २०५० सालको प्रतियोगितामा सहभागी हुने मन बनाए । मनमा उत्साह लिएर उनी राजधानी भित्रिए । प्रतियोगिताका लागि उनको गीत छनोट भयो ।

त्यही समयमा भाग्यले उनीसँग क्रुर ठट्टा गर्‍यो । प्रतियोगिताको पूर्वसन्ध्यामा उनी साथीहरूसँग रत्नपार्कको सडकपेटी हिँडिरहेका थिए । त्यही समयमा विपरित दिशाबाट आएको गाडीले उनलाई अचानक ठक्कर दियो । उनी तत्काल बेहोश भए । ब्युँझदा उनले आफूलाई वीर अस्पतालको बेडमा पाए । प्रतियोगितामा सहभागी अवसर गुम्यो । त्यही लय लिएर रेखा शाह प्रतियोगितामा सहभागी भइन्, प्रेमराजा महतको सहयोगमा । उनी प्रथम पनि भइन् । त्यसबेला उनको भाग्य रेखा शाहको तग्दिरमा सरेजस्तो पो भयो ।

वि.सं. २०५० पुस ६ गते जनस्तरका निकै लोकप्रिय गायक लोकबहादुर क्षेत्रीको मोटरसाइकल दुर्घटना परे । उनको दुःखदायी निधन भयो । यसलाई उनी आफ्नो जीवनको नितान्त दुःखदायी क्षण मान्छन् । अहिले उनी लोकबहादुर क्षेत्रीको व्यक्तित्व र कृतित्वलाई लोकस्मृतिमा चिरस्थायी बनाउने अभियानमा छन् ।

उनको संयोजकत्वमा २०५२, २०५३ र २०५४ सालमा निरन्तर तीन वर्ष लोकबहादुर क्षेत्री स्मृति दोहोरीगीत प्रतियोगिता आयोजना भयो । यसका लागि उनले निकै दौडधूप गर्नुपर्‍यो । उनकै सक्रियतामा नवलपरासीको बर्दघाटमा लोकबहादुर क्षेत्रीको शालिक तयार पारी अनावरणसमेत गरिसकिएको छ । शालिक तयार गर्ने काममा उनको भूमिका निर्णायक रह्यो ।

उनले समयको बदलिँदो प्रवाहसँगै लोककलाकारहरू संगठित रूपमा अघि बढ्नुपर्छ भन्ने सोचाइ राखे । यही सोचाइ मूर्त रूप दिँदै २०५७ असोज १६ गते नवलपरासीमा दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ स्थापना भयो । संस्था जन्माउनमा उनको उल्लेखनीय भूमिका रह्यो ।

उनी संस्थापक सचिव (वि.सं. २०५७—२०५९) रहेर संस्थाको शैशवकाल निकै सक्रिय रहे । त्यसपछि महासचिव (वि.सं. २०५९—२०६१) भएर संस्थालाई अघि बढाउने कार्यमा सरिक भए । अहिले पनि ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ का हरेक गतिविधिमा उनी उत्तिकै सक्रिय छन् ।

जतिबेला उनी लोकगीतको क्षेत्रमा आएका थिए, त्यतिबेला लोकगीतमा व्यवसायिकताको कुनै गुञ्जायस नै थिएन । तर, अहिले परिस्थिति बदलिएको छ । लोकगीतमा व्यवसायिकता आएको छ । कलाकारले गीत गाएरै जीवनयापन गर्न सक्ने अवस्था पैदा भएको छ । पूँजीवादले निम्त्याएको व्यापारीकरण नै सही, गाउँको दोहोरीगीत सहरका दोहोरी रेस्टुरेण्ट र महोत्सवमा भेटिन थालेको छ । यसलाई बुझाउन उनी राजनीतिक शब्दावली प्रयोग गर्छन्, ‘गाउँले सहर घेर्न थाल्यो ।’

लोकगीत हाम्रो परम्परा र संस्कृति हो, जुन हाम्रोे लोकजीवनको आधार पनि हो । तर, देशका शासक वर्गमात्र होइन, सचेत वर्गले पनि लोकगीतको महत्व र गरिमालाई सही किसिमले बुझ्न नसकेको उनको बुझाइ छ । हाम्रो सांस्कृतिक पहिचानका लागि लोकगीतको मर्म र भावनालाई सबैले सम्मान गर्नुपर्छ र लोकगीतको श्रीवृद्धिमा जुट्नुपर्छ भन्ने उनको सुझाव छ ।