लोकसंवाद संवाददाता | स्वास्थ्य | असार १७, २०७७
काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।
जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो । यसअघि पनि एडिबीले तीन करोड ६० लाख रुपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।