लोकसंवाद संवाददाता | कारोबार | असार १७, २०७७
चितवन । सौराहाका व्यवसायीले होटललाई क्वारेन्टिनका रुपमा सञ्चालनमा ल्याएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टिनमा राखिएको छ ।
काठमाडौँ, पोखरापछि तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको यस क्षेत्रमा कोरोना सङ्क्रमणअघि पर्यटकले भरिभराउ हुने गरेको थियो । तर कोरोनाका कारण सङ्कटको वर्तमान अवस्थामा सरकारलाई सहयोग गर्दै यहाँका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइएको हो ।
क्षेत्रीय होटल सङ्घले यसअघि सौराहाका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको थियो । सोही घोषणाको प्रतिबद्धता पूरा गर्न र सरकारलाई सहयोग गर्न क्वारेन्टिनका लागि होटल प्रयोगमा ल्याइएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँले आफ्नै होटलमा भारतको दिल्लीबाट आएका दुई जनालाई राखेर क्वारेन्टिनको सुरुआत गरेको बताउनुभयो । भट्टराईका अनुसार निजी गाडीमा उनीहरु दिल्लीबाट आएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा शुल्क तिरेर बस्न चाहनेहरुका लागि होटलको व्यवस्था मिलाइएको हो । सौराहाका २६ वटा होटललाई क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइनेछ । सङ्घले सरकारलाई यहाँका होटलहरुको विवरण पठाएको थियो ।
सरकारले तोकेको शुल्कअनुसार व्यवसायीहरुले शुल्क लिन पाउनेछन् । सङ्घका अध्यक्ष भट्टराईका अनुसार सौराहामा रहेका होटलहरुको स्तरअनुसार रु दुई हजारदेखि पाँच हजारसम्म दैनिक खर्च लाग्नेछ । सो रकम बराबरमा चियाकफी, नास्ता, बिहान–बेलुका खानाको व्यवस्था हुने उहाँले बताउनुभयो । दिनमा एक छाक मासुसहित खाना र एक छाक सादा खाना हुनेछ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटकहरु सौराहा आउने गर्दछन् । लकडाउनसँगै सौराहाका सबै होटल व्यवसाय ठप्प छन् ।