ईश्वर

कविता

ईश्वर

गणेश श्रमण  |  समाज  |  चैत ०२, २०७५

फूल दिए नि ठिक छ 
प्रसाद दिए नि ठिक छ
जल चढाए नि हुन्छ 
फल चढाए नि हुन्छ 
केही गुनासो गर्दैन 
जे गरे नि हुन्छ 
ईश्वर आफू बाठो भई
ढुङ्गा बनी बस्छ ।

ध्यान गरे नि हुने 
जप गरे नि हुने 
गए पनि हुन्छ 
नगए पनि हुन्छ
पुजे पनि हुन्छ 
नपुजे पनि हुन्छ 
ईश्वर आफू बाठो भई
ढुङ्गा बनी बस्छ ।।

जोगी पनि नाङ्गिने 
राजा पनि नाङ्गिने 
उसको रुपको अगाडि 
सबको मन उदाङ्गिने 
कोही एउटा संग त 
नाङ्गिनु नि पर्छ 
त्यही सत्य था पाउन
अनेक उपाय गर्छ 
ईश्वर आफू बाठो भई 
ढुङ्गा बनी बस्छ ।।।

गाली गरे नि हुने 
रिसाए नि हुने
ढोंगी बनी जति पनि 
प्रचार गरे नि हुने
मान अपमान जे दिन्छौ 
सबै सबै सहन्छ 
ईश्वर आफू बाठो भई
ढुङ्गा बनी बस्छ ।।।।

वास्तविकता के छ कुन्नि
अनुमानकै भर
कविहरुले जन्माईदिए 
कल्पनामा ईश्वर 
स्रस्टाले बनाए 
जडरुपी पात्र 
रहस्यमा नै रहोस् यो 
मानिसहरुमा मात्र 
पण्डितले झन् बढी 
यिनको बेइज्जत गर्छ
नास्तिकले झन् बढी 
यसकै बारेमा सोच्छ 
ईश्वर आफू बाठो भई
ढुङ्गा बनी बस्छ ।।।।।