रमेश भट्टराई ‘सहृदयी' | दृष्टिकोण | असार २१, २०७७
अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया
चक्षुनमीलितम तस्मै श्री गुरवे नम ।
(सद्गुरुको कृपामा ईश्वरको साक्षात्कार सम्भव हुन्छ तर गुरु कृपाको अभावमा केही पनि सम्भव हुँदैन ।)
गुरु पूर्णिमा वेदव्यास (कृष्णद्वैपायन) को जन्म जयन्ती हो । व्यासलाई भगवानकै स्वरूप वा अवतार तथा गुरुका पनि गुरु मानिन्छ । वास्तवमा गुरुलाई ब्रह्मा, विष्णु र मेहेश्वरको स्थानदेखि साक्षात् परम्ब्रह्मको साक्षात्कार गराउने व्यक्तित्वका रूपमा हेर्ने हाम्रो आदर्श र सभ्य संस्कृति छ । गुरुको सम्मान हृदयबाट हुन्छ । अझै गर्वको कुरा नेपालको तनहुँ जिल्लामा चार वेदका ज्ञाता, वेदका व्याख्याता महर्षि व्यासजस्ता महान् ज्ञाताको जन्म भएको हो । यसर्थ व्यासको जन्मदिन अर्थात् असार महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरूपूर्णिमाका रूपमा मनाउने प्रचलन बसालीदै आएकाे हाे । त्यसैले गुरु पूर्णिमालाई 'व्यासजयन्ती ' पनि भन्ने गरिन्छ ।
‘गिरति अज्ञानं इति गुरुः’ अर्थात् “अज्ञानलाई हटाएर ज्ञान प्रदान गराउने व्यक्ति” लाई गुरुको संज्ञा दिइन्छ । आफंमा पूर्ण भई अरूलाई पथप्रदर्शन गर्नसक्ने खुबी गुरुमा हुन्छ । पूर्वीय प्राचीन परम्परालाई हेर्दा वशिष्ट ऋषि, व्यास महर्षि, वाल्मिकी या त द्रोणाचार्य आखिर सबै गुरुका स्थानमा उच्च रहे । देवताका गुरु बृहस्पति तथा राक्षसका गुरु शुक्राचार्यको नाम उत्तिकै सम्मानित छ । भगवान् रामले गुरु वशिष्ठको आज्ञालाई शिरोधार्य गर्थे, भगवान् कृष्ण पनि सान्दिपनि गुरुबाट दीक्षित थिए । पाण्डवजस्ता असल र सत्यवादीहरूले शत्रु बनेका कौरवको पक्षमा रहेर लड्ने गुरु द्रोणाचार्यलाई गरेको सम्मान शिष्यले गुरुको उच्च सम्मान गर्नुपर्ने दृष्टान्त प्रष्ट झल्किन्छ । अझ एकलव्यले गुरु द्रोणाचार्यको मूर्तिका अघि बसेर अर्जुन जत्तिकै सक्षम शिष्य बनेको कथा र गुरु दक्षिणामा दाँया हातको बूढीऔँला नै माग्दा औँला काटेर दिएको कथा हृदयस्पर्शी छ ।
वास्तवमा नेपाल कैयौँ तपस्विका ज्ञानले सिञ्चित पृथ्वीतलको पुण्यभूमिको रूपमा चिनिने सुन्दर, सुरम्य शान्त देश अवश्य हो । नेपाल आफैँमा ज्ञानी र ज्ञानदाताको जन्मथलो रहेछ । तनहुँको दमौली आसपासमा माता सत्यवती र पिता परासर ऋषिका पुत्र व्यासको प्राज्ञिक खुबीमा जीवनको सार छ, जगत्को रहस्य छ । असल आदर्श ज्ञानको अथाह भण्डार छ । व्यास एक्लैले रचेको अभूतपूर्व ज्ञान सागरमा विश्व दर्शनले बुझेर बुझ्न गाह्रो, खोजेर जान्न गाह्रो तर जान्दा सर्वश्व भेट्छ । अतः वेद–वेदान्तका ज्ञान सारले भरिपूर्ण अठार पुराण, उपनिषद्हरू लेखी विश्वमै प्राचीन हिन्दू दर्शन र हिन्दू साहित्यलाई उजागर गर्ने खुबी भएका व्यासको गुरुत्वलाई चिन्नु सिङ्गो जीवनको बोध गर्नु हो । भागवत् गीताको सारभित्र लुकेको रहस्य खोतल्नु र अपनाउनु मानव जीवनको सार्थकता रहेछ । परमात्मामा साक्षात्कार गर्न सिकाउने ज्ञान त्यहाँ दूधमा लुकेको घिउ जसरी अदृश्य रहेको बोध हुन्छ । तब त मोक्षको ढोका खोल्न अर्थात् परमानन्दको अनुभूति गर्न गुरुज्ञानको सहारा आवश्यक हुन्छ ।
गुरुको ज्ञानलाई पैसाले होइन, विवेकले किन्नुपर्छ । गुरूपूजासँग 'कबिरदास' को जयन्तीको विषय पनि एकसाथ गाँसिएको पाइन्छ । यसै दिनमा कबिरको जन्म भएको भन्ने जनविश्वास रहेको छ । कबिर वाणीमा अनन्य आत्मज्ञानका सारतत्व लुकेका छन्, जसलाई महापुरुषले दोहोर्याएर सर्वसाधारणमा प्रवाह गरिरहन्छन् ।
कैयौँ छद्मभेषी गुरुहरूले सोझा र आस्थावान् मानवका आस्था र विश्वासमा प्रहार गरेका लज्जास्पद घटनाले पीडाबोध हुन्छ । समाजका लागि सम्मानित नाम गुरुलाई आज शिक्षक, प्राध्यापक वा अन्य नाममा लिने गरिन्छ । वास्तवमा गुरुमा शिक्षार्थीका लागि पूजनीय उदाहरण बन्ने खुबी हुनु आवश्यक छ । असल गुरुको पहिचान गर्ने शिष्यको पनि उत्तिकै खाँचो छ ।
महर्षि व्यासको शुभजन्मोत्सवको रूपमा सदियौँदेखि मनाइँदै आइएको गुरुसम्बन्ध र शब्दशक्तिसँग ज्ञानको बहाव छ । वेदव्यास जसलाई स्वयम् भगवान् विष्णुको अवतार तथा अष्टचिरञ्जीवीमध्ये एक चिरञ्जीवी भनेर चिनिन्छ । व्यासलाई कृष्ण द्वैपायन पनि भनेर चिनिन्छ । द्वैपायन नाम गरेको पर्वतमा तपस्या गर्दै जाँदा कालो भएका हुनाले उनलाई कृष्ण (कालो) द्वैपायन भनिएको हो भन्ने गरिन्छ । व्यासलाई सबैले गुरु मान्ने आधार शिष्यबाट बनेको हो भनेर बुझ्न सकिन्छ । शिक्षा र दीक्षा दिने गुरुको शक्तिमा 'गुरुदेवो भवः' को भाव जागृत हुन्छ ।
जो आफू बल्छ उसले मात्रै अरूलाई बाल्न सक्छ । निभेको दियोले कसैको अन्धकारलाई हटाउने गफ त गर्ला तर यथार्थमा हटाउन सक्दैन । त्यसैले, गुरु सिद्धान्तमा होइन व्यवहारिक अनुभवबाट चिनिने शक्तिमा आधारित हुने रहेछन् । आखिर गुरु निगाहबाट सर्वसफलतालाई साकार पार्न सक्नेले ईश्वरको कृपा पाउँदो रहेछ । गुरुकै स्थानलाई नियाल्ने हो भने, राजा महाराजाहरूले राजगुरुलाई आपूmभन्दा माथिल्लो स्थानमा राखेर आज्ञा शिरोधार्य गरेका इतिहास धेरै पूराना होइनन् नै । यो कुनै कुलीन पद्धति नभएर सल्लाहकार र सहायताको उच्चतम् श्रद्धेय राज्य व्यवस्थाको वैज्ञानिक पद्धति थियो । किनकि, त्यहाँ शासक पनि स्वच्छ विचार भएका व्यक्तित्वको सहायतामा झुक्ने परिस्थिति रहन्थ्यो ।
आजका मान्छेको बुझाइमा गुरुको स्तर कस्तो छ ?
अलिकति आजको युगसम्म आइपुग्दा गुरुकुल शिक्षामा परिवर्तन आयो । गुरुलाई अध्यात्मसँग मात्र गाँस्नुपर्छ र भन्ने पनि भएको छ । कति लाभदायक जीवनका आहारविहार, अनुशासन, औषधोपचार, मानवीय भाव आज छुटेका छन् । यद्यपि कसैले जानेर, बुझेर त कतिले अरूले गरेको देखेर भए पनि गुरुको आदर गर्न सिकेका छौँ । वास्तवमा अज्ञानता हटाउने महान् खुबी एउटा असल र सबल गुरुमा हुन्छ ।
गुरुसँग शिष्यको नाम गाँसिन्छ । साथमा गुरूपूर्णिमालाई ‘टिचर्स डे’ भन्न थालिएको छ । अतः गुरुलाई शिक्षक, प्रोफेसर, लेक्चर, टिचरको नाममा पुकार्ने गरिन्छ । यद्यपि ज्ञानको गहिराइ र वास्तविकताको सारका आधारबाट नियाल्दा आज दिइएका ज्ञान र सिकाइभित्र जुन गुरु शक्ति र सामर्थय भाव हुनुपर्दथ्यो, त्योभन्दा नितान्त फरक विषयवस्तु आउँछन् । आधुनिकतासँग जोडिन पुगे । यद्यपि यहाँ न त गुरु शक्तिका रहस्य रह्यो न त जीवन र जगत्को वास्तविक रहस्य खोतलियो । यहाँ सिकाइएका दैनिक जीवनका ज्ञानमा गुरु शब्दसँगको व्यापकतालाई आंशिक जीवनको ज्ञानमा सीमित बनाउँदा भौतिकता नै सर्वेसर्वा बन्दै गएको छ । मानवीय जीवन र जगतको रहस्यले प्राचीन संस्कारका उपनाम पाएका छन् । नैतिकताले मकाउँदै जाँदा गुरु शब्दसँग मानिसलाई घृणा लाग्ने गरेका यथार्थ हामी सामु बढ्दो क्रममै छन् ।
शाब्दिक रहस्य खोतल्दा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश रहने गुरु शब्द आपैैँमा तेजिलो, सम्मानित र आदरभावमा सुसज्जित छ । कलिलो मस्तिष्कलाई कखरादेखि गहन सोचसँग जीवन र जगत्सम्म खोतलेर गुरुले सचेत मार्गमा लैजान्छन् । सनातन परम्पराबाट सिकिएको भावबोध होस् या त व्यावहारिक शिक्षा होस् आखिर गुरुको महिमा हरपल, हरक्षण उच्च स्थानमा रहेको हुन्छ । यो युग र समयमा बदलिने परिभाषा पनि त होइन । ज्ञानको ज्योति छर्ने खुबी भएका निःस्वार्थी ज्ञानी व्यक्ति मात्रै गुरु हुन् । अतः एउटा असल गुरु शिक्षार्थीको मार्गदर्शक रहेछ, अनुकरणीय व्यक्तित्व रहेछ अनि सबल जीवन दाता रहेछ ।
पाश्चात्य सिद्धान्ततिर पुग्दा ‘टिचर्स डे’ मनाउन थालिएछ । हाम्रै शैलीमा गुरुलाई सम्मान गर्नुपर्छ भन्ने भाव त्यतातिर पनि विकसित हुँदै गएकाे पाइन्छ । राम्रो कुरा हो । अरस्तु, प्लेटो, रुसो, हिल्डा टावा, पेस्तालोजीजस्ता दार्शनिकले नवीन शैक्षिक अवधारणा लिएर आए । बालमनोवैज्ञानिक शिक्षाले प्रश्रय पायो । वर्तमान युगसम्म हेर्दा दण्डरहित बालमैत्री शिक्षाले असल गुरुको कर्मलाई प्रतिबिम्बित गर्ने ज्ञान त तिनले दिए । प्याबलभ, स्किनर, थर्नडाइकजस्ता विद्वान्ले नवीन शिक्षण पद्धतिलाई जन्माए । यसर्थ असल शिक्षकलाई बहुल ज्ञानको खाँचो हुन्छ । अत्याधुनिकताको ज्ञानसँग दौडिनु आवश्यक हुन्छ । एउटा शिक्षक कला र विज्ञानले सजिएको अनुकरणीय व्यक्ति रहेछ । जसमा ज्ञान, गुण, कला, विज्ञानजस्ता क्षमता हुन्छन्, त्यही असल शिक्षक बन्न लायक हुन्छ । यसर्थ गुरु हुनु आफैँमा चुनौतिपूर्ण छ अनि बुझ्दा र जान्दा सौभाग्यशाली व्यक्ति नै गुरु हो ।
एउटा असल शिक्षकले पाइलटलाई पढाएको हुन्छ, इन्जिनियरलाई जन्माएको हुन्छ, समाजसेवीलाई सिकाएको हुन्छ, नेतालाई डोर्याएको हुन्छ अनि असल र सबल मानिस बनाएको हुन्छ । यसर्थ शिक्षकभन्दा ठूलो र महान् कर्म अरू हुन सक्दैन ।
'गुरु' शब्द त आजभोलि ड्राइभरलाई, सङ्गीत शिक्षकलाई, या त साथीभाइसँग गफमा बोलिने भाषासम्म प्रयोग हुने गरेकाे छ । हरेक पण्डितजीले गुरुको सम्मान पाएका हुन्छन् । यसरी हेर्दा आजभोलि भनिने गुरु शब्दको प्रयोग र विचारसँग यसको भावको तालमेल अर्थात् अर्थगत सम्मान रहेको बुझ्न सकिँदैन । वास्तवमा उत्तम मस्तिष्क र कला भएका व्यक्ति मात्र गुरु बन्न योग्य हुन्छन्, जसले आफू तरेर अरूलाई तार्न सक्दछ । आफू अज्ञानबाट उम्केर अरूलाई प्रकाश प्रदान गर्दछ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वर अर्थात् सृष्टि सिकाउने, जिउन सिकाउने र मृत्यु अर्थात् अन्तिम सत्यसम्म पुगेर जीवनको यथार्थ बोध गराउने संसार तार्ने व्यक्तिको रूपमा लिइन्छ ।
राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, रुचि र उत्साह, धैर्य र सहनशील, नैतिक र चरित्रवान्, प्रेम र सहानुभूतिले भरिपूर्ण आत्मविश्वासमा सबल व्यक्तिगत गुण असल शिक्षकमा हुनु आवश्यक मानिन्छ । सामाजिक गुणअन्तर्गत पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम राख्ने, सेवाभाव भएको, विनोदप्रिय, विनयशील, नेतृत्व क्षमता राख्ने र समुदायको ज्ञान भएको हुनुपर्ने हुन्छ । त्यस्तै गरेर विषयवस्तुको उच्च ज्ञान, शिक्षण पद्धति र विधि–प्रविधिको ज्ञान भएको, शिक्षण कौशल र बालमनोविज्ञान बुझ्ने, उत्तरदायित्व बोध गर्ने, जिज्ञासु तथा अध्ययनशील, नवीनतम खोजमा जागरुक हुने पेसागत गुणको समष्टि सामथ्र्यबाट एउटा असल शिक्षकको परिचय स्थापित हुन्छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि समर्पित व्यक्तिले गुरुको पदलाई ओगट्न सक्छ । भोजनको मीठासतामा भान्सेको ठूलो हात हुन्छ । यसर्थ गुरु केवल नाम र परिचयपत्र बोकेर पेसामा अल्झेर पेटको समस्या हल गर्न चाहने व्यक्ति नभएर शिक्षा र सिकारूप्रति सचेत महान् व्यक्ति रहेछन् । कुमालेले काँचो माटोलाई आकार दिए, मूर्तिकारले ढुङ्गोलाई कुँदेझै शिक्षकले कच्चा मान्छेलाई सच्चा मान्छेमा परिणत गर्न जान्नुपर्छ ।
आज गुरुका नाममा भइरहेका कलङ्क र लालची व्यापारिक प्रवृत्तिले सही र गलतको श्रेणी बनाउनु परेका तीता यथार्थ छन् । मद्यपान, धुमपानदेखि व्यावहारिक तुच्छ लिप्सामा पस्रेर गुरुको सम्मान ओगट्नेले आफूलाई दम्भी बनाउँछ । गुरुको उपनाम भिर्ने लोभीपापी प्रवृत्तिका कारण कपडा र बाहिरी रूपमा गुरुलाई तौलन थालिएका छ । कैयौँ छद्मभेषी गुरुहरूले सोझा र आस्थावान् मानवका आस्था र विश्वासमा प्रहार गरेका लज्जास्पद घटनाले पीडाबोध हुन्छ । समाजका लागि सम्मानित नाम गुरुलाई आज शिक्षक, प्राध्यापक वा अन्य नाममा लिने गरिन्छ । वास्तवमा गुरुमा शिक्षार्थीका लागि पूजनीय उदाहरण बन्ने खुबी हुनु आवश्यक छ । असल गुरुको पहिचान गर्ने शिष्यको पनि उत्तिकै खाँचो छ ।