लोकसंवाद संवाददाता | समाचार | असार २१, २०७७
काठमाडौँ । नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ । लमजुङका पत्रकार आश गुरुङमाथि यही असार १८ गते समाचार प्रकाशनका विषयलाई लिएर बेँसीशहर नगरपालिका–७ का वडाध्यक्ष गोविन्द बस्नेतले सार्वजनिक स्थानमा बोलाई हातपात तथा गालीगलोज गरेको जनाइएको छ ।
खोज पत्रकारिता केन्द्रमा प्रकाशित ‘सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेन’ समाचारको विषयलाई लिएर गुरुङलाई बाहिर सडकमा बोलाई बाइकको हेलमेट र चाबी खोसेर बस्नेतले हातपात गरेको जनाउँदै युनियनले जिल्ला प्रहरी कार्यालय लमजुङलगायत स्थानीय प्रशासनसँग निजलाई कारवाही गर्न माग गरेकोे छ ।
युनियनले बाँकेका पत्रकार टेकेन्द्र बस्यालमाथि भएको हातपात र दुव्र्यवहारको घटनामा संलग्नलाई नियन्त्रणमा दिई कारवाही गराउन पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । सबै सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण बनाइदिन सम्बन्धित पक्षलाई युनियनले माग गरेको छ ।